• २०८२ मंसिर २२, सोमबार

डा. श्यामसुन्दर राजवंशीको ‘विक्रम संवतदेखि लुम्बिनीसम्म’ लोकार्पण

काठमाडौँ ।

लिपि तथा इतिहासविद् डा. श्यामसुन्दर राजवंशीको इतिहास र संस्कृति सम्बन्धी पुस्तक ‘विक्रमसंवतदेखि लुम्बिनीसम्म’ लोकार्पण भएको छ । चिवहाल ठमेल, गौचरमा इखबरनेट मिडियाले आयोजना गरेको कार्यक्रममा संस्कृति शिरोमणि हरिराम जोशी, पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ’रोदन’, दिलबहादुर महर्जन, इखबर नेटका प्रधानसम्पादक प्रदीप सापकोटा लगायतले कृतिको लोकार्पण गरे ।

प्रमुख अतिथि जोशीले इतिहास कहिले पनि पूर्ण नहुने बताउँदै सत्य अन्वेषण कार्यमा डा. राजवंशी सफल भएको बताए । परम्परागत कुरा तथ्यले थप कुरा बाहिर ल्याएको उनले बताए । लोकार्पित कृतिमाथि चर्चा गर्दै पुरातत्त्व महानिर्देशक प्रधानाङगले नयाँनयाँ तथ्यले पुस्तक भरिएको बताइन् । तथ्य र प्रमाणको आधारमा इतिहास केलाइएको पनि उनले बताइन् । डा. राजवंशीले अभिलेखविज्ञको रूपमा धेरै तथ्य पुस्तक मार्फत बाहिर ल्याएको हुँदा कृति इतिहासका पाठक, अध्येता, अनुसन्धानदाता लगायत सबैका निम्ति उपयोगी भएको बताइन् ।

नेपाल स्रष्टा समाजका अध्यक्ष समेत रहेका रोदनले पुस्तक महत्त्वपूर्ण रहेको बताए । उनले इतिहास सधैँ खोजको सवाल रहेको बताउँदै कृति त्यतैतिर उन्मुख भएकाले सबैसामु कृति पुर्याउनपर्नेमा जोड दिए । कृतिकार डा. .राजवंशीले आफ्नो निम्ति आजको दिन सुखद भएको बताउँदै पाठकको प्रतिक्रिया आफूले चाहेको बताए ।

इखबर नेटका प्रधानसम्पादक प्रदीप सापकोटाको सञ्चालन र दिलबहादुर महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रकाशन गृहका प्रबन्धक बसन्तराम नकर्मीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा मन्चासिनहरूलाई राष्ट्रमान तुलाधरले खादा अर्पण गरेका थिए । कार्यक्रम चिबहाल परिवार, ठमेल र अशोक चैत्य जिणोद्वार एवं संरक्षण समितिले सहकार्य गरेका थिए ।