• २०८१ माघ ५ शनिवार

फरक– १६

सानु शर्मा

सानु शर्मा

‘ह्वाट, धनबहादुर काका ?’ म छक्क परेँ ।
‘प्रत्यूष, मैले तँलाई भन्न बिर्सेछु यार ।’ वासुले बिस्तारै भन्यो– ‘सुदर्शन र सुमन्तझैँ धनबहादुर काका पनि गायब छन् । आगो लागेपछि भीडमा धेरैले उनलाई देखेको दाबी गर्छन् । खुद फुपूलाई काकाले भक्तपुरबाट गाडीमा लिएर आएका थिए रे । तर पुलिसले उनलाई भेट्टाउन सकेको छैन ।
‘कहाँ गए उनी ? उनको त कहीँ जाने ठाउँ नै छैन सायद ।’ म चिन्तित हुँदै बडबडाएँ– ‘के भइरहेछ यो सब ? सबै सामान्य कुराहरू एकाएक किन यति रहस्यमय हुँदै गइरहेछन् ? किन सबै कुरा यति अपत्यारिला, अनौठा भइरहेका ?’
‘डोन्ट वरी प्रत्यूष, वि विल फाइन्ड आउट ।’ वासु र कमलले आश्वासनपूर्वक भने तर मेरो मन त्यसैत्यसै विचलित भैरह्यो ।
निक्कै बेर हामी तीन जनाले हरेक सानाभन्दा साना कुरालाई लिएर छलफल गरिरह्यौँ तथापि कुनै निष्कर्ष निकाल्न सकेनौँ । जति सोच्यो, जति कोट्यायो त्यति नै कुरा झन् जटिल बन्दै थिए । हारथाक भएर म एक्कै छिन ढाड सोझ्याउन भनेर कमलको गेस्टरुमको ओछ्यानमा पल्टिएँ ।
दिउँसोतिर वासु अफिस हिँड्यो । कमल र म दिनभरि जस्तै घरमै बस्यौँ ।
वासुले मलाई सुप्रियाको नयाँ फोन नम्बर दिएर गएको थियो । लामो दुविधापछि जब मैले त्यो नम्बरमा फोन गरेँ– सुप्रियको ठाउँमा श्रेयाले फोन उठाई । उसको स्वर सुनेर म एकै क्षण हिच्किचाएँ । बोलूँ या नबोली फोन राखिदिऊँ ? द्विविधामा परेँ । तर उसले तीन–चारपटक ‘हलो–हलो’ भनेपछि म नबोलिरहन सकिनँ ।
‘हलो !’ मैले बिस्तारै भनेँ ।
‘को, को हो….?’ उसले उत्तेजित स्वरमा सोधी– ‘जिजु ? भि.. भिनाजु ? भिनाजु नै हो नि ?’
‘कसरी चिन्यौ, एकैपटकमा ?’
‘लौ न ईश्वर ! भिनाजु…!’ उसले आर्तनाद गरी– ‘मलाई थाहा थियो, …मलाई थाहा थियो हजुरलाई केही भएको छैन । हे भगवान ! भिनाजु, हजुर… हजुर कहाँ होइस्सिन्छ ? म….म…।’
‘सुन श्रेया !’ मैले भनेँ– ‘म चाहन्छु, तिमी मैले फोन गरेको कुरा कसैसँग नगर, सुप्रियासँग पनि नगर । श्रेया, क्यान आई ट्रस्ट यु…?’ प्रतिउत्तरमा ऊ डाँको छोडेर रोई । उसलाई चुप लगाउन धौ–धौ पर्यो मलाई ।
‘भि.. भिनाजु…!’ उसले हिक्कहिक्क गर्दै भनी– ‘हजुरको मनमा मप्रति जति नै गलत धारणा भए पनि, मेरो ईश्वर साक्षी छ, मैले हजुरको कुभलो कहिल्यै चिताइनँ । हो, आफ्नो मायालाई मैले गलत तरिकाले हजुरसामु राखेँ, तर…तर जिजु मेरो नियतमा कुनै खोट थिएन । सुप्रियाको हजुरप्रतिको रुखो व्यवहार अनि विश्वासघात सहन नसकेर नै म हजुरतिर झुकेँ । दिदीले गरेको गल्तीको अपराधबोध थियो या के थियो त्यो, म भन्न सक्दिनँ तर यो संसारभरिमा म जसलाई माया गर्छु, विश्वास गर्छु र मान दिन्छु– त्यो हजुर नै होइसिन्छ । म.. म त हजुरको अहित चिताउनुभन्दा मर्न रुचाउँछु जिज, भिनाजु… !’ उसको रोदन–क्रन्दन सुनेर मेरो मन उकुसमुकुस भएर आयो । बडो मुस्किलले मैले उसलाई मनाउन सकेँ । उसले मलाई भेट्न र देख्न चाहेको जिद्दी गरिरही । मैले दुई दिनपछि उसलाई भेट्न आउने वचन दिएपछि उसले मसँग भएको कुरा कसैलाई नभन्ने प्रमिस गरी ।
