काठमाडौँ ।
प्रसिद्ध पाक विज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुकबुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ । काठमाडौँको होटल मनासलुमा आयोजित एक समारोहबिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उक्त पुस्तकको विमोचन गरेका हुन् । अङ्ग्रेजी भाषामा लेखिएको वैद्यको यो पुस्तक अमेरिकामा यसअघिनै विमोचन भई धेरै प्रति विक्री भइसकेको छ ।
पुस्तक विमोचन गर्दै मन्त्री पौडेलले बृहत् कुकबुकमार्फत नेपाली खाना संस्कृति र परिकारलाई अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न पु¥याएको योगदानका लागि शेफ वैद्यको प्रशंसा गरे । उनले खाना जीवन धान्नका लागि मात्र नभई जनताको स्वास्थ्य, संस्कृति र परम्परासँग घनिष्ट रूपमा जोडिएको छ भन्दै समृद्ध नेपाली खाद्य संस्कृतिको संरक्षणका लागि कुकबुक एउटा कोसेढुङ्गा हुने बताए । “पुस्तकले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न र शेफ पेसालाई मर्यादित बनाउनका लागि पनि महत्त्वपूर्ण भूमिका निभाउन सक्छ,” उनले भने ।.
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पाक संस्कृति पर्यटनको महत्त्वपूर्ण आयाम भएकाले यस पुस्तकले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले नेपाली पर्यटनलाई आन्तरिक र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नका लागि शेफ वैद्यको कुकबुक सहयोगी हुने बताए । अर्को सन्दर्भमा उनले नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि देखापरेका कानुनी कठिनाइहरू समाधान गर्न सफल भएको बताए । उनले खरिद ऐनमा हालै भएको संशोधनले बोर्डलाई अन्तर्राष्ट्रिय पक्षबाट सीधै सेवा खरिद गर्न सक्ने बनाएको जानकारी दिए । “पर्यटन बोर्डले अब नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि बीबीसी र सीएनएन जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सेवा सीधै खरिद गर्न सक्नेछ,” उनले भने ।
आफ्नो पुस्तकको बारेमा बोल्दै शेफ वैद्यले यो पुस्तक आफूले २० वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा गरेको गहन अध्ययन, अनुसन्धान र अभ्यासको परिणाम भएको बताए । “नेपालको मिस्टिक किचेन्स एक कुकबुक मात्र होइन – यो माटोलाई आत्मासँग जोडने खाना, संस्कृति र समुदाय बीचको गहिरो सम्बन्धको उत्सव हो,“ वैद्यले भने । ले आफ्नो पुस्तक प्रतिष्ठित जेम्स ब्रेड अवार्डमा प्रतिस्पर्धाका लागि स्वीकृत भएको पनि जानकारी दिए । यस पुस्तकमा व्यञ्जनहरूको सांस्कृतिक र ऐतिहासिक महत्वका बारेमा संक्षिप्त टिप्पणीसहित एक सय ४० भन्दा बढी मौलिक नेपाली रेसिपीहरु समावेश गरिएका छन् । पुस्तकले पाठकहरूलाई नेपालको विविध परिदृश्य र संस्कृतिको माध्यमबाट अविस्मरणीय पाक यात्राका लागि आमन्त्रण गरेको छ ।
काठमाडौँको भिडभाड सडकदेखि हिमालको शान्त फेद र तराइका समतल फाँटसम्म फैलिएको नेपालको समृद्ध पाक संकृतिलाई प्रवर्धन गर्ने जीवन्त स्वादहरूको एउटा सङ्ग्रहको रूपमा यो पुस्तक प्रकाशित भएको छ । यस पुस्तकमार्फत शेफ वैद्यले प्रसिद्ध नेपाली शास्त्रिय व्यञ्जन र विभिन्न जातीय समुदायमा लुकेर रहेका विभिन्न परिकारहरू र तिनीहरूको संस्कृति तथा ऐतिहासिक पक्षलाई सङ्गृहीत गरेका छन् । घरमा पकाउने र व्यावसायिक प्रयोजन दुवैका लागि नेपाली पाक संकृतिको सौन्दर्य र गहिराइको अनुभव गर्ने अवसर प्रदान गर्ने यस पुस्तकले नेपाली पाक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान गर्ने छ ।
शेफ वैद्यले संयुक्त राज्य अमेरिकाको ले कोर्डन ब्लु र ओरेगन कुलिनरी ईन्स्टिच्युट जस्ता प्रख्यात शैक्षिक संस्थाहरूमा दुई दशकभन्दा बढी समय आबद्ध भएर विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय संस्कृति र परिकारको विधामा शिक्षा तथा प्रशिक्षणको माध्यमबाट प्रेरणा दिई योगदान गरेका छन् । नेपाली पाक संस्कृतिप्रतिको आफ्नो गहिरो प्रेमलाई यस बृहत् पाक पुस्तक मार्फत विश्व मञ्चमा ल्याउन सफल भएपश्चात अब आफ्नो यात्राले पूर्णता पाएको महसुस भएको उनी बताउँछन् । नेपालमा जन्मेर अमेरिकालाई आफ्नो कर्मभूमि बनाएका लेखक वैद्यले आफ्नो जन्मभूमिमा योगदान गर्ने आफ्नो प्रतिबद्धता अनुरूप यस पुस्तकको बिक्रीबाट प्राप्त हुने आम्दानीको केही अंश नेपालमा महिला र बालबालिकाको शिक्षालाई सहयोगार्थ दान दिने घोषणा पनि गरेका छन् ।