काठमाडौँ, पत्रकार सञ्जय घिमिरेको गैर आख्यान कृति ‘पात्रहरु’ सार्वजनिक गरिएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा कृति लेखककी आमा ७५ वर्षीया झलकमाया घिमिरे, १२ वर्षीया छोरी आर्या रावल घिमिरे र श्रीमती तारा रावलले ‘पात्रहरु’ विमोचन गरेका हुन । पत्रकार सञ्जय घिमिरे अनौपचारिक लेखनमा अलग नाम बनाएका छन् ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले नेपाली मूलधारको पत्रकारितामा फिचर लेखनमा घिमिरेको शैली र शिल्प सदैव स्मरणीय रहेको बताए ।
महासंघका पूर्वअध्यक्ष बिष्णु निष्ठुरीले आफू पनि घिमिरेको अनौपचारिक लेखन शैलीको फ्यान- फलोवर रहेको बताए । झण्डै डेढ दशक यता अमेरिका बस्दै आएका पत्रकार घिमिरेले आफ्नो जन्मस्थल कास्कीको देउराली गाउँदेखि काठमाडौं र अमेरिकासम्मको यात्रामा देखे भोगेका पात्र तथा प्रवृत्ति माथि अनौपचारिक शैलीमा ‘पात्रहरु’ कृतिमाथि स्मरण समेटेका छन् । उक्त कृति सांग्रीला बुक्सले प्रकाशनमा ल्याएको हो ।