• २०८१ श्रावाण ३ बिहीबार

एब्स्ट्र्याक्ट चिन्तन प्याज

शङ्कर लामिछाने

शङ्कर लामिछाने

हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ, भन्नुहुन्थ्यो- “शङ्करजी, तपाईंको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने’ शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ ।”
“कस्तो लाग्यो?”
“मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्राक्ट शैली प्रयोग गर्नुस् न ।” शंकर लामिछाने
“एब्स्ट्र्याक्ट पेन्ट गर्ने त तपाईँको काम ! म कहाँ पेन्टिङतिर जाऊँ अब ।”
“होइन, पेन–पिक्चरमा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।”
म हाँसिरहेँ । हाँस्न जान्नु पनि ठूलो कला हो ! मानिसको उमेरमा विकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन् ।) हाँसेर मैले बाङ्देलजीलाई बिदा दिएँ, र कुरालाई पन्छाएँ पनि । शंकर लामिछाने ‘व्यथित’जीको हातमा ‘हिमानी’ को कभर डिजाइन थियो । देख्नासाथ बुझिन्थ्यो बाङ्देलको बुरुस हो । त्यसरी नै जसरी ‘हिमानी’ नाम सुन्नासाथ ‘व्यथित’ को कलमको सम्झना आउँछ भन्नुहुन्थ्यो– ”तपाईं जस्तो कलम चल्ने मान्छे, एउटा कथा एक–दुई दिनमा लेखेर दिनुस् न ! म विदेश जाँदैछु यसलाई छपाउन विजयादशमीको साइतमा झिक्ने ।”

म हाँसिरहेँ । (हाँस्न जान्नु पनि ठूलो कला हो! कुन मानिससँग कसरी हाँस्नुपर्छ त्यो जानिएन भने रोएको बराबर दुःख पाइन्छ ।) हाँसेर मैले ‘व्यथित’ जीलाई बिदा दिएँ, र कुरालाई पन्छाउन खोजेँ पनि ! तर, मनबाट न ‘व्यथित’ गए, न बाङ्देल, न हिमानी, न एब्सट्राक्ट ! मन पनि कमालको वस्तु हो– त्यसमा कुरा पसेपछि निकाल्न गारो छ निकाल्न खोज्यो, आफ्नो व्यक्तित्व र कुराको स्वयंको व्यक्तित्वमा सङ्घर्ष भइदिन्छ । मनबाट, फेरि त्यही कुरा पसेकै रूपमा किमार्थ निस्कँदैन– त्यसको काँचुली फेरिसकेको हुन्छ । मैले मन पल्टाउन थालेँ, हेरिहालूँ यसमा खेलिरहने कुरा पनि कत्ति छ !

‘व्यथित’ जी ! कृष्णले मुख खोलेर यशोदालाई विश्वरूप देखाएका थिए । तपाईँ आज मेरो विश्वरूप हेर्नुहोस् मेरो मनमा के छ ? तर, पहिले म तपाईंलाई एउटा कुराको सम्झना दिइहालूँ । म बीसौं शताब्दीको (अङ्ग्रेजी!) एउटा बुद्धिजीवी हुँ । मध्यवित्त परिवारको, विवाहित, केटाकेटीको बाबु, तरुनो, स्वस्थ, निर्माणको भावनामा दत्तचित्त, सोझो नागरिक ! र म चिन्तित छु, मेरा अनेक समस्या छन् ।

सबभन्दा ठूलो समस्या हो– म दसगजा जमिनमा उभिएको छु । एकातिरको सिमानामा मेरा पुर्खाको विश्वास छ, एकातिरको सिमानामा मेरा सन्तानको विश्वास ! म स्पुतनिकको उडानमा खुसी पनि हुन्छु, चन्द्रमाको धूलोमा रुसको हँसिया–हथौडा अङ्कित चिह्न उतारेको सुन्दा मलाई यस्तो गौरव अनुभव हुन्छ, मानौं हँसिया–हथौडा मेरै घरबाट खुश्चेभले मागेर लगेका थिए । र अर्कोतिर, चन्द्रमामा ग्रहण लागेको बेला पेटमा कुनै गर्भिणीले छोइदिन्छे कि भन्ने म पीर पनि मान्दछु– च्यामेपोडेलाई दान पनि दिन्छु, मानौं महाराज मनु मेरा छामिछाने परिवारकै बाजे हुन् ।

