मिश्रित सामाजिक व्यवस्था भएको क्षेत्र मधेसमा मैथिली, अवधी, भोजपुरी, थारु र मुस्लिम लगायतका भाषाभाषीहरूको बाहुल्य रहेको छ । आफ्नै संस्कृति, संस्कार र सभ्यताले परिचित छ मधेस । मधेसमा छठको उल्लास र वर्षभरि चल्ने पर्वहरूको उत्साह उस्तै छ । झिझिया नाच, दाहा गीत र फागु रागसँगै पीडाको गान पनि उस्तै छ ।
मधेसको जनजीवन, संस्कृति- संस्कार र ब्रान्ड- आत्मीयताको चर्चा नेपाली आख्यानमा विभिन्न समयमा भएको छ, हुँदै आएको छ । यस्तै कथाहरूको एउटा संग्रह तराई- मधेसका कथाहरू (सम्पादकः परशु प्रधान) प्रकाशित भइसकेको छ । साहित्यकार राजेन्द्र विमल, धु्रवचन्द्र गौतम, सनत रेग्मी र नयनराज पाण्डेलगायतका लेखकका, मधेस केन्द्रित कथा तथा उपन्यासहरूले हिट खाइरहेकै छन् ।
मधेसलाई पृष्ठभूमि बनाएर त्यहाँका पात्र, परिवेष र घटनाहरूलाई आफ्ना अख्यानका माध्यमबाट चिनाउने अद्धितिय स्रष्टा हुनुहुन्छ विश्वेश्वरप्रसाद कोइराला । उहाँका कथा तथा उपन्यासमा आञ्चलिकता पाइन्छ । कोइरालाका रचनाहरूमा मधेसको सभ्यतालाई आँंकलन गर्न सकिन्छ । कोइरालाका जम्मा दुई वटा कथासंग्रह ‘दोषी चश्मा’ र ‘श्वेत भैरवी’ प्रकाशित भएका छन् । संग्रहका चर्चित कथाहरूमध्ये पुस्तक, मधेसतिर, श्वेतभैरवी तथा सान्नानीमा मधेसको चर्चा पाइन्छ । यी कथाहरूमा मधेसी पात्रको चरित्र चित्रण यसरी गर्नुभएको छ कोइरालाले, जो आज पनि पाठकको मनमा बलियोगरि बसेको छ । के श्वेत भैरवीरूपी फगुनीलाई बिर्सन सकिन्छ ? त्यस्तै ‘नरेन्द्र दाइ’ उपन्यासकी मुनरियालाई पनि एक शसक्त पात्रको रूपमा उभ्याइएको छ । यी पात्रहरूलाई झिकिदिने हो भने कोइरालाका साहित्यबाट यौन मनोविज्ञानको ‘फगुनी- गन्ध’ नै हराएर जान्छ ।
मधेसको एउटा यस्तो पाटोलाई उहाँले यी पात्रहरूका माध्यमबाट उजागर गर्नुभएको छ, जो त्यसअघि यस आकारमा लेखिएको पाइदैँन । आफ्ना पात्रहरूको मनोविश्लेषण यति सुक्ष्म ढंगले गर्नुभएको छ कथाकारले कि तत्कालिन समयमा मधेसमा सचेतनाका लागिसमेत ठूलो ‘किक’ को काम गरेको छ ।
त्यस्तै कोइरालाका विभिन्न ६ वटा उपन्यासहरूमध्ये ‘नरेन्द्र दाइ’ उपन्यासमा मिथिला–मधेसको विस्तृत परिचय पाइन्छ ।
यौन अचेतनको खोज ‘श्वेतभैरवी’
कोइरालाको ‘श्वेतभैरवी’ कथा पछिल्लो चरणको निकै लोकप्रिय एवम् व्यक्ति समस्यामूलक रति–रागात्मक कथा हो । यसमा मानवीय यौन अचेतनको खोज गरिनुका साथै कथाकारले चिन्तनप्रधान चेतनमनोविज्ञान र बालमनोविज्ञानलाई बढी महत्व दिएको पाइन्छ ।
