• २०८२ मंसिर २१, आईतवार

दार्चुला केन्द्रित दुई पुस्तक सार्वजनिक

काठमाडौं ।

नेपाल स्रष्टा समाजले एकैसाथ दुई पुस्तक सार्वजनिक गरेको छ । शनिबार (मंसिर १३) ललितपुरको कुपण्डोलमा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालगायत व्यक्तिहरूले ‘दार्चुला ः कला–साहित्य’ र ‘किशनसिंह धामी: व्यक्ति र कृति’ लोकार्पण गरे ।

कार्यक्रममा सार्वजनिक कृति ‘दार्चुला कला साहित्य’माथि पाठकीय टिप्पणी राख्दै साहित्यकार प्रमोद प्रधानले चार वर्षअघि दार्चुलामा भएको बृहत् सांस्कृतिक सम्मेलनका क्रियाकलाप यस पुस्तकमार्फत दस्ताबेजका रूपमा आएको बताए । साहित्यको इतिहास लेखनमा यस्ता दस्ताबेज महत्त्वपूर्ण हुने उनले उल्लेख गरे ।

प्रधानले अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार किशनसिंह धामीको प्रशंसा गरे । उनले आफ्नो गाउँठाउँ र साहित्य, कला, संस्कृतिप्रतिको धामीको मोह स्पष्ट देखाएको बताए । उनले स्थानीय निकायले साहित्य, कलासंस्कृतिका विषयमा विशेष चासो दिएर काम गर्नुपर्नेमा जोड दिए ।

‘किशनसिंह धामी: व्यक्ति र कृति’माथि पाठकीय मन्तव्य राख्दै प्रा. डा. भरतकुमार भट्टराईले पुस्तकका लेखक नेत्रप्रसाद फुयलले गहन विश्लेषणसहित साहित्यकार धामीको जीवन र उनको कृतित्वबारे चर्चा गरेको उल्लेख गरे । नेपाली भाषासाहित्य र संस्कृतिप्रति दार्चुलाका धामीको लगाव र जागरुकता अत्यधिक रहेको उनले चर्चा गरे ।

शर्माले साहित्यकार धामीले गरेको जस्तो कामले अरू साहित्यकर्मी र समाजसेवीलाई पनि ऊर्जा मिल्ने बताए । धामीले प्रेरणादायी काम गरेको उनले उल्लेख गरे ।

कार्यक्रममा साहित्यकार धामी, समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, डा. तारानाथ निरौला, पवन आलोक, ज्ञानु अधिकारी, प्रकाश घायललगायत स्रष्टाले बोलेका थिए । साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको प्रारम्भमा दार्चुलातिरको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो ।

‘व्यक्ति र कृति’ लेखक फुयलले प्रकाशन गरेका हुन् । ‘दार्चुला: कला–साहित्य’ अमेरिकास्थित तारा–किशन फाउन्डेसनले प्रकाशन गरेको हो ।