समाचार

काठमाडौं ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा आयोजित एक कार्यक्रममा साहित्यकार साधना प्रतीक्षाद्वारा लिखित कथाकृति ‘यमदूतको आत्मसमर्पण’को लोकार्पण गरिएको छ । उक्त कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, शिखा बुक्सका संस्थापक निर्देशक, पुष्पराज पौडेल, समालोचक प्रा.डा. खगेन्द्र लुइँटेल, प्रा.डा. सावित्री मल्ल कक्षपति, प्रा.डा. नारायण गडतौला लगायत अतिथिहरुद्वारा संयुक्त रुपमा लोकार्पण गरिएको थियो ।
सभामुख इन्दिरा रानाले कृतिमाथि चर्चा गर्दैै लेखकले मैले भोगेका समस्याहरूको पनि चित्रण भएका कथाहरू सङ्ग्रहमा छन् भनेर मात्रै कार्यक्रममा सहभागी भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘मैले जेलका बालबालिका रोज्ने कि मलाई भनेर श्रीमानले भन्नुहुँदा श्रीमान् नरोजेर जेलका बच्चा रोजेँ र श्रीमानबाट अलग भएँ । यस्तो साहस पुरुषमा हुँदैन । यमदूतको आत्मसमर्पण कथासङ्ग्रहमा महिलाका संवेदनाहरू छन् । पुरुषले महिलालाई कहिले पनि उमेरमा चुनौति दिन सक्दैनन् भन्ने तथ्यलाई यमदूतको आत्मसमर्पण कथाले व्यक्त गरेको छ ।’
समारोहका विशेष अतिथि केन्द्रिय नेपाली विभाग अध्यक्ष समालोचक प्रा.डा. खगेन्द्र लुइँटेलले पदवीबोधक शब्दमा लिङ्गभेद नहुने बताउनुभयो । शुभकामना मन्तव्य प्रकट गर्ने क्रममा उहाँले भन्नुभयो, ‘साधना प्रतीक्षामा लेख्ने क्षमता पनि छ र आवश्यक गम्भीरता पनि छ । म उनको लेखनको अझ उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’ समारोहका अतिथि प्रा.डा. सावित्री मल्ल कक्षपतिले लोकार्पित कृतिका कथाहरू घटनाप्रधान भएको बताउनुभयो । कथासङ्ग्रहका कथाहरूका पाइने सांस्कृतिक आयामको चर्चा गर्दै उहाँले नारीले निर्वाह गरेको जीवनप्रतिको भूमिकाको चित्रण निकै मार्मिक र संवेदनशील ढङ्गले गरिएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘उहाँका कथामा सांस्कृतिक आयाममा पनि अग्रगामी चिन्तन पाइन्छ । सांस्कृतिक अभिलेखीकरणका दृष्टिले पनि यिनको विशेष महत्त्व छ ।’
पूर्वीय वाङ्मयका चिन्तक प्रा.डा. नारायण गडतौलाले लोकार्पिक कृतिका कथाहरूका विषय हाम्रै घर आँगनको विषय भएको बताउनुभयो । कथाकार साधना प्रतीक्षाले भन्नुभयो, ‘महिलाका यति धेरै भूमिका छन् कि ऊ ती भूमिका निर्वाह गर्दागर्दै आफ्नो निम्ति बाँच्नै पाउँदिन र पनि उमेरका हिसाबले ऊ नै धेरै वर्ष जीवित रहन्छे । नारी भूमिकाको हिसाबले अग्रस्थानमा छ । यस कुरालाई पुरुषले मनन गरिदिनुहोस् भनेर मैले यो कृति लेखेकी हुँ ।’ शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न समारोहको सहजीकरण साहित्यकार महेश क्षितिजले गर्नुभएको थियो । शिखा बुक्सले बजारमा ल्याएको ‘यमदूतको आत्मसमर्पण’भित्र २५ वटा कथाहरू सङ्ग्रहित छन् ।