त्यो मात्र सँयोग थियो या के थियो तर त्यही साँझ इन्द्रमामा टुप्लुक्क कमलकोमा आइपुग्नु भयो । कमलको आग्रहमा म माथिल्लो तलामा उक्लिएँ । मामा बैठकमा पसेपछि म ढोका बाहिर कान थापेर उभिएँ ।
निक्कै बेर यता र उताको कुरा गरेपछि मामाले केही अनकनाउँदै कमलसँग पैसा माग्नुभयो । उहाँको कुरा सुनेर कमलले भन्यो– ‘तर… तर राणा सर, मसँग पो पैसा कहाँ छ र ? म त कति मुस्किलले गुजारा गरिरहेको छु ।’
निक्कैबेर मामा केही बोल्नुभएन । तर जब बोल्नुभयो, उहाँको निरीह स्वर सुनेर मेरो मनमा उहाँप्रति अगाध दया जागेर आयो ।
‘क… कहाँ जाऊँ म ?’ उहाँ भन्दै हुनुहुन्थ्यो– ‘क…कसले पत्याउँछ ? जीवनभर अरूको काँध चढेर न…नाचिरहेँ । आज भुइँमा टेक्न ख…खोज्दा न जमिन भेट्टाउँछु, न खुट्टाले साथ द…दिन्छन् । क…के गरूँ म ? भ..भिनाजुले लाख सम्झाउनुभयो, तर मेरो सम्झने मनस्थिति नै थिएन । म त बरु उ…उल्टै आफूलाई माथि देखाउने प…प्रयासमा उहाँलाई नै आरोप लगाइरहेँ । प्रत्यूषले कति स…सम्झाए तर…।’ उहाँको घाँटी अवरुद्घ भयो– ‘किन भगवानले उनलाई उ…उठाए ? मे..म…मेरो के आवश्यकता थियो यहाँ ? भगवानले उ…उनको ठाउँमा बरु मैलाई उ…उठाएको भए म…मैले य…यसरी कुकुरजस्तै भौतारिरहनु त पर्थेन ! ह..हिजो ज…जसले मान गर्दथे उ…उनीहरू आज म…मलाई देख्दा त…तर्केर हिँड्छन् । आज प…प्रत्यूष भ…भाञ्जाबाबु जीवितै भएको भए म…मलाई यो क…कसरी थाहा हुन्थ्यो– मेरो त्यो मान, त्यो प्रतिष्ठा स…सबै प्रत्यूषकै कारण थियो भ…भनेर ? म जुन रुखको हाँगामा फ…फलेँ, फूलेँ त्यसैको ज…जरा खोस्रिरहेँ । सोच्दैसोचिनँ– र.. रुख ढलेपछि म…म कहाँ फ…फुल्छु, भ..भनेर । मेरा आँखा खोल्नको ल…लागि विधाताले क..किन यत्रो वज्रपात गरेको होला ? अ…अब कहाँ जाऊँ म..? न वास छ, न गाँस छ । काम गर्छु भन्दा पनि क…कसैले पत्याउँदैन । हात फ…फिजाउँदाफिजाउँदा थाकिसकेँ । त…तर यो पापी पेटको अ…अगाडि बाध्य छु । हिजोदेखि केही ख…खाएको छैन….।’
कमल अझै केही बोलेन । निक्कै बेरपछि मामाले नै थकित स्वरमा भन्नुभयो– ‘ठ…ठीकै छ कमल, म तिमीलाई दोष द…दिन्नँ । आज म ज..जहाँ छु त्यसको जिम्मेवार म नै हुँ । झ…झुटो अहङ्कार र अहंलाई जीवित राख्ने क…कोसिसमा मैले आफूलाई य…यतिसम्म तल खसाएँ– आफ्ना लागि पृथ्वीमै साक्षात् नर्क भेट्टाएँ । य..यो नर्कको आगोमा प्रतिपल ज…जलिरहेको छु तर मुक्ति स…सायद पाउने छैन । न…नत्र त म चाहन्छु म अ…अहिले, यही पल मरिजाऊँ ताकि म आफ्ना श…शर्मनाक व्यवहारका लागि प्रत्यूषसमक्ष घुँडा टेकेर म..मा..माफी माग्न सकूँ ।’
‘त्यसका लागि तपाईंले मर्न जरुरी छैन मामा ।’ मैले भित्र पस्दै भनेँ । मलाई देख्नेबित्तिकै केहीबेरसम्म उहाँको अनुहारमा कुनै भाव उदाएन तर फेरि उहाँको अनुहारको रङ फेरियो ।
‘प्र…प्रत्यूष., भ…भा..भाञ्जा…, ब..बाबु.. ?’ उहाँको मुखबाट बडो सकसका साथ केही शब्द फुत्के । आँखा आश्चर्य, अविश्वासले विस्फारित भए । शरीर थर्रर काँप्यो, खुट्टा लरबराए । त्यसपछि हामीमध्ये कसैले उहाँलाई समाउनुभन्दा पहिल्यै उहाँ डङरङ्ग भुइँमा लड्नुभयो ।
