म तिम्रा अघी पर्न लायक् कहाँ छू,
त्यसैले अघी सर्न लायक् कहाँ छू ।
हुकुम हुन्छ तिम्रो त हाजिर छँदैछू,
बिना मर्जि आँट गर्न लायक् कहाँ छू ।
अरूका ऊपर आँखिभौं तानि हाने,
म जावो हरे१ मर्न लायक् कहाँ छू ।
जहाँसम्म मन चल्छ लौ हुन्छ घुर्कुन्,
तिनै झैं नजर् तर्न लायक् कहाँ छू ।
सडकमै छ मन् हर्न सक्नू हरीले,
सुनीस् मोति त्यो गर्न लायक् कहाँ छू ।
मोतीराम भट्ट