श्वेतभैरवीमा वर्णीत म पात्र पछिको प्रमुख पात्र मैथिली भाषी फगुनी हुन् । प्रस्तुत कथा उनकै सेरेफेरोमा घुमेको छ । यसमा कथावाचक म पात्रको नोकर लेलहाकी छोरी फगुनी, केबट संस्कृतिअनुसार सानैमा चुमौन भइसकेकी र गौनाको प्रतिक्षामा बसेकी छिन् । मैथिली संस्कृति अनुसार विवाह सम्पन्न भई वेहुली केही वर्ष माइती मै बस्ने र पछि दुलहा आएर गौना अर्थात बिदाई गराएर लैजाने परम्परा रहेको थियो । तर हाल उमेर पुगेर बिहे हुनेहुँदा सो परम्परा समाप्त प्रायः भएको छ । यो त्यति वेलाको कथा हो ।
गौनाको प्रतीक्षामा बसेकी फगुनीलाई दमित यौन अचेतनको प्रभावले असमान्य अवस्थामा पुर्याएको छ । यौन अवचेतनको कारणले पीडाग्रस्त अवस्थामा पुगेकी श्वेतभैरवीरूपि फगुनीले म पात्रलाई, ‘तिमी मेरो दुलाहा’ भन्दै आक्रमण गर्छिन् । यसरी फगुनीमाथि चढेको श्वेतभैरवीको आक्रामक रूप देखाएर कथाकारले गलत समाजीक संस्कारप्रति प्रहार गर्नुभएको छ ।
कथामा चित्रित केवट जाति र संस्कृतिको झलक पाइन्छ । साथै पात्र र परिवेषले, कथा पूर्ण मैथिली–मधेसी संस्कृतिलाई अङ्गिकार गरेको छ । यसै सन्दर्भमा कथाका प्रमुखपात्र द्वय म पात्र र फगुनीको वार्तालाप यसरी प्रस्तुत भएको छ, “उसले भनि, सानै केटाकेटीमै हाम्रो चुमौन हुन्छ, वर र केटीको रगत–रगत जोर्छन्, दुवैको सानो औँंलामा सानो घाउ पारेर दुइटैको औँंलालाई आपसमा दलिदिन्छन् । ठूलो भएपछि दुलाहाले गौना गरेर केटीलाई लैजान्छन् ।” अर्को एक प्रसङ्गमा म पात्रको संवाद यसरी प्रस्तुत भएको छ, “मैले हाँसेर भने, गौनाका लागि धेरैदिन पर्खनु पर्छ होइन ? उनले भनि, चुमौन मुख्य कुरो हो ।” यसरी श्वेतभैरवी कथाले फगुनी पात्र मार्फत एक प्रकारले मधेसका स्थानीय केवट जातिको वैवाहिक संस्कारको वकालत मात्र गरेको छैन कि किशोर उमेरको यौन मनोभावनालाई पनि उजागर गरेको छ ।
कोइरालाको अर्को बहुचर्चित कथा हो ‘पुस्तक’ । वि. सं. २००६ सालमा प्रकाशित ‘दोषी चश्मा’मा संग्रहित पुस्तक कथाले व्यक्ति समस्यालाई उजागर गरेको छ । पुस्तक कथामा तराई–मधेसका ग्रामीण जनजीवनको सरलता तथा सेवाभावको चित्रण गर्दै कथाकारले स्थानीय परिवेश र समाजको निरक्षरतापूर्ण अशिक्षालाई कला प्रदान गर्न सफल हुनु भएको छ ।
कोशी नदीको बाढीले पुर्याएको ठूलो धनजनको क्षतिमा सहयोग र सहानुभूति जुटाउन जब कथाकार स्वयम्सेवकको रूपमा त्यो गाँउमा पुग्नुहुन्छ्, त्यहाँ एक बाढी पीडित किसानको घरमा उहाँको बास हुन्छ । कथामा, किसानले तराई क्षेत्र मात्रै होइन, मुलुककै अशिक्षाको परिचय दिँदै, दमको रोगले मरेको छोराले राखेको डावर औषधीको विज्ञापनको पुरानो कागजको टुक्रालाई, महत्वपूर्ण पुस्तको रूपमा जतन साथ कथाकारलाई दिएका छन् । कथा वास्तवमा यत्ति नै हो । तर उक्त कथाले अशिक्षा र मधेसको सबैभन्दा डरलाग्दो प्राकृतिक शत्रु बाढीको भयावहतालाई उजागर गरेको छ ।