उहाँलाई निक्कै बेरसम्म होस नआएपछि हामीले एम्बुलेन्स बोलायौँ तर कमलले मलाई हस्पिटल जान दिएन । उसैको आग्रहमा म घरमा बसेँ । ऊ घरमा बाहिरबाट ताल्चा लगाएर मामाको अवस्थाबारे अवगत गराउँदै गर्ने आश्वासन दिँदै मामासँगै एम्बुलेन्समा अस्पताल गयो ।
निक्कै बेरसम्म मेरा आँखाअघिल्तिर मामाको भोक–प्यास र चिन्ताले क्लान्त अनुहार नाचिरह्यो । कानमा उहाँको निरीह स्वर गुञ्जिरह्यो ।
के यति नै हिम्मतले कसैले कसैको जीवित शरीरमा आगो लगाउन सक्छ ? मैले आफैँलाई सोधेँ तर मेरो मनले मानेन । इन्द्रमामाजस्तो परजीवी, ऐय्यास, काँतर मान्छेले कसैलाई मार्न सक्छन् र ? जसमा मार्नसक्ने आँट हुन्छ, ऊ कहीँ यसरी गिडगिडाउँछ ? फेरि को बाँकी रह्यो त ? श्रेया, कमल, मामा, वासु अनि फुपूलाई मेरो मनको अदालतले मेरो हत्याको प्रयासको सजायबाट मुक्त गरिसकेको थियो । त्यसबाहेक बाँकी को बच्यो ? सुदर्शन, सुमन्त, सुप्रिया या उसको जमुरा ? या अरू नै कोही ? धनबहादुर काकामाथि शङ्का गर्नु त पागलपन नै थियो तर उनी त्यसरी गायब हुनुमा मलाई आश्चर्य भने लागिरहेको थियो ।
कमलको घरमा एक्लै छटपटाउँदाछटपटाउँदै मैले निर्णय गरेँ– अब म अरू लुकेर बस्दिनँ । सत्य चाहे अगाडि आओस्, नआओस् म भोलि सबैभन्दा पहिले पुलिसचौकी गएर बिनीलाई छुटाउँछु । त्यसपछि जे त होला !
मेराअगाडि थुप्रै घटनाहरू यस्ता थिए जसलाई ढाकेको रहस्यको खोल उत्रिन अति आवश्यक थियो । टुक्रिएर छरिएका यी कडी समेटेर नजोडीकन यो षड्यन्त्रको सूत्रधार चिन्न मुस्किल मात्र होइन असम्भव नै थियो ।
म आफ्नो भोलिदेखि सुरु गर्ने दिनचर्याको सूची बनाउँदै कमल र वासुको प्रतीक्षा गरिरहेँ । समय अगाडि दौडिरह्यो ।
निक्कै अबेरसम्म उनीहरू नआएपछि मेरो मन एकाएक आत्तिन थाल्यो । के गरूँ ? मोबाइल साथमा थिएन कसैलाई फोन गर्नका लागि । कमल र वासुको नम्बर मलाई याद थियो, त्यसैले मैले कमलको घरको फोनबाट उनीहरूलाई पटकपटक फोन गरेँ तर दुवैको फोन उठेन । मनले एकपटक फेरि शङ्काको कालो कम्बल गम्लङ्ग ओढेर सोच्यो– कमलले किन फोन गरेन ? वासुले किन फोन गरेन यत्रा बेर सम्म ? सङ्गिसकेका सबै कुरा एकाएक फेरि धमिलो देख्नथालेँ मैले । ‘अहँ, यसरी घरमा थुनिएर बसेर केही हुनेवाला छैन’ मैले सोचेँ । बाहिर निस्किएर मामालाई पुर्याइएको अस्पताल जाने निर्णय गरेको मात्र के थिएँ अचानक बजेको फोनको घन्टीले मलाई झस्क्यायो । एकपटक पूरा रिङ् बजेर बन्द भएपछि फेरि घन्टी बज्न सुरु भयो । एकपछि अर्को, लगातार बजिरहेको फोनको घन्टीले मलाई यो सोच्न बाध्य गरायो कि कहीँ यो कमलको फोन त होइन ? ऊ नै मलाई मामाका बारेमा कुनै खबर दिन पो चाहन्थ्यो कि ? मैले नानाथरी आशङ्काले थरथराइरहेको हातले फोन उठाएँ । उताबाट आएको स्वर सुनेर म नबोलिरहन सकिनँ ।
‘फुपू, तपाईं ?’ मैले आश्चर्य मान्दै भनेँ– ‘यति बेला ?’
