• २०८१ बैशाख ६ बिहीबार

क्यालगरी क्यानाडाद्वारा दुई कृति सार्वजनिक

नेपाली साहित्य समाज क्यालगरी, क्यानाडाद्वारा दुई कृति ‘नेपालदेखि क्यानाडासम्म’ सामूहिक लघुकथासंग्रह र केशवमोहन अधिकारीका ‘अझै जिउँदै छन् मुर्कट्टाहरू’ सार्वजनिक गरिएको छ । नेपाली कम्युनिटी सोसाइटी अफ क्याल्गरीका अध्यक्ष श्रीकान्त अर्याल, पूर्व अध्यक्ष समिर पाण्डे, नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष राजेन्द्र प्रसाई, बोर्ड अफ डाइरेक्टर्स माधव दुलाल र राजेन्द्र गौतमले पुस्तकको लोकार्पण गरेका थिए । केही समयअघि विश्वव्यापी रूपमा आयोजना गरिएको नेपाली लघुकथा प्रतियोगितामा उपलब्ध लघुकथाहरू समेटेर सामूहिक लघुकथासंग्रह ‘नेपाल देखि क्यानाडा सम्म’ प्रकाशित गरिएको हो ।

कथाकार केशवमोहन अधिकारीले कृति प्रकाशनमा लघुकथा कुनो, लघुकथा पाठशाला, लघुकथा सौन्दर्य जस्ता संस्थाको लघुकथाको विधागत उन्नयनमा उल्लेखनीय योगदान रहेको बताए । संस्थाका अध्यक्ष अधिकारीका ‘अझै जिउँदै छन् मुर्कट्टाहरू’ पनि नेपाली साहित्य समाज क्यालगरीले प्रकाशित गरेको हो । नेपालदेखि क्यानाडासम्म’ का सम्पादन संयोजकको रूपमा रुद्र दाहालले काम गरेका थिए । त्यस्तै दिपक ढकाल, रमेश लामिछाने, राजेन्द्र गौतम, माधव दुलाल, घनेन्द्र न्यौपाने, युवराज पौडेल, कपिल दुलाल र लक्ष्मी लम्साल खनालको सहयोगी भूमिका रहेको थियो ।

सार्वजनिक कार्यक्रममा सम्पादन संयोजक रुद्र दाहालले संग्रह तयारीका विभिन्न चरणका व्याख्या गरेका थिए । नेपाल देखि क्यानाडासम्म’ संग्रहमा समावेश लघुकथाहरूमा लघुकथाकार हिरा लामा प्रथम, लता केसी द्वितीय र हेमलता उप्रेती तेस्रो भएका थिए । कार्यक्रममा सहभागीहरूले प्रवासमा रहँदा पनि समय निकाली नेपाली भाषा र साहित्यको सेवामा लाग्न सकेकोमा खुशी प्रकट गरेका थिए । नेपाली साहित्य समाज क्यालगरीका अध्यक्ष केशव मोहन अधिकारी अध्यक्षतामा सम्पन्न कार्यक्रम भिमलाल अर्यालले सञ्चालन गरेका थिए ।