म समाचारको निमित्त अखबारहरू, गोरखापत्रदेखि लिएर टाइम र न्यूजविकदेखि लिएर फिल्म–फेयर र रोमान्स पनि पढ्छु । मलाई प्रत्येक खबरमा एक विश्वास सँगाल्नुपर्दछ, परिरहेको छ । म्यारिलिन मनरोको आत्महत्या र एलिजाबेथ टेलरको नयाँ प्रेमको समस्या पनि मेरो मनमा छ! मेरो मनमा डयाग ह्यामलरसोल्डको मृत्यु, युएनओका कार्यबाही, यु.थान्ट, अमेरिका र रुसको शीतयुद्ध, लाओस, सुएज, गलवानभ्याली, काश्मीर, मलाया, इरियन सिलोन‘ ‘ सब समस्या मेरा मनमा छन् ।

हेनरी मिलरको ‘ट्रपिक अफ क्यान्सर’ पढेँ, अब ‘क्याप्रिकर्न’ कहाँ पाउने ? सर विन्स्टन चर्चिलको तिघ्रा भाँच्चियो, बन्छ कि बन्दैन ? युएनओमा नेपालले के भन्ला ? कङ्गोले कतापट्टिबाट भोट बढ्ता पाउला ? छोरालाई टाइफाइड भएको निको भयो, आज अब मासु पाइने हो कि होइन, एकादशी आजभोलि दुवै दिन रे, एक वैज्ञानिकले घाँसबाट दूध निकाल्ने प्रयोग सफलतासाथ गरे, अराष्ट्रिय तत्वले सिमानाभित्र पसी फलानोलाई गोली हान्यो, फ्रान्सका राष्ट्रपतिलाई हत्या गर्ने प्रयास गरियो, एल्जेरियाको समस्या कसरी सुल्झने हो, अल्बेयर कामु पनि र एल्जेरियाकै हो, उसको आजकल ‘मिथ अफ सिसफस’ पढ्दै छु, टेलिभिजनको प्रसारण टेल्सटरले युरोपमा उपलब्ध गरायो, पारिखेतमा ज्यापू म¥यो, मलाई ‘जा–नए–धुन–ला–बाज्या’ भन्थ्यो, त्यसको छोराछोरी छैन, बाङ्देलको पनि त छोराछोरी छैन, एब्स्ट्राक्ट चित्रण गर भन्छ, हिमानीको कभर जस्तो, ‘व्यथित’ को भाषाजस्तो ‘‘।

यस्ता असङ्गत अनेक विचारमा सिमानाको बीचमा मैले आफ्नो व्यक्तित्वको दसगजे किनारा राखेको छु । भन्ठान, ओ ‘व्यथित’ हरू र बाङ्देलहरू, मेरो जीवन नै एउटा एब्स्ट्र्याक्ट जीवन हो, यसबाट त म रोज पन्छिरहेछु, रोज यसलाई पन्छाइरहेछु । रोज मेरो प्रातःकाल ‘तरकारी किन्न पैसा चाहियो’ बाट प्रारम्भ हुन्छ, रोज मेरो मध्याह्न पैसा आउने बाटो खोज्नमा खर्च हुन्छ, रोज मेरो सन्ध्या ‘अलि बढ्ता थाकेर आएछु’ मा समाप्त हुन्छ । रोज मेरो परिचित कतै मर्दछन्, तिनको मृत्यु भुल्नुमा अलिकति समय खर्च हुन्छ । रोज अलि इतिहास सम्झिन्छु, रोज अलि भविष्यको रेखाङ्कन गर्दछु, रोज अलि वर्तमानको मूल्याङ्कन गर्दछु ।

रोज मोलमोलाइ, खरिद–बिक्री, बन्धक–ब्याज गर्दछु– आफ्ना आस्थाको आफ्ना विश्वासको आफ्ना इच्छा–आकाङ्क्षाको । ‘आज ल्याएको मासु, नोकरलाई सुकुचाले ठगेछ, जम्मै हाडैहाड‘.’ ‘आजको दूध एकदम पातलो’‘.’दाउरा कत्ति चिसो, कत्ति महँगो’– यिनै सब कुराको घेरा छ जो गृहिणीले, बच्चाले, भान्छेले उदार भनी मेरै मनमा पोख्तछन् । यसभन्दा बाहेक अरू उदार छन् जो म स्वयम् आफ्नो मनमा कोचिटोपल्छु– आजको पार्लियामेन्टमा नेहरूले यसो भन्यो, त्यसमा कति सत्य होला ! खुश्चेभले बर्लिनबारे चालेको यो नयाँ कदमले संसारमा के असर पर्ला ? विश्वयुद्ध भयो भने कहाँबाट सुरु होला ? थ्यालिडोमाइड औषधिले कति बच्चाको जीवन अन्धकारमय हुने हो ? आह ! एल्प्रेड नायस कहाँ मर्न पुगेछ ? तर, उसको पहाडमै मर्ने इच्छा थियो रे !