‘को, को हो हँ ?’ फुपूले सतर्क हुँदै सोध्नुभयो ।
‘फुपू, चिन्नुभएन ? म.. म प्रत्यूष ।’ मैले सहर्ष भनेँ ।
‘मलाई यस्तो मजाक गरेको मन पर्दैन ।’ उहाँले कठोर स्वरमा भन्नुभयो– ‘तिमी जो भए पनि कमललाई फोन देऊ !’
‘तपाईंले मलाई चिन्नुभएन फुपू ? आफ्नो प्रातिलाई चिन्नुभएन ? मेरो स्वर नसुनेको त्यति धेरै दिन त भएको छैन नि फुपू ! कि तपाईंले पनि मलाई बिर्सिदिनु भयो यति चाँडै ?’ मैले काँतर स्वरमा भनेँ– ‘अनि फुपू, म तपाईंसँग किन मजाक गर्थें ? जसको भाग्यले ऊसँग यत्रो भयानक मजाक गरिरहेको छ, उसले के मजाक गर्छ अरूसँग ?’
‘प्रत्यूष…?’ यसपटक बोल्दा फुपूको स्वर विचित्रको थियो– ‘तिमी साँच्चै नै प्रत्यूष हौ त ?’
‘अझै विश्वास लागेन फुपू ?’
‘कसरी विश्वास गरौँ ? जसको शरीरलाई आफ्नै आँखाअगाडि खरानीको थुप्रोमा परिणत भएको देखेकी थिएँ ऊ नै…!’ अनायासै उहाँ रुन थाल्नुभयो– ‘ईश्वर ! धन्य हौ तिमी, तिमीले मेरो आस्थालाई भत्कन दिएनौ । तिमीले मेरो प्रार्थना, मेरो पुकार, मेरो आँसुको मान राखिदियौ । कुन हालमा छौ बा, तिमी ? किन यतिका दिनसम्म यस अभागिनीलाई यत्रो यातना दिइरह्यौ ? किन अगाडि आएर भनेनौ– मेरो अन्तिम सहाराको अस्तित्व मेटिसकोको छैन यो धरतीबाट । किन बाबु ?’
‘परिस्थिति त्यस्तै थियो फुपू ।’ मैले उहाँको क्रन्दनबाट विचलित हुँदै भनेँ– ‘तर अब तपाईं चिन्ता नगर्नूस्, म ठीक छु ।’
‘कसरी ठीक छौ ?’ उहाँले बिलौना गर्नुभयो– ‘थाहा छैन कसको प्रार्थना काम लाग्यो ? ईश्वर दाहिने भएकाले तिमी बँच्यौ । बाबु ! अब जबसम्म तिमीलाई आफ्ना आँखाले देख्दिनँ तबसम्म मेरो मनले चैन पाउने छैन । म…. म अहिले तिमीलाई लिन आउँछु ।’
‘होइन फुपू , म भोलि आफैँ…।’
‘म भोलिसम्म कुर्न सक्दिनँ बा ! म अहिल्यै आउँछु । भन् तिमी कहाँ छौ ? कठै, मेरो बाबु ! यत्रा दिन अशक्त शरीरको साथ कहाँकहाँ हन्डर खाइरहेको थियौ होला ? विधाता ! यो सबै देख्नु–सुन्नुअघि म किन मरिनँ !’
