कतै ठाढा हुँइकिन्छ एउटा मोटरसाइकल
दायाँबाट बाँया या बाँयाबाट दायाँतिर
टाढाबाट मात्र सुनिन्छ–
त्यसको आवाज, केही अस्पष्ट ।
सुनिन्छ, घरको घडीको टिक–टिक
स्पष्टसँग ।
भुकिरहन्छ, छिमेकीको कुकुर
धेरै किलोमिटर परबाट आउने गन्धले
वा यसै चूपचाप हिँडिरहेको बटुवामाथि
विनाकुनै कारण, यसै यसै ।
सबै काम सकाएर
कसैले लुगाधुने अन्तिम काम गर्दैगर्दा
सुन्छु केवल चुराहरू बजेको
र फिँज लुगा दलेको गिलो आवाज
धेरै पर,
बाटोमा गुडिरहेको पुरानो साइकलको
खिया लागेको चेनको च्यार–च्यार
छिमेकका महिलाहरूको आउ–जाउ–चहलपहल ।
टोलको कुनै घरको
मूलढोका खोल्दाको घ्यार्र
सुकेका पातहरूमा हिँड्दाको–खर्याक–खर्याक ।
चटपटे बेच्नेको सिटी
र कबाडीको आवाज…
सुनसान दिउँसो
शान्त घरमा बसिरहेको वेला
म सुन्छु यी सबै ।
हिजो राती, अस्तिको राती
त्योभन्दा पनि पहिलेका रातहरूमा
एक महिना पहिलेको राती आउने सपनाहरूको अर्थ खोजिरहेछु
या फेरि वर्तमानको मुहारमा
पटक–पटक तिमी नै किन आइरहन्छौ
भूत बनेर…
मेरो भविष्यलाई खलबल्याउनका लागि ।
अनुवाद: राजेन्द्र शलभ