• २०८१ माघ ५ शनिवार

साक्षी राखेको युग

छवि किरण ओली

छवि किरण ओली

चिहानभन्दा पर अर्को कुनै गन्तव्य छैन
तर यहाँ बबन्डर मच्चाउदै
यात्रामा निस्किएको छ निरङ्कुश हावा
फूलहरूको गर्भाशयमा भ्रूर्ण पोख्दै
बैँसले लाज ढाकेका रक्तिम गुराँसका फूलले झै
बतासले अञ्जुली भरि पत्कर बोकेर हिड्छ
दिगन्तका टापुहरूमा
भोकमरीले थलिएका जिर्ण बस्तीमा
अनि जिजीविषा तुहिन्छ गर्भाशयबाट
अरूणोदय संगै
वीर्यका डोबहरूमा खडेरी झरे पछि !

फेरिए ल्याम्पोस्टका बुढा क्यालेन्डर
घर भित्रमा कुराले जालो लगाएपनि
तर फेरिएन कहिले देशको सिरानी
कालो कोट लगाएर रमाउँदै बसे
एक जोडि चिबेपैंयुको डालीमा
इतिहास घोक्न
तर उसले आफ्नै जिवनी बिर्सिएको छ
कैंयौ बर्षदेखि
यी हिमायती चरा आफ्नो अस्तित्व भुलेर
दौडिरहेका छन्
आकाशमार्ग तिर चैनको सास फेर्न !!

अझै ताजै छन्
अलैंचीका पातहरूमा रगतका घाउहरू
कैद छन् स्वतन्त्रताका नादहरू
लगाम लगाइएको छ कानुनका झ्यालहरूमा
तै पनि रमाएका छन्
अकूपारको छातीमा टेकेर उभिएका गुराँसे हिमाल
कोइलीका शोकाकुल धुनमा
आजित छन् अक्करिला भिरपाखा
मग्मगाएका छन् बेहोसीमा
भञ्ज्याङ र चौतारीहरू
डडेलोले स्तब्ध धरातलको दासंस्कार गरिरहेको बेला !!

ओरालो झरेको बूढो घामले
कहिले छोडेन बगरको भित्तानाप्न
पच्छ्याइ रहयो समाधी कसेर
अमेजनको किनारमा सास फेरिरहेका माछाले झै
कन्दराभित्र बाट निस्कन्छ
बलात्कारी आलाप
तर सुन्दैन बन्दुक थमाएको हरियो बस्त्रधारीले
किनकि उसले फेर्यो आफ्नो स्वार्णिम युग
ऊ बांच्दैन अरूका लागि
ऊ आगो पिएर
दुर्गन्धको सिकार गरिरहेको छ अझै पनि !!

हिमालले नडाके पछि रेगिस्तानी छोराहरू
फुल्नै छोडे पत्थरको ढाडमा
बुकि र लहलह लाली गुराँस
मुस्कुराउनै छोडेका हून
हुच्चिल बास्ने वनपाखा
त्यसैले हराए नीरवता भित्र अखबार बोकेर
दुरदराज सम्म पुग्ने आरोही चराहरू

वियोगान्तको कथा सुनाउँछ
लेकबेसीका नाङ्गा बुट्यानमा कोइलीले
सुमेरू पर्वतका भित्ताहरूमा
मग्मगाउदैनन् अचेल श्रीखण्ड
जूनसंग खेल्ने नगन्य कोपिला
अञ्जुली भरी शीत बोकेर
कहिले छिर्छ मन्दिर भित्र
कहिले पुग्छ चिता माथी
समयले कालो फेटा बाँधेर मलामी हिँडाए पछि !!

रित्तिए बगैंचाहरू
अनाथ भयपछि बलेसी चुहिने घर आँगन
मक्किए पछि धुरिको बलो
कौसीमा आएर बोल्दैन कौवा
छिमेकि बोल्दैन
मेरो घरको छाँया उसको आँगनमा पुगेदेखी

साक्षी राखेका एक जोर परेवा
फर्किएन कहिल्यै ईतिहास सम्झेर

खडेरीको बाढी खनिएको छ
मेरी बुढी आमाको अभागी निधारमा
युक्लिप्टसका नाङ्गा रूख झै
नाङ्गिएको छ स्वातन्त्रता
न साँचो बोल्छ सूर्यले
न झुटो बोल्छ इतिहासले
मन्दिरकै पिंढिमा स्तन टोक्छ्न् ब्याधाहरूले
तै पनि ऊ स्वतन्त्र छ
लगाम लगाएर दण्डित गर्न सक्दैन
बबुरो कानुनले
त्यसैले स्वार्णिम युग अझै आएकै छैन
साक्षी राखेको युगले
यो भूगोलको पाठेघरमा रक्तिम लाली छरे पनि !!


( झापा, नेपाल निवासी छवि किरण ओली चर्चित कवि हुन् ।)
[email protected]