समाचार

दिदी !
आलु र चना पकाउँदा
हरियो प्याज र धनियाँ
कति वेला हाल्ने
उसिन्दै गर्दा कि
भुटेपछि ?
लसुन र अदुवा पनि हाल्नु रे त !
त्यो चै सिङ्गै हाल्ने कि
कुटेपछि ?
हिजै मात्र
यहीँ मास्तिर
डाँडा पराजुलमा
दिदीकै पसलको चर्चा भा’थ्यो
चलिरहेको गाउँ भेला रोकेर
दिदीकै खाजाको बारेमा
अलिकति समय खर्च भा’थ्यो
राधाले भनेको-
जुनसुकै खाजामा पनि
मसला भित्रै पसेको हुन्छ
एकचोटि मात्र खाएको खाजा पनि
जिभ्रोमा पछि सम्मै बसेको हुन्छ
भन्देऊ न, दिदी !
खाजालाई यति मीठो बनाउन
अरू केके मिसाउनुपर्छ
जीरालाई त्यति मसिनो बनाउन
कुन सिलौटोमा पिसाउनु पर्छ ?
चुप्रा तरेर
मालबाँसे जाँदैगर्दा
डुङ्गेश्वरको डण्डीराम पनि भन्दैथ्यो-
मीना दिदीको खाजा पसल !
जहाँ स्वादको मीठास मात्र छैन
सङ्घर्षको कथा पनि छ
जीवनको आभास मात्र छैन
सपनाको व्यथा पनि छ
आफ्नै रहरको आगोमा
आफ्ना सपना जलेपछि
दिदीले
लोहोरे खोलाको किनारमा
बन्दुक गाड्नु भा’को रे
आफ्नै आस्थाको टाकुरोबाट
आफ्नै विश्वास ढलेपछि
दिदीले
‘विद्रोही’ बाटो छाड्नु भा’को रे !
कल्पनाको दुनियाँमा
कोरिएका रहरका रेखाहरू
बिस्तारै मेटिने थालेपछि
मान्छेले
आफ्ना हतियारहरू
त्यसरी नै त गाड्छ होला
आफूलाई बाटो देखाउँदै
आफ्नै अगाडि हिँड्ने खुट्टामा
अरूकै जुत्ता भेटिन थालेपछि
’क्रान्ति’ले
त्यसरी नै त बाटो छाड्छ होला !
मीना दिदीलाई
पसलमै भेटेपछि
उनैले त भनेकी हुन्
कुरैकुरामा यी कुरा पनि-
लडाइँले नै सिकायो
जे गरिन्छ मनैबाट गर्नुपर्छ
आवश्यक पर्यो भने त
सुन्दर भविष्यका लागि
वर्तमानलाई पनि मार्नुपर्छ !
तर कहाँ त्यस्तो हुँदोर’छ र जीवन
‘आज’लाई मारेर
कुन ’भोलि’ पो बाँच्दोरछ’र
रहरहरू पछिलाई साँचेर
कुन ‘आज’पो हाँस्दोर’छ र !
रगतले कोरेर
बनाएको क्रान्तिको बाटोमा
ठेकेदारको टिपर कुद्न थालेपछि
त्यो बाटो चर्कन थालेको हो
दुःखको ढाडमा टेकेर
सुखको काख जित्न
सुर्याउने क्रान्तिनायक
दलालको चुल्होमा
औसानी हाल्न बसेपछि
ऊ
क्रान्तितिर फर्कन छाडेको हो !
मूलबाटो नै
बीचबाट हराएपछि
मैले पनि आफ्नै चुल्होमा
आगो जोर्न थालेकी हुँ
सुन्दर भविष्यको सपना
खानीको ढुङ्गाझैँ फुटेपछि
त्यसैको टुक्रामा
चकमक घोटेर
आफ्नै वर्तमान खोज्न थालेकी हुँ !
अरूको सपनामा
आफ्नो आँखा मिसाउँदैमा
त्यो सपना आफ्नो नहुने रहेछ
अरूको कल्पनामा
आफ्नो वर्तमान पिसाउँदैमा
त्यो विपना आफ्नो नबन्ने रहेछ !
अहिले त
यही खाजा पसल नै
आफ्नो धनसार लाग्छ
यहाँ आउने यिनै गाहकी नै
सुन्दर संसार लाग्छ
यही संसारलाई
सुन्दर बनाई राख्न
म खाजामा
मन पनि मिसाउँछु
सिलौटोमा पिसेपछि मसला
हत्केलामा उठाउँछु
र रहरले चलाउँछु
मन मिसाएको खाजामा
मायाको मुना हुन्छ
रहरले चलाएको जिरामा
स्वादको टुना हुन्छ !
जीवन यस्तै त र’छ नि
कहिलेकाहीँ आवेशमा आउँछ
र तनावमा पिसिन्छ
विश्वासमा चिप्लिन्छ र
कतै खसी जान्छ
पिसिएको वेलामा
मनसँग कुरा गर्नु
त्यसैमा माया मस्किन्छ
चिप्लिएको बेलामा
हत्केलामा उठाउनु र बिस्तारै चलाउनु
त्यसैबाट प्रेमिल मुजुरा निस्किन्छ
तर भावनाको सिमाना नमिच्नु
मिचिएको सिमानामा
जीवन नबाँच्दोर’छ
कसैको सपना नकिच्नु
किचिएको सपनामा
जीवन नहाँस्दोर’छ !
तिमी पनि त
त्यही पिलाडीको प्लाटुनमा थ्यौ नि हैन र ?
बरू भन न
तिम्रा पनि कथाहरू !
दिदीले सोधेपछि
यति मात्र भनेँ-
दिदी !
कल्पनाको भट्टीमा
पिल्सिएका मेरा कथा पनि
भनेर सकिने खालका छैनन्
आफ्नै आँखाको परेलाबाट
धुलिएर झरेका
सुन्दर सपनाका व्यथा पनि
गनेर सकिने खालका छैनन्
त्यसैले
म त आजकल
आफ्ना कथा कसैलाई भन्दिनँ
भनुञ्जेल मात्र सुन्नेले पनि
आह, कस्तो अपार भन्दोर’छ
तर मौका पाउना साथ
त्यही ‘कथा’मा रङ छर्केर
आफ्नो स्वार्थको व्यापार गर्दोर’छ !!
(कट्टेल विगत एक दशकभन्दा अघिदेखि कथा र कविता विधामा निरन्तररूपमा कलम चलाउँदै आएका स्रष्टा हुन् ।)
[email protected]