कविता

काठमाडौंं, २०८१ जेठ ।
हास्यव्यङ्ग्य कवि नवराज कार्कीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । काव्यालयको आयोजना सर्वनाम नाट्य घरको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा कविताकाव्यतर्फ रुचि भएका विशिष्ट स्रष्टाहरुको उपस्थिति रहेको थियो । काव्यालयको यो कार्यक्रम नै पहिलो रहेको बताउँदै प्रज्वल अधिकारीले संक्षिप्त मन्तव्य दिएपछि अनौपचारिक रुपमै आरम्भ भएको कार्यक्रममा कवि सलभले सहजीकरण गरेका थिए ।
कवि कार्कीलाई कसरी र कहिलेदेखि लेख्न थाल्नु भयो ? प्रश्न गर्दै पृष्ठभूमिमाथि प्रकाश पारेर आरम्भकालीन कविताबाटै वाचन क्रम शुरु गर्न भनिएपछि कार्कीले पृथ्वीनाराय क्याम्पस पढ्दाको प्रस्तुत गरेका थिए ।पोखराको पेरिफेरिमा कविता लेखनका सहयात्रीहरूको स्मरण गर्दै कार्कीले थपे- हामी क्याम्पस पढ्दाका अधिकांश साथीहरूमा कवि भूपीको ठूलो प्रभाव थियो । मुक्तक संरचनाका कविताहरूको बाहुल्यता रहेका मुक्तकीय कविताका शिल्पी कार्कीले क्रमशः पहिलेदेखि अहिलेसम्मका प्रतिनिधि मुक्तकहरु नै प्रस्तुत गरे ।
कार्कीले प्रस्तुत गरेका धेरैजसो सिर्जनाहरू हास्यव्यङ्ग्यात्मक थिए । समसामयिक बेथितिप्रति गज्जबसंग चड्कन हानिएका मट्याङ्ग्रा आकार कविताहरू अन्ततिर प्रस्तुत गरिएका कविताहरूले श्रोता तथा दर्शकको मन राम्रैसँग जितेको देखियो । ‘सिलसिला’, ‘एक दनक’, ‘सधैँ सधैंं’ लगायत आधा दर्जन कविता कृतिका स्रष्टा कार्कीको कथन थियो– कविताले हामीलाई, म त अझ भन्छु– मलाई उर्जा दिइरहेको छ । उमेर, अवस्था, रोजगार व्यवसायमा मानिस रिटायर्ड हुन्छ तर कविता लेखन चाहिँ कहिल्यै रिटायर्ड हुँदैन । कविता जति आत्मीय साथी अरु कोही हुँदैन ।
सिर्जना प्रस्तुतिका अन्त्यमा कार्कील हास्यव्यङ्ग्यात्मक शैलीको उम्दा ‘दारी’ कविता प्रस्तुत गरेका थिए । सवा घन्टासम्म लगातार प्रस्तुत गरिएका कार्कीका रचनालाई श्रोता तथा दर्शकले बढी मन पराएका थिए । दर्शक दीर्घामा वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टराई, अशेष मल्ल, सीता पाण्डे, फणिन्द्र नेपाल, दिव्य गिरी, सुभाषचन्द्र ढुङगेल, नरनाथ लुइँटेल, दुर्गाकिरण तिवारी, माणिकरत्न शाक्य लगायत चार दर्जन स्रष्टाहरूको उपस्थिति रहेको थियो । कवि नवराज कार्की हाल अमेरिका बस्नु हुन्छ, छोटो समय नेपाल आउनु भएको अवसर पारेर यो कार्यक्रमको आयोजना गरिएको हो । उहाँको पछिल्लो चरणका हास्यव्यङ्ग्यात्मक सिर्जनाहरू फित्कौली डटकममा निरन्तर प्रविष्ट हुँदै आएका छन् ।