• २०७९ चैत १२ आइतबार

धमिरा डट कम

सुवास खनाल

सुवास खनाल

वेलकम यु अन द पेज धमिरा डट कम

जीव विज्ञान भन्छ- हाम्रो अस्तित्व अरूको जत्तिकै छ
इकोसिस्टम भन्छ- हामी पनि हौँ उत्तिकै महत्वपूर्ण

हामी हौँ धमिरा

यु आर वेलकम अन द पेज धमिरा डट कम
यो पेजमा तपाईं धमिराबारे सूचना पाउनु हुनेछ

अरे ओ ! धमिरालाई किन खोज्नुहुन्छ ?
काठका चेपहरूमा
किताबका पेजहरू भित्र
वा रूखका जराहरूमा मात्र

हामी यत्रतत्र छौँ
जस्तो कि- त्यसमा, तिनीमा, उनीमा,
उहाँमा, हजुरमा, तपाईँमा… … …

न्याय निसाफ बोक्ने फाइलमा जब हाम्रो प्रवेश हुन्छ
इन्साफले बोक्छ बाङ्गो बाटो
जब छिर्छौँ हामी चुपचाप राजनीतिमा
व्यवस्था फेरिन्छ तर व्यवस्थापन उही हुन्छ
सुस्तरी जब प्रवेश हुन्छौं
शिक्षा नीतिहरूमा
शिक्षा बन्छ- निकम्मा उत्पादन केन्द्र
बौद्धिकहरू लाई गर्छौँ मौन आक्रमण र पार्छौँ- प्यारालाइज्ड

धमिरा क्या धमिरा, हामी धमिरा

मालपोत छिरेपछि
नबुझाउनु पर्ने शब्दमा पारि दिन्छौँ प्वाल
र बनाइ दिन्छौँ  द्विअर्थी
संसद् भवन छिरेपछि
लगाइदिन थाल्छौँ  घिउकुमारीको रस
सभासद्का गाला र मस्तिष्कहरूमा

जन जनमा छिरेपछि हामी
सत्य हुन्छ- निम्छरो

अन्तिम जानकारी
जैविक रूपमा बरू उत्ति हानिकारक छैनौँ हामी
जति हानिकारक छ- तपाईँको मस्तिष्कमा हाम्रो उत्पत्ति

हामी धमिरा
तपाईँ मानिस
हाम्रो विनाशले मात्र तपाईँको विकास सम्भव छ

सोच्नुस्
तपाईँ
हामीलाई हुर्काइरहनु भएको पो छ कि ?

थ्याङ्क्स फर भिजिटिङ दिस पेज
धमिरा डट कम ।


(सुवास खनाल चर्चित कवि हुन् ।)
[email protected]