संस्मरण

काठमाडौं ।
पीपी प्रसाई फाउन्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट शिक्षक पुरस्कारबाट पाल्पाका गोपालप्रसाद बस्याल पुरस्कृत भएका छन् । बस्याल पीपी प्रसाई एक्सीलेन्स इन एजुकेसन अवार्ड, २०२३ र टुरिज्म लाइफ टाइम अचिभमेन्ट अवार्ड, २०८० बाट पुरस्कृत भएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल पुरस्कार दिए ।
लुम्बिनी प्रदेशबाट मोहन कन्या माध्यमिक विद्यालय तानसेन पाल्पामा कार्यरत शिक्षक बस्यालले नगद ५० हजार रकम पाए । यसका साथै मोहन कन्या माध्यमिक विद्यालयले १० हजार बराबरको शैक्षिक सामग्री समेत प्राप्त गरेको गरेको छ ।
लामो शिक्षण तथा प्रशिक्षण अनुभव भएका पुरस्कृत शिक्षक बस्याल शिक्षकका साथै लेखक, पत्रकार, साहित्यकार र विश्लेषकका रूपमा चिनिन्छन् । उनका पाठ्यपुस्तक, सन्दर्भ सामग्री, साहित्यिक कृतिहरू, शिक्षा र समसामयिक विषयवस्तुमा आधारित लेखहरू नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित रहेका छन् ।
नेकोन एअरको सेप्टेम्बर ५, १९९९ मा भएको जहाज दुर्घटनामा दिवंगत पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्झनामा २०६७ सालमा स्थापित उत्कृष्ट शिक्षक पुरस्कार नेपालको सार्वजनिक शिक्षा र पर्यटनको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेका व्यक्तित्वहरूलाई प्रोत्साहनस्वरूप सम्मान गर्ने गरेको फाउन्डेसनका अध्यक्ष शिखर प्रसाईले जानकारी दिए ।