• २०८० जेठ २१ आइतबार

पुरानो प्रश्न

मोहित जोशी

मोहित जोशी

मुस्कानहरु कहिले पुराना हुन्छन् कि हुँदैनन् ?
भित्तामा झुन्ड्याइएको सुकिलो हाँसिरहेको तस्विरको म,
म हो कि होइन ?
जिन्दगी पनि झुन्डीरहेको छ,
एकै बिन्दुमा, एकै स्मृतीमा
त्यो तस्विरको म,
म हो कि,
वर्षौँ पहिलेदेखि त्यै एक मुस्कान
जबर्जस्ती झुन्ड्याउन खिया लागीसकेको किल्ला हु म ?

यादहरु कैले पुराना हुन्छन कि हुँदैनन् ?
वर्तमानदेखि पुरानो अतीत तन्की तन्की हेर्दा,
म रबर जस्तै भएछु
तर बिर्सिएछु सीमा भन्दा बढी तन्किए रबर चुडिनुपर्छ !

तिमीले र मैले वर्षौ पहिले बाडुल्की सित याद साट्यौँ,
तिमीलाई त आजपनि ताजै बाडुल्की आउलान
मेरा आउने यादहरु त पुराना भएनन नि ?
तिम्रा यादहरुको तलतलमा पहिले भट्टिमा बोतलहरु लड्छन्,
जिन्दगीमा म तलतल लडिरहेछु, जिन्दगीसङ्ग लडिरहेछु !
तिमीलाई आउने बाडुल्कीमा तिमी नअल्झिनु मायालु ।

मानवले मानवता बिर्से जस्तै,
नेताले देश बिर्से जस्तै,
अधुनिकताले सभ्यता बिर्से जस्तै,
तिमीले मलाई बिर्से जस्तै,
बिर्सन सक्थेँ तिम्रा यादहरु
जो बसिदिए मेरो जीवनमा ठ्याकै त्यसरी नै
जसरी बसेका हुन्छन् हर्ष बनेर
भर्खरै जन्मिएकी छोरीको रोदन बाचुञ्जेलीलाई आमाका कानहरूमा

सुनेथेँ मिसावटको व्यापार हुन्छअरे शहरमा,
त्यस्तै ठगिएहोला मैले किनेको जहरमा पनि ।

आँसुहरु कैले पुरना हुन्छन कि नाइ ?
किन कोहि रोइरहेको तस्विर खिच्दैन ?
किन मलाई ऐना मन पर्दैन ?
धेरै आँसु बगाइरहँदा रुने बानी पर्छ सायद
नत्र किन रुन्छु म, तिमी नभएकाले रुन्छु
कि तिम्रो तस्विर आँखाबाट बगोस भनेर रुन्छु ?

पहिले सेतो आँखा भित्रको कालो नानीले दुनिया रङ्गिन देख्नेगर्थे,
अहिले आँखा सधैं राता भएका हुन्छन् जिन्दगी बेरंग देखिरहन्छु ।

किन भोकभोकै रातभरी आँसु बगाएपनि
मन झन भारी हुन्छ बिहान ?
आसुको तौल कति हुन्छ ?
यादहरु आँसु भन्दा गह्रौ हुन्छन र ?

तिमी गएपछि त
मभित्र एउटा रूख पलाएको छ
जसका हाँगाबाट झरिरहन्छन् तिम्रो सम्झनाका पातहरू–
मलाई थाहा छैन
यसबेला हाँगाले कस्तो महसुस गर्नुपर्छ–
हलुङ्गो वा भारी ?

म भाग्यले ठगेको गरिब किसान जस्तै भइसकेँ,
मेरो गाला उसका खेत हुन,
मेरा आँखा सिंचाइ गर्ने स्रोत,
रोपाइ बेलाको खडेरी,
अन्न फल्दा आउने बाढी,
नत्र किन फल्नै दिदैनन मेरा गालामा खुसीका बान्कीहरु ।

जिन्दगी एकै बिन्दुमा अड्काएर
पर्खिरहेछु रत्नाकरको घाँटीसम्म देवल बनाएका धमिराहरु
आउन र नाक सम्मै पुरिदिउन मलाई
सास रोकिँदा पनि खुलै रहुन आँखा
म तिमीलाई नितान्त अध्यारोमा राख्न चाहन्न
सायद आज जिन्दगी पुरानो भइसक्यो ।
बल्ल बुझ्दैछु हागाबाट खस्दा पात किन सुक्नुपर्छ,
बल्ल बुझ्दैछु टुट्दै गरेको तारा किन कसैको ईच्छा पूरा गर्छ ।

दिनभरी त्यहि तस्विर बोक्दै गर्दा झनै खियिन्छ किलो,
यादहरु भने रातभरी सुत्दैनन,
अनि रुझाउछन मलाई मेरै आँसु,
छोडीजान्छन् मेरा आँखाहरुमा रातो रङ्ग,
मेरो प्रेम जस्तै गाढा रातो

तिमी भन्छौ मेरा आखामा केहि देखिदैन मात्रै ?
प्रेम कैले पुरानो हुन्छ र ?
उत्तर नभेट्टुनजेल प्रश्नहरु पनि पुराना हुदैनन् है ?


मोहित जोशी