‘फुपू बिन्ती !’ मैले उहाँको बिलौनाबाट विचलित हुँदै भनेँ– ‘आफूलाई सम्हाल्नूस् । म.. म ठीक छु । मेरा हात–खुट्टा पनि ठीक छन् अहिले । ह्विलचेयरको आवश्यकता पनि छैन मलाई । फुपू, यो सबै तपाईंको प्रार्थना र आशीर्वादको फल हो ।’ बोल्दाबोल्दै मेरो गला अवरुद्घ भयो ।
‘हे भगवान !’ फुपू झन् बेस्सरी रुनुभयो– ‘कस्तो दुर्भाग्य मेरो, जुन पल देख्ने कामनामा म भगवान् भाकिरहेँ, त्यही पल देख्नबाट वञ्चित रहेँ । बाबु, अब त म केही गरेर पनि कुर्न सक्दिनँ । म… म आफ्नै आँखाले तिमीलाई आफ्नो खुट्टामा उभिएको देखेपछि मात्रै विश्वास गर्नसक्छु । यो अभागिनीमाथि दया गर, आएर आफ्नो अनुहार देखाऊ बा, तिमीलाई धर्म हुनेछ !’ फुपूको आर्तनादले मलाई यस्तरी हल्लायो– मैले फेरि नाइँ भन्नै सकिनँ ।
‘ठीक छ फुपू म वासु र कमललाई कुरिरहेको छु । उनीहरू आउनेबित्तिकै म…।’
‘थाहा छैन उनीहरू कतिबेला आउँछन्, प्रत्यूष म त्यत्रो बेर कुर्न सक्दिनँ । एकैछिन आऊ अनि फर्किहाल बरू । या…या म लिन आउँछु तिमीलाई ।’ अचानक फुपूको स्वरमा रहस्य मिसियो– ‘अनि प्रत्यूष म…म तिमीसँग केही भन्न चाहन्छु । तिमी थिएनौ, त्यसैले कमलसँग भन्छु भनेर उसलाई फोन गरेकी थिएँ । भगवानको कृपाले तिमी भेट भयौ ।’
‘के कुरा छ त्यस्तो फुपू ?’ मैले उहाँको स्वरमा मिसिएको रहस्य अनुभूत गरेर उत्सुक हुँदै सोधेँ ।
‘फोनबाट भन्न मिल्दैन, घर आऊ अनि बसेरै कुरा गरौँला । कति बेरमा आउँछौ ?’ उहाँले व्यग्र स्वरमा सोध्नुभयो ।
‘थाहा छैन फुपू ।’ मैले अनिश्चित स्वरमा भनेँ– ‘गाडी छैन, ट्याक्सी खोज्नुपर्छ । त्यसैले वासुलाई कुरौँ कि भनेको ।’
‘प्रत्यूष !’ फुपूले रहस्य मिसिएको सानो स्वरमा भन्नुभयो– ‘मसँग यस्तो केही छ, जसलाई देखेर तिमीले अति आत्मीय ठानेका धेरै जनासँगको तिम्रो विश्वास चकनाचुर हुनेछ । त्यसैले तुरुन्तै यहाँ आऊ । मेरो कुरा सुन, यी चीजहरू हेर ! त्यसपछि तिमी जे निर्णय गर्न चाहन्छौ गर ! तर त्योभन्दा पहिले कसैमाथि पनि आँखा चिम्लेर विश्वास नगर !!’
‘मतलब ?’
‘मतलब…तिमी यहीँ आएर हेर ! तर ढिलो नगर । कसैलाई कुरेर समय खेर नफाल । अघिसम्म त म यही सोचिरहेथेँ कि तिमी…।’ उहाँको स्वर फेरि भक्कानियो । तथापि उहाँको स्वरमा कठोरता यथावत थियो– ‘तर अब तिमी सकुशल छौ भने यो आवश्यक छ– म तिमीलाई हरेक खतराप्रति सचेत गराऊँ ।’
‘खतरा, कस्तो खतरा ?’
‘म केही भन्न सक्दिनँ प्रत्यूष, तिमी आफैँ आएर हेर ! छिटो गर ! म कुरिरहन्छु ।’ फुपूले फोन राखिदिनु भयो ।
म फोन हातैमा लिएर एकै छिन अन्योलपूर्ण अवस्थामा उभिइरहेँ । के थियो फुपूको यो सब कुरा गराइको तात्पर्य ? के थाहा थियो उहाँलाई ? अनि कसरी थाहा थियो ? उहाँका रहस्यात्मक कुराले मथिङ्गल खलबल्याएपछि अनायासै म फुपूकहाँ पुग्न हतारिएँ । तर कमलले बाहिरबाट ताल्चा लगाएर गएकोले म तुरुन्तै बाहिर निस्किन सकिनँ । अपर्झट मेरो मनमा एउटा प्रश्न उठ्यो– कमलले किन बाहिरबाट ताल्चा लगाएर गयो ? कतै ऊ मलाई यहाँ थुनेर राख्न त चाहँदैनथ्यो ? म छटपटाउँदै उठेँ । अनि वासु, वासु कहाँ छ ? मैले फोन उठाएर वासुको मोबाइलको नम्बर थिचेँ । ‘सुइच अफ’ को घोषणा सुनेपछि बिस्तारै फोन राखिदिएँ । के म एउटा जालबाट फुत्केर फेरि अर्को जालमा फस्दैथिएँ ? हे ईश्वर ! के गरौँ म ? कसको भरोसा गरौँ अनि कसलाई शङ्काले हेरौँ ? त्यस बेला सबैभन्दा पहिले मैले फुपूकै कुरा सुन्ने निर्णय गरेँ र निक्कैबेर दिमाग लगाएर, बडो मुस्किलले त्यस घरबाट बाहिर निस्कन सफल भएँ । तर त्यो भन्दा पहिले मैले कमलको बेडसँगैको ड्रअरमा भएजतिको पैसा गन्दैनगनी आफ्नो जिन्सको खल्तीमा घुसार्न बिर्सिनँ ।
