• २०८३ आश्विन ११, आईतवार

पूर्णबहादुर सिंहको ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ प्रकाशित

काठमाडौँ ।

पूर्वविद्यार्थी नेता पूर्णबहादुर सिंहको पुस्तक ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ प्रकाशित भएको छ । पुस्तकमा नेपाली समाजको वर्तमान अवस्था, नवऔपनिवेशिक दलाल पुँजीवादको चरित्र तथा त्यसबाट उत्पन्न संकट र समाधानका उपायबारे वैचारिक तथा विश्लेषणात्मक चर्चा गरिएको छ ।

१३ वटा शीर्षकमा विभाजित पुस्तकमा नवऔपनिवेशिक दलाल पुँजीवादको संकट र समाधान, यसको आम चरित्र, नेपाली आन्दोलनको सिंहावलोकन, ऐतिहासिक समाजवाद र कम्युनिस्ट आन्दोलनमा कार्यदिशाको प्रश्न लगायतका विषय समेटिएका छन् । त्यसैगरी जनवाद–समाजवादको बहस, नेपाली समाजको विश्लेषण, नयाँ विचार पाठशाला, नेपाली जनक्रान्तिको अवधारणा, नेपाली समाजवादको मार्गचित्र, शिक्षा र युवाको भूमिका तथा डाटा पुँजीवाद र नेपाली जनक्रान्तिजस्ता विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ ।

लेखक सिंहले नेपाली समाजमा अझै पनि परिवर्तन र क्रान्तिको आवश्यकता रहेको तर्क पुस्तकमार्फत अघि सारेका छन्। उनले नेपाली जनताको वर्तमान प्रमुख समस्याका रूपमा नवऔपनिवेशिक दलाल पुँजीवादलाई प्रस्तुत गर्दै यसको विकासक्रम, नेपाली समाजमा परेको प्रभाव तथा समाधानका सम्भावित बाटाबारे विश्लेषण गरेका छन् । पुस्तकले समकालीन नेपाली राजनीतिक तथा वैचारिक बहसमा नयाँ दृष्टिकोण प्रस्तुत गर्ने लेखकको दाबी छ । पुस्तकमा नेपाली समाजको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थालाई विभिन्न कोणबाट विश्लेषण गर्दै परिवर्तनका लागि आवश्यक वैचारिक आधारबारे समेत चर्चा गरिएको छ ।

सिंह करिब २२ वर्षसम्म विद्यार्थी आन्दोलनमा जिल्लादेखि केन्द्रीय नेतृत्व तहसम्म सक्रिय थिए। उनी २०७४ सालमा विद्यार्थी संगठनबाट बिदा भएका हुन्। जनयुद्धका सहिद तथा घाइते परिवारसँग सम्बन्धित सिंह नेपाली समाजको परिवर्तनका विषयमा अध्ययन, अनुसन्धान र वैचारिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन् ।