• २०८१ फागुन १ बिहीबार

वीरेनको ‘भम्पा’ लोकार्पण

दमक ।

भुटानी शरणार्थीको स्वास्थ्य, हकहितसँगै घरफिर्ती अडानका पक्षमा मृत्युपर्यन्त आवाज उठाउने भुटानी नागरिक डा.भम्पा राईको जीवन र संघर्षलाई जोडेर लेखिएको कृति ‘भम्पाः एक अडान, अनेक प्रश्न’को विमोचन गरिएको छ ।

सन् १९९० पछि जातीय सफायामा परेर निकालिएका दक्षिणी भुटानी जनतालाई साथ–सहयोग दिन स्वनिर्वासनमा आएका भुटानी राजपरिवारका चिकित्सक डा.राईको गत वर्ष ७२ वर्षको उमेरमा निधन भएको थियो । सुरुमा शरणार्थी समुदायमाझ माइबगरमा र पछि दमकस्थित गजुरमुखी तथा थुलुङ्ग क्लिनिकलाई मुकाम बनाएर भम्पाले ३० वर्षभन्दा लामो समय शरणार्थीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै र मानव अधिकारका पक्षमा आवाज उठाउँदै आएका थिए ।

भुटानी शरणार्थी मामलाका जानकार एवं प्राध्यापक डा.गोविन्द रिजालले शरणार्थी समस्या समाधानलाई लिएर आएका विकल्पमध्ये सबैभन्दा अप्ठ्यारो बाटो स्वेच्छिक घरफिर्तीका पक्षधर रहेका र आजीवन राखेको यही अडानका कारण डा.राई एक पुजनीय पात्र हुन पुगेको धारणा राखेका थिए । ’घरफिर्तीका पक्षमा बनेको त्यही अडान र भरोसाका कारण आज पनि बेलडाँगी वा पथरी शिविरमा बस्ने सयौं भुटानी आफ्नो घर फर्किछाड्ने अठोटमा शरणार्थी हैसियतमा बसिरहनुभएको छ,’डा.रिजालले भने ।

शरणार्थी शिविरकै बासिन्दा ‘भम्पा’ कृतिका लेखक वीरेन मगरले झण्डै ५ वर्ष लगाएर लेखिएको यो कृतिमा डा.राईसँग फेला परेका वा अन्य राजनीतिक–सामाजिक सरोकारका सामग्रीसमेत जुटाउँदै भुटानी शरणार्थी आन्दोलन तथा अधिकारकर्मीको एकमुष्ट आवाज समेट्न प्रयत्न भएको बताए । ‘डा.राई पेसाले एक चिकित्सक र मानवअधिकारकर्मी भइकन मानवता, परोपकार र सह्दयी स्वभावको अलौकिक पात्र हुनुहुन्थ्यो,’मगरले भने ।

डा.राईकै पहलमा ९० को दशक सुरुवातमै माइधारस्थित शरणार्थी शिविरमा दालचामल सहयोगको प्रबन्ध तय भएको र एक छाक तरकारी समेत दाताको आग्रहमा थप गरिएको र राईकै पहलमा शिविरमा ट्वाइलेट बन्न थालेको क्षणलाई पनि मगरले कृतिमा स्मरण गरेका छन् । रत्न पुस्तक भण्डारले प्रकाशित गरेको जीवनी कृति ‘भम्पा’ प्रकाशनको एक महिनामैं दोस्रो संस्करण आउन लागेको लेखक मगरले जानकारी दिए ।

बेलडाँगीस्थित भुटानी शरणार्थी बस्ती व्यवस्थापन समितिको आयाजनामा सम्पन्न कार्यक्रममा साहित्यिक समाज, भुटानका अध्यक्ष तिलक राई, समितिका सचिव सञ्चहाङ्ग सुब्बा, दिल भुटानी, डीबी सुब्बालगायतले डा.राईको योगदान तथा भुटानी शरणार्थीको घरफिर्तीको अडानबारेमा धारणा राखेका थिए ।