तीन दशकदेखि गजल लेखनमा सक्रिय रहँदै आउनुभएका झापाका गजलकार कृष्ण काश्यपको दोस्रो गजल सङ्ग्रह “सराब” बजारमा आएको छ ।
स्रष्टा पब्लिकेसनले झापाको दमकस्थित कदम थिएटरमा शनिबार आयोजना गरेको एक समारोहकाबीच सो गजल सङ्ग्रह लोकार्पण गरिएको हो । पचासको दशकबाट गजल लेखनमा सक्रियताका साथ लागिरहनुभएका गजलकार काश्यप पेशाले निजामती सेवामा कार्यरत हुनुहुन्छ । यसअघि २०६४ सालमा उहाँको पहिलो गजल सङ्ग्रह “नयनभित्र तिम्रो तस्बिर” प्रकाशित छ ।
दमकमा रहेको स्रष्टा पब्लिकेसनले बजारमा ल्याएको गजल सङ्ग्रह “सराब” भित्र विभिन्न विषयमा लेखिएका ९५ ओटा गजल समावेश छन् । प्रकाशक स्रष्टा पब्लिकेसनका अध्यक्ष तथा कवि सुन्दर कुरुपको अध्यक्षता र साहित्यकार तथा प्राज्ञ सुमित्रा वाङ्देल ‘चेली’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकार केशव आचार्य र साहित्यकार तथा सञ्चारकर्मी घनश्याम पथिकले विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँहरुले गजलकार कृष्ण काश्यप आफैँमा उम्दा गजलकार भएको र लामो समयको साधनापछि कृति आएकोले यसभित्र उत्कृष्ट गजलहरुको रहेको उल्लेख गर्नुभयो । रङ्गकर्मी सिजन दाहालले कार्यक्रममा स्वागत मन्तव्य राख्नुका साथै लोकार्पित कृतिभित्रबाट एउटा गजल वाचन गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा कविरसञ्चारकर्मी लीला अनमोल र गजलकार सुनिता तामाङले “सराब” बाट एक–एक ओटा गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकारहरु प्रकाश बुढाथोकी, मधु केरुङ ‘केवाफुङ’, छवि वैरागी घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्रष्टा पब्लिकेसनका सचिव राजकुमार सुब्बा ‘अनिश्चित’ ले गर्नुभएको थियो । कार्यक्रममा मिडिया पार्टनरहरू मानुषी मिडिया हाउस तथा लिम्बूवान खबर अनलाइन, गजलकार काश्यपकी छोरी फियान्सु घिमिरे लगायतलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।