म बाहिर निस्कँदा आकाश कालो, बाक्लो बादलले टम्म ढाकेको थियो । त्यसैले रात सधैँ भन्दा कालो, अँध्यारो प्रतीत भैरहेको थियो ।
थापाथलीको अग्लो न अग्लो पर्खालले घेरेको त्यो घरनजिक ट्याक्सीबाट ओर्लंदा निक्कै ढिलो भैसकेको थियो । एक त कमलको घरबाट निस्कनै ढिलो भयो, त्यसमाथि त्यो हावा–हुन्डरीको त्रासमा बल्लतल्ल ट्याक्सी भेटियो । म राम–राम जप्तै त्यहाँसम्म पुगेको थिएँ ।
एकदमै कमजोरी फिल भैरहेको थियो । पटक्कै सजिलो अनुभूत गरिरहेको थिइनँ । त्यत्रो दिनको ह्विलचेयरको बसाइपछिको यत्रो धपेडी ! शरीरले आराम खोजिरहेको थियो तर दिमागले कुनै पल आराम लिन दिइरहेको थिएन । म मन र दिमाग छड्काउँदै ट्याक्सीबाट ओर्लेर अघि बढेँ । पानीको यौटा बडेमानको थोप्ला मेरो निधारमा बज्य्रो । मैले टाउको उठाएर माथितिर हेरेँ । क्रोधपूर्वक गर्जिरहेको आकाश कुनै पनि बेला बेत्तोडले बर्षन ठिक्क देखिन्थ्यो । मैले आफ्नो रफ्तार बढाउन कोसिस गरेँ तर मेरा खुट्टा एकआपसमा ठोक्किए, बटारिए । म नराम्रोसँग धरमराएँ र पर्खालमा आडलागेर बडो मुस्किलले आफूलाई धरासायी हुनबाट रोकेँ । अहँ, यो तालले हुँदैन ! मैले मनमनै भनेँ र बिस्तारैबिस्तारै हिँड्नथालेँ ।
बल्लतल्ल गेटसामु पुगेर उभिएँ र निधारको पसिना पुछेँ ।
मैले देखेँ– विशाल गेटमा बडेमानको भोटेताल्चा झुन्डिएको थियो ।
सिङ्गै घर अँध्यारोमा डुबेको थियो । केवल ग्राउन्डफ्लोरका एक–दुईवटा कोठाका झ्यालबाट मधुरो उज्यालो बाहिर छरिइरहेको थियो । म साइडको सानो गेट, जुन खुल्लै थियो, बाट भित्र पसेँ । अनायास मलाई त्यहाँको वातावरण चिसो लागेर आयो ।
यो त्यो घर थियो, जहाँ मेरो जन्म भएको थियो । मेरी आमाको मृत्यु यही घरको कुनै कौसीबाट खसेर भएको थियो । जसको कारण इन्द्रमामासहित मामाघरका हजुरबा– हजुरआमासँग हाम्रो पारिवारिक सम्बन्ध कहिल्यै राम्रो भएन । म यस घरमा आउनबाट सधैँ तर्किन्थेँ । जबदेखि म बुझ्ने भएँ, यस घरको महत्व मेरा लागि एउटा बीभत्स यादबाहेक अरू केही थिएन । हजुरबुबा हुन्जेल काम विशेषले एकाधपटक यहाँ आएको भए पनि उहाँको मृत्युपछि सायद यो पहिलोपटक थियो– म यो घरभित्र पस्दैथिएँ ।
लामो ड्राइभ–वे पार गरेर घरको मूलढोकामा आइपुग्दा थाहा छैन किन– मलाई कुनै अनिष्टको पूर्वाभास भयो । मेरो शरीरका सबै रौँ ठाडा भए । कुन्नि किन अचेल हरेक कुरामा सशङ्कित हुनथालेको थियो मेरो मन ? आफ्नो कमजोर हुँदैगएको मनलाई झपार्दै म एकै छिन ढोकामै उभिएँ । हात बढाएर कलबेल थिचौँ कि ढोका ढकढक्याऊँ भनेर सोच्दै थिएँ– ढोका खोलेर फुपू मेरोसामु देखापर्नु भयो ।
‘फुपू !’ उहाँलाई देखेर मेरो मन त्यसैत्यसै भरियो, गला अवरुद्घ भयो । म केही बोल्न सकिनँ । फुपूले नै अघि बढेर मलाई अँगाल्नुभयो । निकै बेर मलाई अँगालेर बिलौना गरिसकेपछि उहाँले गएर म भित्र पसेको सानो गेटमा ताल्चा लगाएर आउनुभयो ।
म अनिश्चित, त्यहीँ उभिइरहेँ । यो कुन भावना थियो, जसले मलाई त्यहाँबाट निस्केर कतै टाढा जान प्रेरित गरिरहेको थियो ? के थियो यो घरमा त्यस्तो, जसले मलाई असहज र अत्यासको भुमरीमा धकाल्थ्यो सधैँ ?
