• २०८२ असार ३१ मङ्गलबार

बानियाँलाई ‘आभास साहित्य सम्मान’ ‘अर्हत्’ लाई उत्कृष्ट साहित्य पुरस्कार

काठमाडौँ ।

आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान वरिष्ठ साहित्यकार तथा समालोचक राजकुमार बानियाँलाई प्रदान गरेको छ । कोषले ‘अर्हत’ उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीलाई आभास उत्कृष्ट साहित्य पुरस्कार, २०८१ समर्पण गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली लेखक सङ्घका अध्यक्ष वियोगी बुढाथोकीले बानियाँ र अधिकारीलाई सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बुढाथोकीले साहित्यको क्षेत्रमा वर्षौँदेखि काम गरेका व्यक्ति र कृतिको सम्मान गरेर कोषले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा सम्मानित र पुरस्कृत व्यक्तित्वबारे कवि तथा समीक्षक शकुन्तला जोशी र हेमप्रभासले चर्चा गरेका थिए । जोशीले समीक्षा र समालोचना गर्दा बानियाँको निष्ठापूर्वक कलम चलाउने र कृतिमाथि न्याय दिने आम विश्वास रहेको टिप्पणी गरे । अर्का समीक्षक प्रभासले अर्हत् आद्योपान्त पठनीय र उत्प्रेरक कृति रहेको बताए ।

पुरस्कृत बानियाँले सम्मान र पुरस्कारले साहित्य साधकहरूलाई अगाडि बढ्न ऊर्जा दिने अनुभव बताए । कोषका अध्यक्ष बालकृष्ण श्रेष्ठले कोषले सामाजिक उत्तरदायित्वअन्तर्गत यस प्रकारका पुरस्कार र सम्मानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । सम्मान तथा पुरस्कारको राशि डेढ लाख र एक लाख रहेको छ । सम्मानित बानियाँ तीन दशकदेखि साहित्य लेखन, समालोचना र सम्पादन क्षेत्रमा सक्रिय छन् । पुरस्कृत अधिकारीका ‘अर्हत्’ सहित ‘निर्वेद’ र ‘ब्रह्मास्त्र’ आख्यान कृति प्रकाशित छन् ।