• २०८१ श्रावाण ३ बिहीबार

पृथ्वीलोक

किशन पौडेल

किशन पौडेल

पृथ्वीलोक निवासी मान्छेहरूका बदलिँदो रूप र चरित्र देखेर ब्रह्माजी अचम्मित हुँदै थिए । ‘मैले मान्छे बनाउँदा यस्तो रूप र चरित्रको त कल्पना पनि गरेको थिइन् । कसरी यति धेरै कुरूप र विरूप भए मान्छेहरू ?” नारदजीलाई बोलाएर तुरुन्तै आदेश दिए ।

“हे, नारद ! भूलोक गएर एउटा यस्तो मान्छेलाई खोजेर लिएर आऊ जो स्वार्थी, बैगुनी, धूर्त, जाली, फटाहा,  कुटिल केहि नभएको होस । हस् प्रभु आज्ञा शिरोपर गर्दै नारदमुनि पृथ्वीलोक हानिए ।
चारैतिर चाहारे । हरिद्वार गए, वृन्दावन गए, पशुपति गए । अड्डा, अखडा, मन्त्रालय, न्यायालय सबैतिर धाए । जताततै धूर्त, चोर, फटाहा मात्र भेटे ।प्रत्येक मनुवाको मन, मुटु र नाडी छामे । सबै बैगुनी, स्वार्थी र कठोर मात्र देखे । एउटा पनि गुण भएको मान्छे भेट्न सकेनन् र निराश भएर पृथ्वीलोकबाट फर्किए ।

ब्रह्माजीले नारद मुनिलाई निराश देखेर सोधे
‘खै त नारद मान्छे ?’
‘कोही छैन प्रभु’ हजुरले बनाउनु भएको मान्छेमा त खोटै खोट मात्र रहेछ एउटै पनि गुण रहेन छ ।
नारद मुनिले पृथ्वीलोकबाट बोकेर लगेको मानव रुपी एउटा आकृति अगाडी सार्दै भने –
“ल लिनुस् यो यन्त्र मानव । मान्छेले बनाएको यो मान्छे भित्र ती बैगुनहरू छैनन्  प्रभु ।


किशन पौडेल, हेटौंडा