अन्योलमा छटपटाइरहेको मैले पानी छिट्याउन थालेको पनि पत्तो पाइनँ । फुपूले लम्कँदै आएर मेरो हात थामेर मलाई भित्र लैजानुभयो ।
विशाल बैठककोठामा बलिरहेको एउटा मात्रै बल्ब त्यहाँको अँध्यारो भगाउन पर्याप्त थिएन सायद । त्यसैले त्यहाँ अझै अँध्यारो थियो । त्यस कोठामा भएका फर्निचरहरूलाई ढाकेका कपडाहरू अझै हटाइएका थिएनन् । ती कपडाले ढाकेका सामानहरू, अँध्यारो– उज्यालोको मिश्रित परिवेशले यस्तो प्रतीत भइरहेको थियो– मानौँ म कुनै भूताहा फिल्म हेरिरहेको छु । झन् त्यसमाथि बाहिर गर्जन र बर्षन थालेको आकाशले ब्याकग्राउन्ड म्युजिकको काम गरिरहेको थियो ।
‘एउटा कोठा नै काफी छ मेरा लागि । सुदर्शनको अत्तोपत्तो छैन । त्यसैले मैले पूजाकोठा, भान्छा र एउटा सुत्ने कोठाबाहेक अरू जस्ताको तस्तै छोडेकी छु ।’ उहाँले सायद मेरो मनोभाव बुझेर भन्नुभयो । म केही बोलिनँ । त्यसपछि उहाँको आग्रहमा म उहाँकै सुत्ने कोठामा गएँ । त्यहाँको हालत देखेर पनि यस्तो लाग्दैनथ्यो कि त्यहाँ कोही जीवित प्राणी बसोबास गर्दछन् । अँ, यस कोठालाई बैठकको तुलनामा अलि व्यवस्थित मान्न सकिन्थ्यो । यहाँ भएका सर–सामानहरूबाट कपडा हटाइएको थियो । तर कोठामा भएको मोटो कार्पेटमाथिको प्लास्टिक अझै हटाइएको थिएन ।
धेरै बेरसम्म फुपू मलाई समातेर भावविह्वल भएर रोइरहनुभयो । उहाँसँगै म पनि रोएँ । फुपूको खाना खाने आग्रहलाई मैले टारिदिएँ । उत्कण्ठा, उत्सुकता, डर र अनौठो रोमाञ्चकतामिश्रित भावले मलाई यसरी हल्लाइरहेको थियो– मैले भोक, प्यास, निन्द्रा सबै बिर्सिएको थिएँ ।
‘फुपू, तपाईं केही भन्दै हुनुहुन्थ्यो फोनमा,’ मैले उहाँलाई याद दिलाउँदै भनेँ– ‘के छ तपाईसँग त्यस्तो जो…।’
‘थाहा छैन के भइरहेको छ यो परिवारमा,’ फुपू मानौँ आफैँसँग बडबडाउनु भयो– ‘तिम्री आमाको मृत्युले त मानौँ यस परिवारमा एउटा अभिशप्ति छोडेर गयो । न तिम्रो विवाहको खुसीले यो अभिशाप मेटाउन सक्यो, न मेरो पूजा, प्रार्थनाले । तिम्रा बुबाको मृत्यु भएको धेरैपछि समय केही सहज बितेझैँ भएको थियो, तर फेरि तिम्रो बिमारी…,’ उहाँले लामो सास फेर्नुभयो अनि फेरि मानौँ बेहोसीमै बडबडाउनु भयो– ‘कसले सोचेको थियो– तिमी अचानक ह्विलचेयरको आश्रित बन्न पुग्नेछौ भनेर ? तर आज तिमीलाई आफ्नो खुट्टामा उभिएको देखेर म साह्रै खुसी भएकीछु बा ! मलाई खुसी लाग्यो– तिमी त कमसेकम न्युरोटक्सिनको असरबाट बाहिर निस्कन सक्यौ । मेरो आशीर्वाद छ तिमी मृत्युलाई पनि जित्न सक, जसरी ड्रग्सको असरलाई जित्न सक्यौ ।’