बाङ्देलजी! कुनचाहिँ मानिसको जीवन एब्स्ट्र्याक्ट छैन ? कुनचाहिँ मानिसको जीवन घृणित छैन, कमसेकम उसको मौनताले आफ्नो दुर्गन्ध नढाकुञ्जेल ? कुन मानिसको भावना घृणित छैन, कमसेकम मुस्कानका तरेलीले त्यसलाई नपुरुन्जेल ? कुन मानिसको मनमा लोभ छैन, कमसेकम नाराले त्यसलाई नमारुन्जेल ? ‘व्यथित’ जी ! ती सतयुगे ऋषिमुनिहरूको जमाना छैन अब ! अब त प्रत्येक जागरुक मान्छेको मस्तिष्क कृष्णको विराट् रूपभन्दा कम सानो छैन ।

आजको प्रत्येक मान्छे एक भगवान् हो । यस्तो भगवान् जसले आफ्नो संसार स्वयं निर्माण गरेको हुन्छ– छलले, कपटले, धोखाले, हत्याले, ऐनले, गैरजिम्मेदारीले, अन्धविश्वासले, भक्तिले, श्रद्धाले, मुर्ख्याइँले । आजको भगवान् फेरि धर्ममा घेरिएको पनि त हुँदैन, उसले आफ्नो प्रतिद्वन्द्वी क्राइस्ट, मोहम्मद र बुद्धमा पनि आउँछ । फेरि आज भगवान् अलि डिप्लोमेट पनि छ– पुरेत जस्तै !‘ ‘यसो गर्न त कसो नहोला, पुरेतजी ? – ज्यू हुन्छ’‘ जस्तो ।

आजको भ गवान् फेरि अनिश्वरवादी पनि छ– बुद्ध जस्तै । र आजको भगवानलाई मानिसले कन्ट्रोल गरेको छ– बर्थ कन्ट्रोल जस्तै। भगवान् चाहियो, हाजिर छन्, भगवान् चाहिएन, गायब छन् ! जत्ति मात्रामा चाहियो, उत्ति मात्रामा आउँछन् । कविताको निम्ति चाहियो, छन्दबद्ध भई हाजिर, स्तुतिको निमित्त चाहियो, कोष भई हाजिर चाकरीको निमित्त चाहियो इन्साइक्लोपीडिया भई हाजिर–‘गरीब परवर (उर्दूमा !), करुणानिधान (संस्कृतमा !), ख्वामित् (शुद्ध भानुभक्ते नेपालीमा !)‘ अँ! भन्दै थिएँ, आजको मानिस स्वयम् भगवान् बनिसक्यो, उसमा ती सब गुण व्याप्त छन् जो एक ईश्वरमा हुनुपर्दछ– सिर्फ एक गुण आजको मानिसले हराएको छ, र त्यो हो मानिसको गुण ! त्यो सच्चा मानिस जो सिर्फ छ र मरुन्जेल मानिस नै भइरहन्छ र मानिसकै रूपमा मर्दछ । शंकर लामिछाने आजको मनुष्यत्व हराएको तर भगवान् हुन नसकेको, मानिस खोज्नुपर्ने भए, ‘व्यथित’ जी र बाङ्देलजी! मकहाँ आउनुहोस् । मभन्दा ठूलो अमानवीय अरू मानिस तपाईं पाउन सक्नुहुने छैन र अरूले स्वयम् म जस्तो आफ्नै परिचय पनि दिने छैन! के गरूँ, ‘व्यथित’ जी! मैले आक्रोशमा आफूलाई अमानवीय भनेको होइन । म, हेर्नुस न, हिन्दू, सबै भगवान् त मन पराउँछु नै, मलाई कसोकसो क्राइस्ट, बुद्ध र मोहम्मद पनि मन पर्छन् ।

