• २०८३ जेष्ठ २९, शुक्रबार

हरिदेवी कोइरालाको ‘मायाको भूगोल’ सार्वजनिक

पोखरा ।

लोकगायिका तथा साहित्यकार हरिदेवी कोइरालाको कविता सङ्ग्रह ‘मायाको भूगोल’ पोखरामा लोकार्पण गरिएको छ । हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा साहित्यकारहरूको सामूहिक उपस्थितिमा कृति सार्वजनिक गरिएको हो । सोही अवसरमा साहित्यकार काजी रोशनलाई ‘हरिदेवी कोइराला साहित्य पुरस्कार–२०८२’ प्रदान गरी सम्मान गरिएको छ । कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोला, संरक्षक हरिदेवी कोइराला, संरक्षक रामबहादुर कोइराला तथा प्राज्ञ एवं बिम्बकवि रमेश श्रेष्ठले संयुक्त रूपमा काजी रोशनलाई २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो । बागलुङका रोशन पाँच दशकभन्दा बढी समयदेखि साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा सक्रिय छन् र उहाँका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

सम्मान ग्रहण गर्दै काजी रोशनले स्रष्टालाई जीवितै अवस्थामा सम्मान गर्नुपर्नेमा जोड दिँदै सम्मानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले प्राप्त पुरस्कार रकम हरिदेवी कोइरालाको नाममा बागलुङमै पुरस्कार स्थापना गर्न कोष खडा गर्ने घोषणा पनि गर्नुभयो । साथै उहाँले कोइरालालाई साहित्य, कला र संस्कृतिको “जीवित देवी” का रूपमा उल्लेख गर्नुभयो। कृतिकार हरिदेवी कोइरालाले आफू सानै उमेरदेखि साहित्यमा सक्रिय रहेको बताउँदै समाजका आमा, दिदीबहिनीले भोग्नुपरेका दुःख, कष्ट र वेदनालाई गीत तथा कवितामार्फत अभिव्यक्त गर्दै आएको बताउनुभयो ।

कृतिको समीक्षा गर्दै प्रा.डा. जगन्नाथ रेग्मीले कोइरालाका रचना सरल र मार्मिक रहेको टिप्पणी गर्नुभयो भने साहित्यकार असफल गौतमले लोकसाहित्य र संस्कृतिमा उहाँको योगदान उल्लेखनीय भए पनि राज्यबाट अपेक्षित सम्मान नपाएको बताउनुभयो । बिम्बकवि रमेश श्रेष्ठले काजी रोशनको साहित्यिक योगदान प्रशंसनीय रहेको बताउनुभयो भने गण्डकी प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले ‘मायाको भूगोल’ स्तरीय र पठनीय कृति भएको उल्लेख गर्नुभयो । प्रतिभा चयन समिति संयोजक लक्ष्मण थापाले पनि काजी रोशनको योगदान महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा लोकगायिका मनकुमारी थापा, शान्ति गुरुङ, साहित्यकार देवेन्द्र केसी, दुर्गाबहादुर शाह, भीम रानाभाट, हनिफ मियाँ, सुरज पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोह हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो । सदस्य कृष्णप्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव पदमराज ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।