समाचार

काठमाडौँ- ‘छन्दसाधना पुरस्कार’ यस वर्ष कवि रामचन्द्र भट्टराई र सुदेश सत्याललाई प्रदान गरिएको छ । शनिबार आयोजित एक समारोहमा भाषाविद् प्रा. माधव पोखरेलले कवि भट्टराईलाई ‘विशिष्ट छन्दसाधना पुरस्कार- २०७९’ र युवाकवि सत्याललाई ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार-२०७९’ प्रदान गरे । पुरस्कृत भट्टराई र सत्याललाई सम्मानपत्र सहित क्रमशः २५ हजार र १५ हजार रुपैयाँ हस्तान्तरण गरियो ।
कविद्वय रामप्रसाद ज्ञवाली र देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित ‘छन्द-तरंग काठमाडौं’ले छन्द-तरंगले २०७६ देखि हरेक वर्ष २५ हजार रुपैयाँ नगदसहितको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ प्रदान गर्दै आएकोमा यस वर्ष देखि १५ हजार रुपैयाँ नगदसहितको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ समेत थप गरी अग्रज र अनुज कविलाई समेत पुरस्कृत गर्न थालनी गरिएको हो ।
कार्यक्रममा भाषाविद् पोखरेलले कवि भट्टराईले आफ्ना कवितामा नेपाली जनताको बोली र युवाकवि सत्यालले वर्तमान युगको र युवाहरूको आवाज सम्प्रेषण गरेको ठहर गरे । उनले भने, ‘दुवै स्रष्टाहरूले नेपाली छन्द कवितालाई माथि उठाउनमा विशेष भूमिका खेल्नुभएको छ । संस्थाले योग्य व्यक्तिलाई नै योग्य पुरस्कार दिइएको छ ।’ ज्ञवाली र नेपालको जोडीले हराउन लागेको छन्दकविता लेखनलाई विश्वव्यापीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए । पुरस्कारले छन्दकविता साधनामा सबै पुस्तालाई थप हौसला प्रदान गरेको उनको भनाइ छ । पुरस्कृत ८२ वर्षीय भट्टराईले पुरस्कारले आफ्नो छन्द साधनालाई सम्मान गरी थप जिम्मेवारी प्रदान गरेको धारणा राखे ।