मलाई ईश्वरउपरका सबै प्रकारका आस्था र उसका नाममा भएका सबै प्रकारका अत्याचारहरू पनि मन पर्छन् । ती नभएका भए– ती क्रुसेडहरू, ती शङ्कराचार्यका हमालाहरू, ती अशोकका धर्मदूतका विजय यात्राहरू, ती तुगलक शाहका जेहादहरू– ती सब नभएका भए आज ‘व्यथित’ हरू हिन्दू, बाङ्देलहरू इसाई तथा शङ्करहरू मुसलमान कसरी हुन्थे, म सबैमा विश्वास गर्ने र कुनैमा पनि श्रद्धा नगर्ने हुन सक्थेँ कसरी म ‘अहँ ब्रहृमाऽस्मि’ भन्न सक्थेँ, जब मलाई आफूउपर विश्वास नभई अरूउपर हुँदो हो । शंकर लामिछाने म त आजको मान्छे होइन, ‘व्यथित’ जी ‘ म एक हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ । मेरो जन्मकालमा राष्ट्रका परिधिहरू, विश्वासका परिधिहरू, धर्मका परिधिहरू, राजनीतिका परिधिहरू, केही पनि हुने छैनन ।
आज जो म दसगजामा उभिएको छु– त्यसको कारण अब भनिदिऊँ, तपाईँहरूलाई । म चाहन्नँ तपाईंहरूको घेरामा आफूलाई पार्न । म चाहन्नँ तपाईंको रङमा डुबुल्की लगाऊँ। सिमाना नाघेपछि त मैले नागरिकता लिनैपर्छ– यसकारण म अनागरिक । म स्वयम् एक सिमाना हुँ, जसले वर्तमानलाई भूतबाट र भूतलाई भविष्यबाट अलग गरेको छ ।

तपाईंले सिमाना देखेकै होला ! दसगजाको बीचमा एक पञ्चमुखी लिङ्ग अज्ञात रूपबाट निर्मित– जसलाई कसैले बेलपत्र चढाउँदैन, तर जसलाई सार्न पर्यो अथवा हटाउनुपर्यो भने बलि चढाउनुपर्दछ अनेकका रगतको । यो सिमानाको रङ के हो । बाङ्देलजी ! सेतो ? (जस्तो लट्ठामा हुन्छ) खैरो ? (जस्तो माटोमा हुन्छ !) रातो ? (जस्तो मानचित्रमा हुन्छ !) बग्ने ? (जस्तो नदीनालामा हुन्छ !) अदृश्य ? (जस्तो हिमालका टाकुरामा हुन्छ !) यी सिमाना रेखालाई, तपाईं बाङ्देलजी ! यदि एब्स्ट्र्याक्ट चित्रण गर्न सक्नुहुन्छ भने म पनि मेरो एब्स्ट्राक्ट चित्रण गर्न सक्दछु ।

तपाईंले त्यो नगरुञ्जेल, नसकुञ्जेल म पनि अव्यक्त रहन चाहन्छु । मैले आफूलाई आज एब्स्ट्र्याक्ट चित्रण गरेँ भने त्यसलाई बुझ्न फेरि पेरिसको वातावरणमा सास फेर्नुपर्नेछ । मेरो एब्स्ट्र्याक्ट चित्रण पढ्नलाई तपाईँलाई फेरि ‘एक दिन त’ घोक्नुपर्नेछ ।
यसकारण म हाँसिदिन्छु ।
यसकारण मेरो हाँसोमा विभिन्नता छ। एउटा ‘व्यथित’ लाई, अर्को बाङ्देललाई, अर्को मेरो छोरालाई ।
यसकारण म बाँचिरहेछु, किनभने मैले आजसम्म अरूलाई र आफूलाई नै रियलिस्ट चित्रण गरेको छु । शंकर लामिछाने रियलिष्ट चित्रणमा त, म एउटा प्याज हुँ– रङ्गहीन, पत्रैपत्रले मोडिएको, अनन्त दुर्गन्ध र गहिराई ।

आजको कृष्णको विराट् रूप पनि त प्याज हो । त्यसकारण, बाङ्देलजी प्याजको एउटा स्टिल–लाइफ लेख्नुस् । त्यसकारण ‘व्यथित’ जी, प्याजमाथि एक महाकाव्य लेख्नुहोस् । तपाईँहरूको त्यो कृति ऐतिहासिक हुनेछ– कारण त्यसमा आजको व्यक्तिको र आजको समाजको दुर्गन्ध अनन्त पत्रमा अनन्त कालसम्म सञ्चित रहनेछ । र त्यही चित्र र त्यही काव्यमा म पनि अनन्तकालसम्म बाँचिरहनेछु । त्यो चित्र र त्यो कविता आज लेखिएन भने, भोलि, ‘हिमानी’ को मृत्युमा, बाङ्देलको मृत्युमा, शङ्करको मृत्युमा, भविष्यले आजको इतिहास गुमाउनेछ ।
‘‘एक हजार वर्षपछि सिमाना हराए जस्तै ।

(‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’बाट साभार)


शङ्कर लामिछाने