• २०८१ बैशाख ६ बिहीबार

नूतन वर्षको शुभकामना

ऋषभदेव घिमिरे

ऋषभदेव घिमिरे

नयाँ वर्ष तिमी आऊ बोकेर नव सिर्जना ।
मान्छे जस्तो हुने दिव्य भरिद्यौ अझ चेतना ।।
शुभ- शुभ भई डुल्ने आओस् वर्ष नयाँ- नयाँ ।
वर्ष नूतनले देओस् उत्साह नव प्रेरणा ।।१।।

फुलून् अक्षरमा फूल काव्य बीज बनी रहून् ।
सबै सर्जकका हात कर्मशील भई रहून् ।।
ओठमा फूल वासन्ती फूलोस् नित्य निरन्तर ।
मनमा भावना शुद्ध चलिराखोस् अविरल ।।२।।

बोलीमा शुद्धता छाओस् कर्ममा हुन् गुणै- गुण ।
नहोस् स्वार्थका भाव नष्ट हुन् सब दुर्गुण ।।
रोग विनष्ट हुन् सारा पापकर्म सबै हटोस् ।
दया, माया र सद्भाव सधैँ साथ रहिरहोस् ।।३।।

नव निर्माणका लागि श्रमवर्षा चलोस् सधैँ ।
समृद्धिको दिगो सोच दूरदृष्टि रहोस् सधैँ ।।
सबैको हितका लागि म गर्छु लाख वन्दना ।
नयाँ वर्ष बनोस् सौम्य मेरो छ शुभकामना ।।४।।


(घिमिरे चर्चित साहित्यकार हुन् ।)
[email protected]