मधेसमा बाढीले बर्सेनी त्यहाँका किसानका घरखेत मात्र बगाउँदैन, चौपाया, दुहुने गाई, गोरु समेत बगाउने गरेको कुरा कथाका पात्र खेताला, बुढाको उद्गारबाट कथाकारले उजागर गर्नुभएको छ, “यो गाउँ त्यति गरिब त होइन बाबु ! यो बाढीले सबैकुरा बगाएर लग्यो, नत्र कसैलाई एक पेट खान र आए–गएकालाई खुवाउन पुगेको थियो । मेरै दुधदिने दुईटा गाई बगेर गए ।” ।
त्यति मात्रै होइन कथामा बाढीको भयावहतालाई कथाकारले यसरी अभिव्यक्त गर्नुभएको छ, “इलाकाका इलाका पानीमा थियो । मानीसहरू कति बगे, कति भोकभोकै मरे । रोगव्याध फिजियो…।” त्यस्तै आतिथ्य सत्कारको झल्को प्रस्तुत गर्दै कथाकारले, कथा उद्देश्यका माध्यमबाट मधेसका ग्रामीणहरूका निष्कपट स्वभाव र सत्कारभावको दृश्य, कलात्मक ढंगले कोर्नुभएको छ । पुस्तक कथाका पात्र खेताला बुढाले आफ्ना अतिथि भएका कथाकारप्रति कृतज्ञता प्रकट गर्दै भन्छन्, “मैले केही गर्न सकिनँ, बाढीले भएका गाईवस्तु बगाएर लग्यो, दुधदही केही छैन ।” यसरी आतिथ्यले गदगद भएका कथाकारले “तिम्रो आतिथ्यले मलाई सधैंँको निम्ति ऋणी पार्याै ।” भन्ने अभिव्यक्ति पाइन्छ ।
प्रस्तुत कथामा तराईमा हुने लामखुट्टेको विगविगी, कालाजार र मलेरियाजस्ता रोगका विभिषिकालाई एक वाक्यमा यसरी अभिव्यक्त गरिएको छ, “मैले औषधी त लिएँलिएँ झूल पनि बोकेँ ।” यसरी तराईमा हुने लामखुट्टेको समस्या र प्रभावबारे कथाकारले विस्तृत वर्णन गर्नै परेन “झूल बोकेँ” भन्ने एक कथ्यमा सटीक र सुक्ष्म तरिकाले अभिव्यक्त भएको छ । यही नै कोइरालाको कथा लेखनको विशिष्टता हो ।
कोइरालाका ‘मधेसतिर’ कथा समाजिक एवम् मानवीय जीवनको चित्रण गरिएको विशिष्ट रचना मानिन्छ । कथामा आर्थिक दुरावस्थाको विदिर्ण रूप र यौन वितृष्णाले ल्याएको विसङ्गतिलाई मानवीय आधारभूत पक्षको रूपमा छर्लङ गरिएको छ ।
प्रस्तुत कथामा चार जना घरबार नभएका कुल्ली भनौँ व माग्ने, भोक मेट्ने र रोजगारी पाउने उद्देश्यले मधेस झर्न लागेका हुन् । भने उनीहरूको हुलमा एउटी विधवा पनि छिन्, जो नयाँ घरजम गरि लोग्ने, घरवार र छोराछोरी पाउने तथा पैसा कमाउने अभिलाषाकासाथ मधेस झर्नलागेकी हुन् । मधेससँग उनको सपना ठूलो छ ।
मधेस पेट भर्ने आशाको त्यान्द्रो
भोक र अभावले आहत कुल्लीहरू मधेसको ठूलो विस्तिर्ण फैलिएको मैदान देखेर आनन्दित हुन्छन्, ‘ऊ त्यही हो मधेस !’ भन्ने उनीहरूको अभिव्यक्तिले, मधेसको विस्तिर्ण फैलिएको खेत–खलिहानले रोजगारी दिने, खेती–किसानी गरेर पेटभर्न सकिने एउटा आशाको त्यान्द्रो जगाएको छ । उक्त अभिव्यक्तिले मधेसमा रोजगारको सभ्यताको कथा पनि भन्छ ।
