क्यारोल,
मेरी सहकर्मी
प्रगाढ प्रेम छ हामीबीच
म ऊभित्रको ईश्वर देख्छु
ऊ मभित्रको भक्ति
ऊ इमानदारीकी प्रतिमूर्ति
म कर्मकी पुजारी
हाम्रो मित्रता
पानीजस्तो निर्मल
हावाजस्तो स्वच्छ छ
ऊ अङ्ग्रेज, म नेपाली
उ क्रिश्चियन, म हिन्दु
म उसलाई क्रिसमस कार्ड पठाउँछु
उ मलाई दीपावलीको शुभकामना दिन्छे
उसको नयाँ वर्ष पुसमा
मेरो नयाँ वर्ष वैसाखमा
हामी एक- अर्कालाई शुभकामना दिन्छौँ
एक- अर्काको संस्कृतिको सम्मान गर्छौं
ऊ मेरो दाल, भात मन पराउँछे
म उसको केक मन पराउँछु
मैले उसका लागि तरकारी बनाउँदा
ऊ मेरा लागि केक बेक गर्छे
हामीबीच कहिल्यै
न जातको विवाद छ, न त धर्मको नै
न वर्गको विवाद छ, न त रङ्गको नै
हामी फरकफरक ठाउँका भए पनि
हामी फरकफरक देशका भए पनि
एउटै मालामा उनिएका फूलजस्तै छौँ
के यही होइन र हाम्रो साँचो मित्रता ?
(बेलायतनिवासी निर्मला चर्चित साहित्यकार हुन् ।)
[email protected]