आँखा भएर हुँदैन
आफ्नै दृष्टिकोण पनि चाहिँन्छ !
जब तिम्रा आँखाबाट
अर्कैले यो संसार हेर्न थाल्छ
थाहा हुन्न तिमीलाई संसार उज्यालो छ कि अँध्यारो ?
यतिखेर,
यस्तै केही भएको छ !
अँधेरी खोला हुँदै
कति म्हेन्दोहरूको जवानी बग्यो
चित्कार सुसाउने मुम्बाईको सुनसान घाटसम्म ?
छाउपडी गोठले थिचेर
कति सुनमायाहरूको परान डुब्यो
मृत्यु हिनहिनाइरहेको रगतको आलो पोखरीमा ?
र पासपोर्ट नत्थी उनेर
कति बलबाहुहरूको सपना जल्यो
भोकको डढेलो सल्किरहेको मलाया खाडीमा ?
मौन गणितका अनगिन्ति अङ्कहरू
सूचनापाटीमा टाँसेर
वर्षौदेखि रोइरहेछ
मजस्तै एउटा दुःखी देश- समयको क्रन्दन !
तर आजसम्म पनि
उसले त सुन्दै सुनेको छैन
दमित इतिहासले गाएका आँसुका गीतहरू !
सायद,
ऊ त कवि हो !
अग्लो बार्दलीमा बसेर
ऊ लेखिरहेछ- सुन्दर गुलावको प्रेमिल कविता !
भन्नुस् महोदय !
यतिका वर्षसम्म पनि
कहिल्यै नअँध्यारिएको तिम्रो अनुहार
आज कसरी अँध्यारियो
एकाएक जमिनको फोहोरी धुलो देखेर ?
प्रिय कवि !
मलाई नढाँटी भन त
तिमीसँग भएका ती एकजोर आँखा कसका हुन् ?
(प्रथा चर्चित कवि हुन ।)
[email protected]