‘तर फुपू ! तपाईं मलाई केही भन्छु भन्दै हुनुहुन्थ्यो । तपाईँ त….?’ अचानक मेरो शरीरभरि एउटा चिसो लहर दौडियो, शरीरका सबै रौँ ठाडा भए । मैले आफ्नो सास रोकिएको अनुभव गर्न थालेँ र खोक्न सुरु गरेँ ।
‘के भयो ?’ फुपूले सोध्नुभयो ।
‘प…पा…पानी… !’ मैले खोक्दै भनेँ । फुपू उठेर बाहिरतिर लम्कनुभयो । फुपू ढोकाबाट बाहिर ननिस्किएसम्म म खोकिरहेँ । उहाँ बाहिर निस्किनेबित्तिक्कै मैले उहाँको बेडछेउको फोन उठाएँ अनि भगवान भाक्दै वासुको नम्बर थिचेँ । सधैँ स्विचअफ रहने उसको मोबाइल सौभाग्यवश एक रिङ् पूरा नबज्दै उठ्यो अनि मैले केही बोल्नुभन्दा पहिल्यै उसको उत्तेजित स्वर मेरो कानमा ठोक्कियो ।
‘यार, कहाँ छस् तँ ? किन फोन नउठाएको ? म भने घरमा फोन गर्दागर्दा हैरान ! कहाँबाट फोन गरेको तैँले ? नो कलर आइडी देखिन्छ त ?’ ऊ बोलिरह्यो– ‘प्रत्यूष ! आइ ह्याव अ न्युज फर यु । थाहा छ, सुमन्तलाई पुलिसले समात्यो । …यार तेरो स्वर राम्रोसँग सुनिएको छैन । बाहिर बब्बाल पानी दर्किराछ, सायद त्यसैले होला अँ..अनि… अनि अर्को ब्रेकिङ् न्युज, सायद तेरो ठाउँमा… सरी टु से, सायद सुदर्शन तँ जति भाग्यमानी निस्केन ।’
‘ह्वाट ?’ म अलि ठूलो स्वरमा कराएँ ।
‘उही थियो सायद तेरो ठाउँमा जलेर खरानी हुने ।’
‘ओ माई गड !’ मैले विषाद र विस्मयपूर्ण स्वरमा भनेँ– ‘सायद ?’
‘जिरो, जिरो प्वइन्ट वान पर्सेन्ट, फोरेन्सिक र डीएनए रिर्पोटले यही भन्छ ।’
‘हे ईश्वर !’
‘तँ कहाँ छस् ?’ वासुले सोध्यो– ‘अनि तँ यति बिस्तारै किन बोलिरहेको छस् ?…राम्ररी सुन्या छैन मैले…तँ…।’
‘वासु, आइ एम इन ट्रबल, सायद यति बेला मलाई थाहा छ– यो सबैको सूत्रधार को हो ? त्यसैले…।’
‘के भन्छ यो ?’ वासुले चिन्तापूर्ण स्वरमा भन्यो– ‘कहाँ छस् तँ ?’
‘म..म यहाँ थापाथली…।’ अचानक फोनमा वासुको स्वर सुनिन छाड्यो । म फोन हातमा लिएर ‘हलो’ ‘हलो’ भनिरहेँ तर उताबाट कुनै आवाज आएन । यहाँसम्म कि फोनमा डायल टोनसम्म थिएन । अचानक मेरो दृष्टि बेडरुमको ढोकामा पर्यो, जहाँ फुपू उभिनु भएको थियो । मैले बिस्तारै फोन राखिदिएँ । निक्कै बेर हामी एक–अर्काका आँखामा हेर्ने कोसिस गरिरह्यौँ तर त्यहाँको अपर्याप्त उज्यालोमा त्यो सम्भव थिएन ।
‘किन…?’ अन्त्यमा मैले आहत स्वरमा सोधेँ– ‘केका लागि फुपू…?’
क्रमशः
………………………………………………………………………………………………………………
(विगत डेढ दशकदेखि उपन्यास र कथा विधामा निरन्तर कलम चलाउँदै आएकी स्रष्टा हुन् सानु शर्मा । हालसम्म उनका पाँचवटा कृतिहरू प्रकाशित छन् । उनको आख्यान–श्रृङ्खला– ‘फरक’ हरेक सोमबार र शुक्रबार नियमितरूपमा प्रकाशित हुनेछ ।)
[email protected]