गाँसवासको अभावमा पहाडबाट मधेस झर्नु नेपालको एउटा वाध्यात्मक परम्परा जस्तै रहेको छ । यसले देशको गरिबी, बेरोजगारी र अशिक्षालाई समेत सङ्केत गर्छ । मधेस अन्न उत्पादन हेतु उर्वर भूमि हो । यहाँ खेती–किसानीका लागि प्रसस्त ठाउँ र अवसरहरू छन् । यसअर्थमा पनि मधेस झर्नु, रोजगार प्राप्त गर्नु र गरिबी मेट्नु एउटा सुन्दर आशा जत्तिकै हो । जुन पात्रहरूका माध्यमबाट कोइरालाले उल्लेख गर्नुभएको छ ।
कथामा कोइरालाले विधवा पात्रको, ‘मधेस झरेर घरबार गर्ने, अभिव्यक्ति मार्फत फ्रायडीय चिन्तनका आधारमा यौनवितृष्णालाई कला प्रदान गर्नुभएको छ । कथाकार कोइरालाका ‘सान्नानी’ कथामा बालमनोविज्ञानको अभिव्यक्तिका साथै स्थानीय परिवेषको विश्लेषण गरिएको छ । सम्पूर्ण कथामा विभिन्नथरीका वनस्पति र रुखपातहरू, सांस्कृतिक महत्वका ठाउँहरूका साथै मधेसको भेषभूषा, भाषा र ग्रामीण जीवनको स्वच्छन्दता आदीको यथार्थपरक प्रस्तुतिले गर्दा स्थानीयताको राम्रो झलक पाइन्छ ।
“बनारसमा म जन्मे, त्यही हुर्के । कालचक्र हाम्रो परिवारका लागि विशेष द्रुतगतिले चक्कर खान्छ । काशीको अन्नजलको हामीले धेरै सञ्चय गरेका रहेछौंँ । म पाँच–सात वर्षको हुँदा नहुँदै काशी विश्वनाथले हाम्रो आश्रय खोसे । हामी टेढी दीपनगर भन्ने ठाउँमा आयौँ,” भन्ने कथाकारको भनाई र कथाको चारै अनुच्छेदमा स्पष्टसंँग स्वयम् कथाकारले उक्त कुरा लेख्नुभएकोले यस कथाको संयोजन र भावभूमि कोइरालाको जीवनसंँग सम्वन्धित भएको स्पष्ट हुन्छ ।
सामान्य नारी मनोविज्ञानमा लेखिएको सान्नानी कथा, यथार्थमा कथाकार कोइरालाकै टेढी बसाइको बाल्यजीवनसँंग सम्बन्धित भएको तथ्यको प्रमाण, कथाको विषय प्रस्तुति नै हो । उक्त कुरा कोइरालाको कृति ‘आफनो कथा’मा समेत उल्लेख रहेकोले माथिको तथ्यले प्रमाणिक ठहरिन्छ ।
स्थानीय लवजको व्यापक प्रयोग
हामीले कुन परिवेश र कास्तो खालको पात्रको प्रयोग गरेका छौँ, त्यस्तै भाषा र भेषभूषाको प्रयोग गर्दा कथा बढी ग्राह्य एवम् विश्वसनीय हुन्छ । साहित्यमा स्थानीयपन आउनु स्वभाविक हो । यसले साहित्यलाई थप उचाइ दिनेकुरालाई नकार्न सकिन्न् । कतिपयले भाषिक र शाब्दिक मामिलामा सो कुरा नकारे पनि नेपाली साहित्यमा निर्वाध रूपमा स्थानीय लवज र शब्द प्रायुक्त भएकै छन् । हुदैँ छन् ।
कथाकार कोइरालाका प्रस्तुत कथामा पनि निर्वाध रूपमा स्थानीय शब्दको प्रयोग पाइन्छ, जस्तै मनौती अर्थात भाकल, जाठ (पोखरीमा हुने काठको खाबो) जुन मधेसको स्थानीय शब्द र लवज हो । त्यस्तै तडका अर्थात बिजुली, पछवरीयाधार, पूर्वरीयाधार, डाइनजस्ता शब्दहरू प्रयोग भएका छन् । यसले कथामा भाषागत लालित्य बढाएको छ । त्यसैगरि सम्बोधनमा पनि स्थनीयपन झल्किन्छ जस्तै, ए रे छौडा, ए गे छौडी, यसमा कथाकारले कति सम्म सुक्ष्मता अपनाउनुभएको छ भने मधेसमा छौडालाई ‘रे’ र छौडीलाई ‘गे’ भनेर सम्बोधन गरिने लिङ्गभेदको पनि ख्याल गरिएको छ । त्यस्तै मचान, टान, खलिहान, ओरहा आदि अनेकौँ शब्द कथामा प्रयोग भएका छन् । जुन त्यहाँका स्थानीयको ओठमा झुन्डिएको हुन्छ । यसले पनि कथाकारको मधेसप्रतिको रुझानको परिचय दिन्छ ।
