• २०८० असोज १३ शनिवार

कैलाश कोइरालाको उपन्यास ‘राजव्यूह’ सार्वजनिक

भरतपुरमा आयोजना गरिएको एक कार्यक्रममा कैलाश कोइरालाको उपन्यास ‘राजव्यूह’ लोकार्पण गरिएको छ । लेखककी आमा पार्वती कोइरालासहित प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशी, पूर्व गृहराज्यमन्त्री इन्द्र बानियाँ र डा. नवराज लम्सालद्वारा राजव्यूह विमोचन गरिएको थियो । नेपाली कांग्रेसको राजनीतिमा चर्चित कोइरालाको उक्त उपन्यास आरती शर्मा कोइरालाले प्रकाशन गर्नुभएको हो ।

विमोचन कार्यक्रममा बोल्दै कवि नवराज लम्सालले राजव्यूह पठनीय र संग्रहणीय कृति रहेको तथा समाज, समय र संवेदना भए साहित्य बलियो हुन्छ ‘यो किताबमा यी कुरा पाइन्छन्’, वहाँले भन्नुभयो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले कोइरालाको विद्यार्थी राजनीतिका बारेमा तथा भोजराज अधिकारीले राजव्यूहमा उठान गरिएको राजनीतिक विषयको चर्चा गर्दै चितवनको राजनीतिमा कोइरालाले निभाएको भूमिका स्मरणयोग्य भएको बताउनु भयो । नेपाली कांग्रेसका पाका नेता कृष्णलाल सापकोटाले लेखकका पिता मनहरि कोइरालाको राजनीतिक यात्राको चर्चा गर्दै सापकोटाले राजनीतिमा होमिएका परिवारको किताब आउनु खुसीको कुरा भएको बताउँदै कृति कहिल्यै ननासिने कुरा व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङले चितवनको राजनीतिमा कोइराला परिवारको योगदानको चर्चा गर्नुभयो ।

लेखकका दाइ विकास कोइरालाले राजनीतिमा इमानदारी र हस्तक्षेपकारी भूमिका आवश्यक भएको बताए । वामबुद्धिजीवी प्रेम रिमालले राजव्यूह राजनीतिकर्मी कोइरालाको अनुभूतिको सुन्दर सँगालो भएको तर, किताबमा कम्युनिस्टप्रति व्यक्त गरिएका केही धारणाप्रति भने वहाँले असहमति जनाउनु भयो । उदय अधिकारीले राजव्यूह उपन्यास दार्शनिक चेतले भरिएको र प्रस्तुतिमा प्रष्टता पनि उपन्यासको विशेषता भएको बताउनु भयो।

कार्यक्रममा नागरिक समूहका संस्थापक अध्यक्ष निगम बानियाँ, सामाजिक अभियन्ता अर्जुन भुसाल, पूर्वगृहराज्यमन्त्री इन्द्र बानियाँलगायतले शुभकामना दिनुभएको थियो । सम्पूर्ण किताब वितरक रहेको पुस्तकको मूल्य बाक्लो गाताको १००० र पातलो गाताको ५०० रुपैयाँ छ ।