• २०८१ फागुन १ बिहीबार

कृष्ण ढुंगेलको ‘समयको नक्साबाहिर’ निबन्धसंग्रह सार्वजनिक

कृष्ण ढुंगेलको संस्मरणात्मक निबन्धसंग्रह ‘समयको नक्साबाहिर’को विमोचन भएको छ । कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमबिच कृति लोकार्पण गरिएको हो । लेखक ढुंगेलसहित मदन पुरस्कार विजेता कवि डा. नवराज लम्साल, राजनीतिकर्मी एवं लेखक गणेश कार्की, कथाकार अनिता पन्थी तथा प्रकाशन पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देलले पुस्तक विमोचन गरेका हुन् ।

कृतिका विषयमा सोधिएका प्रश्वनको उत्तर दिँदै प्रमुख अतिथि डा. लम्सालले संस्मरणलाई लघुउपन्यासै भने पनि हुने बताए। उनले भने, ‘ढुंगेलको पुस्तकमा मैले आफ्नै ढुकढुकी पाएँ । यसमा हरेक युवाले भोगेको गाउँको कुरा छ, समाजको कुरा छ । पुस्तकमा कथाको स्वाद पाइन्छ र यसलाई लघुउपन्यास भन्न सकिन्छ ।’

लेखक तथा समीक्षक अनिता पन्थीले मानवीय संवेदनालाई छोएर लेखिएको यस पुस्तकमा बालमनोविज्ञान पाइने बताइन् । उनले भनिन्, ‘ढुंगेलले बाल्यकालमा अनुभूति मात्र गर्नुभएका बालमनोविज्ञानका कुराहरूलाई अर्थ लगाएर अहिले लेख्नुभएको छ। समय, परिवेश र परिस्थिति नै यस पुस्तकको विशेषता हो । यसले दिदी, आमा, फुपूदिदीहरूको नारी संवेदनालाई पनि पक्रिन सकेको छ ।’

युवा पुस्ताका राजनीतिकर्मी तथा लेकक गणेश कार्कीको धारणा भने अलिकति फरक थियो । उनले विज्ञान, खेल र सिकाइलाई यो पुस्तक मीठोसँग प्रस्तुत गरिएको प्रसंग कोट्याए। उनले भने, ‘लेखकले गुच्चा तथा फुटबलका माध्यमबाट पृथ्वी गोलो भएकोमा आफू विश्वस्त भएको बताउँछन् । उनले कमिला फुटबलमा सजिलै हिँडेकोबाट त्यसरी नै पृथ्वीमा मानिस हिँडेको कल्पना गर्छन् । पहिलेको पुस्ताका बालबालिका धर्तीसँग रमाएको कुरा यस संग्रहमा पाइन्छ। पुस्तकमा पर्यावरणीय चेत पनि प्रशस्तै छ ।’

लेखक ढुंगेलले झुटो लेख्न नजानेको परिणाममा यो पुस्तक आएको बताए । उनले भने, ‘मसँग अर्को कुनै लेख्न विषय थिएन र आफैँलाई लेखेँ । आफैँलाई झल्न नसकिँदो रहेछ, र जे थियो त्यही लेखेँ । बाल्यकाल र सम्बन्धहरू छ्यालब्याल बनाएर लेखेँ ।’