पात्रहरूको संयोजन र नामकरण
कोइरालाका कथाहरू जो खासमा मधेसी पृष्ठभूमिमाथि लेखिएका छन्, त्यसमा वर्णीत पात्रहरू समाजबाट टपक्क टिपेर कथामा प्रविष्ट गरिएका जस्ता छन् । उहाँका पात्रहरू प्रायः यथार्थ जस्ता लाग्छन् । विश्लेषकहरूको अभिमत अनुसार कथाकार कोइरालाका कथा तथा उपन्यासमा स्थानीयपन र मनोवश्लेषणको जुन स्वरूप भेटिन्छ त्यो उहाँको बाल्यकालमा टेंढी –नेपालको सप्तरी जिल्लासँंग जोडिएको विहारको भागलपुर जिल्ला अन्र्तगत कोशी किनारको एउटा वस्तीः (कोइरालाः २०४०, आफ्नो कथा, १०५ पृ.) बसाइको क्रममा प्राप्त वातावरणले प्रभाव पारेको छ ।
कोइरालाका कथामा मधेसको एउटा गन्ध पाइनु र त्यसमा स्थानीयपन र परिवेशको संयोज, उहाँको बाल्यकालीन अनुभवले प्रोत्साहित भएको हुनुपर्दछ । यसै सन्दर्भमा उहाँका कथाका पात्रहरू लेलहा, फगुनी, मुनरिया, दिवानजी, काइथे, नजरिया मुसलमान, बतहियन चमाइन, जमुनिया, किसना, सुवसिया आदि पात्रहरूले सम्पूर्ण मधेसको प्रतिनिधित्व गरेका छन् । यसरी हेर्दा उहाँले कतिपय पात्र र घटना आफ्ना कथा र उपन्यासमा दोहा¥याउनु भएको छ्, जस्तै मुनरिया, नरेन्द्र, सानोबावु, सान्नानी, फगुनी, लेलहा इत्यादी ।
मधेसमा प्रायः व्यक्तिवाचक नामहरू अपभ्रंसगरि बोल्ने र बोलाइने चलन हुन्छ, जस्तै सुवास लाई सम्बोधन गर्दा सुवसवा वा सुवसा भन्ने गरिन्छ । कथाकार कोइरालाले त्यसैगरि यी पात्रहरूलाई कथामा सम्बोधन गरिदिनुभएको छ र खाँटी मधेसीपन अथवा भनौँ स्थानीयपन ल्याइदिनुभएको छ । त्यही भएर पनि उहाँका कथाहरू पाठकको हृदयलाई सिधै स्पन्दन गर्छ भन्नु अतिश्योक्ति नहोला ।
मुनरियाको चित्रण
कथावस्तु र प्रस्तुतिको दृष्टिकोणले ‘नरेन्द्र दाइ’ उपन्यास तराइको गाउँले समाज, सर्वसाधारण ग्रामीण र जमिन्दार समाजको यथार्थलाई देखाउने प्रयास हो । उपन्यासको केन्द्रिय चरित्र नरेन्द्र हो । उपन्यासमा नरेन्द्र कठोर र जिद्दी स्वभावका छन्, जसलाई जमिन्दार पुत्रको हैसियतमा प्रस्तुत गरिएको छ । कोशी किनारस्थित मधेसको त्यो पुरातन गाँउमा पनि नरेन्द्रलाई पूर्ण आधुनिक, घरानियाँ र सहरीयाझैँं देखाइएको छ । नरेन्द्रकी श्रीमती गौरी, अविकसित शारीरिक बनोटले गर्दा हिस्सी परेको शरीर भए ता पनि नरेन्द्रलाई आकर्षित गर्न नसकेकी परित्यक्ता र जीवनभरि नै उपेक्षित पात्रको रूपमा चित्रण गरिएको छ ।
