• २०८१ श्रावाण ११ शुक्रबार

कवि असल चरित्रका दुई कविता

असल चरित्र

असल चरित्र

१. चिट्ठी

लामो समयको अन्तरालमा
आइपुग्यो चिट्ठी दुई दाजुभाइको
घरका दुई परिवार प्रसन्न मुद्रामा थिए ।

पहिलो चिट्ठी खोलियो,
कान्छोको परेछ
पुज्यनिय बुवाआमामा ढोग
बर्षौ देखी शोषित हामी सत्ता उल्टाउनु पर्छ भनेर
वर्ग संघर्षका निम्ति निरन्तर लडिरहेका छौँ
हाम्रो अभाव र गरिबीलाई हटाउन
हामीले कि मुक्ति कि मृत्यु रोजेका छौ ।
सामन्तहरूलाई पाखा लगाउन
म जस्ता कयौंँ कामरेड साथिहरू
आ-आफ्नो मोर्चा सम्हाल्दै हुनुहुन्छ
र म पनि सम्हालिरहेको छु एउटा मोर्चा
अहिले लेख्दैछु चिट्ठी सम्हाल्दै मोर्चा ।

हामी र हामी जस्ता
कयौंँ  शोषित पिडित जनताहरूका लागि
बन्दुक बोक्न विवश भएको हुँ
जोरनालबाट छरिएको गोलिबाट बचिएछ भने
अवश्य परिवारसँग भेट भइहाल्नेछ
देशको परिस्थितिले यो पटक टिको थाप्न पाइएन ।

लगतै अर्को चिट्ठी खोलियो
दोस्रो चिट्ठी जेठो छोरोको थियो
फेरि पढ्न सुरू गरियो
व्यहोरा यस्तो थियो
आदरणीय बुवाआमामा सेवा ढोग
सबैलाई देश र परिस्थिति अवगत नै छ
घरको अभावले सरकारको नुन खाइरहेको छु
नुनको सोझो बन्नै पर्यो
अस्तिमात्र अचानकको आक्रमणमा
तीन जना जवान सिपाही साथीहरू बिते
तत्काल रोल्पा सरूवा गराउने भएको छ
यसपटक टिको थाप्न घर आउन सकिएन ।

२. महसुस

शायद,
हुनसक्छ
पाप जति मैले गरेँ,
पुण्य जति तिमीले गर्यौ
फरक कति पनि रहेनछ
किनकी,
मेरो पापको फल
तिम्रो पुण्यको फल
उस्तै मिल्दो छ आजकल
किनकी,
अल्झिरहेका छौँ हामी अक्षर शब्दहरूका बिषयमा
बाँचिरहेका छौँ फरक फरक पाटोमा
विरोधी बनिरहन्छौँ  एकाअर्काको बाटोमा
साँचिरहन्छौँ आ-आफ्नै अहमता
शायद  हुनसक्छ
यो हामी आफूले आफैँलाई पतन गराउने
मार्गको सुरूवात हो ।


असल चरित्र, साँझा बस्ती, खोटाङ
[email protected]