• २०७९ असोज १६ आइतबार

दर्के झरी

रवीन्द्रभक्त श्रेष्ठ

रवीन्द्रभक्त श्रेष्ठ

यो चिसो स्याँठ पनि किन
लुरे ढाड खोजीखोजी बहन्छ
झरी पनि त्यै गरिब छानेर
उसकै छानामाथि बर्सन्छ
घरभित्रै आहाल बनाइदिन्छ
त्यै भ्वाङ परेको सिरकको आँखाबाट
चिसो चुलोको डिलमा
झरी आँसुको भल बगाइरहन्छ

दूधे बच्चा च्यापेर अडेस लाग्न
आमा कुनामा ओत खोजिरहिछन्
माथिको भगवानलाई पनि
गरिबको दुःख बादलले
छेक्यो कि क्याहो ?

हिजो अलिकति पिठो आजको लागि
उसले साचेकी थिई
छानोबाट सुटुक्क छिरेर
त्यै झरीले
अलिकति बचाएको पिठो
सुरुक्क निलिदिएपछि
बिचरा सुत्केरी भोकैछे
आफ्नै घरभित्र आहालमा बेहाल भैरहेछ
झरी एकनासले दर्केको दर्कैछ
राजमार्ग पहिरोले छेकेको छ रे
सहरको कलो बजारको म्याराथनको
सिँढी चड्दैछ रे
संसदमा पनि चर्काचर्की उच्लिँदैछ
रेडियो टेलिभिजन कराएकोकरायैछ
कतै पहिरोले गाउँ बगायो
मान्छे बेपत्ता भयो
लासको पहिचान भएन
सरकार चलाउनेहरू पहिरोमै
केलाउँदै छ रे सुनका सिक्काहरू
गाउँमा गरिब लुरेहरू बेघर छट्पटिँदैछ
चिसो झरीमा लाम्टा चुसाउँदै आमा
झरीकै ओत दिन बाध्य छ
दर्केको झरीसँगै
बगेको बेवारिसे लास
पहिरो ओडेर चुपचाप सुतिरहेकोछ
सहरमा आन्दोलन चर्कंदैछ
पसलपसलमा बजारभाउ
झरिसँगै भिजेरै छमछमी नाचिरहेछ
झरी, झन्झन् चर्किरहेछ झमझमी
देश पहिरोमा चिप्लिरहे छ
सरकार ठप्प छ
जनता छक्क छ
देश झरीमा……
अनवरत रुझिरहेछ !!

……………………………….
भर्जिनिया, अमेरिका ।
हाल अमेरिका निवासी श्रेष्ठ सिद्धहस्त स्रष्टा हुन्


ममताको मोती

जाने क्यों ?

समरसता को परब छट