उपन्यासमा भोक्ता पात्र मध्येकी मुनरियालाई चरित्रगत रूपमा मधेसी धानुक–कुर्मी समाजकी छोरी–बुहारीको रूपमा चित्रित गरिएको छ । नरेन्द्र, गौरी, मुनरिया र म पात्र सानोबावुको जीवनयात्रा नै औपन्यासीक यात्रा बनेको छ ।
उपन्यासमा नोकर्नीको चरित्रमा उपस्थित मुनरिया मधेसकी धानुक जातकी विवाहिता स्त्री हुन् । गौनाको पर्खाइमा रहेकी मुनरिया जातीय र आर्थीक दृष्टिले मधेसकी नारीलाई यति महत्व दिएर कोइराला पूर्वका उपन्यासकारहरूले प्रतिष्ठापित गरेको पाइदैँन । अशिक्षित, ग्रामवाला नै भएर पनि मुनरिया अन्तर्मुखी प्रतिभाको रूपमा चित्रित भएकोले नै तात्कालीन समाजमा कल्पना सम्म गर्न नसकिने उच्चजातिका जमिन्दार पुत्रको प्रेयसी बन्न सफल भएकी छिन् । जसका लागि उनले परिवारसँग विद्रोह गर्छन् । उपन्यासमा मुनरिया दृढ चरित्रकी छिन् । उनी नरेन्द्रलाई पाएर सन्तुष्ट मात्र बन्दिनन् स्वअस्तित्वका लागि जागरुक र सचेत भएको उपन्यासमा देखाइएको छ ।
भाषामा आञ्चलिकता र सांस्कृतिक पक्षको चर्चा
कोइरालाले समग्रमा आञ्चलिक कथा तथा उपन्यास नलेखे पनि त्यसमा प्रयोग भएको भाषामा आञ्चलिकता पाइन्छ । उहाँको भाषिक सरल प्रयोगले गर्दा पाठकले सजिलै बुझन र बोधगर्न सक्छन् । कोइलाराका प्रायः रचनाहरूमा स्थानीय शब्दहरू, जस्तै गाछमूनि, दाँती लाग्नु, कर्चीको टाटी, खह् आदी अनेकौँ शब्द प्रायुक्त भएको छ ।
नरेन्द्र दाइ उपन्यासमा मधेसको स्थानीय संस्कृतिको झलक विभिन्न प्रसङ्गमा पाइन्छ । यसै सन्दर्भमा उपन्यासकी पात्र सान्ननीले मुसलमान नजरियाकी श्रीमतीसँंग यसरी संवाद गर्छिन्, ‘हे गे, त्यो तजियाका लागि होइन ? कहिले हुन्छ हँ यसपालि हास्सेन हुस्सेन ?’ यस्तै अर्को एक प्रसङ्गमा चैती उत्सवको वर्णन गरिएको छ, जसमा उत्सवका लागि नरेन्द्रले चैतीको सुरमा आफ्नो
इसराजमा लय झिक्नुथियो रे,
‘चैत हे सखी फूलल बेली,
करत मधुः गुजार हो…
भँवरा करत गुजार हो ।।’
नरेन्द्रदाइ उपन्यासको स्थानीय परिवेष पनि कोइरालाका ‘आफ्नो कथा’मा प्रस्तुत कोशी किनारस्थित टेढीको स्थानीय परिवेषमाथि नै पूर्णतः आधारित गराइएको छ । नरेन्द्र दाइको सम्पूर्ण परिवेश र कथा प्रस्तुति पनि पात्र संयोजन जस्तै कोइरालाको पारिवारिक वृत्तसँग सम्बन्धित भएको यथार्थलाई उहाँको ‘आफनो कथा’ (२०४०), ‘जेलजर्नल’ (२०४५) र ‘आत्मवृतान्त’ (२०५५) ले पुष्टि गरेको छ ।
कोइरालाका कथासाहित्यले स्थनीय मधेसी संस्कृति, संस्कार र भाषाको वकालत गरेको छ । तर उहाँका कृतिहरूमा भने मधेसी पात्रलाई नायकत्व प्रदान गरिएको छैन । उहाँका कथा साहित्यमा मधेस भए पनि सम्पूर्ण मधेसको कथा–व्यथाको वर्णन पाइदैँन यसर्थ पनि उहाँका रचनाहरूमा आञ्चलिकताको मसिनो भाव रहे पनि समग्रमा आञ्चलिकता भने हासिल गर्न सकेको छैन ।