हिन्दी कविता

म मुस्कुराउँछु !
आधा हाँसो तिम्रै जस्तो लाग्छ
फुलाउँछु गर्विलो छाती !
गर्व, तिमी हौ जस्तो लाग्छ
सम्झिन खोज्छु अनुहार
अमूर्त छ तिम्रो तस्बिर !
कुन्नि को हौ तिमी
बेखबर छु
कल्पनामा हराउँछु कतिवेला
खहरेजस्तै मादकताको खोलो बग्छ
देख्दिनँ नजिकैका अनेकौँ बस्तीहरू
सारा दुनियाँ लत्याएर बगिदिन्छु,
मृत्यु आत्तिएलाजस्तै बहाव लिन्छु
कल्पनातीत गन्तव्य छ मेरो !
कुन्नि कुन आकाशगङ्गा हौ तिमी ?
हुल छुट्टिएर बरालिएको मौरीझैँ छ मन
बेचैनीको चरम शिखरबाट खसेको छु
फुटेको छ स्नेह र ममताको ज्वार
विशाल काय काँतर बनेको छ
सारा शब्दकोश तयार बनिसक्दा
जन्मिन नसकेको सुकोमल कविताझैँ
तिमी कुन गर्भमा लुकेकी छौ ?
क्षितिजभरिको सिँदुरे रङ टिपिसकेँ
ब्रह्माण्डजस्तै शून्य आकारका चुरा छन्
लालुपातेजस्तै सारी ल्याइसकेको छु
औँसीसँग कालो मागेर गाजल बनाएँ
ताराहरू उनेर बनाएको हारले
तिम्रो प्रतीक्षामा हार मानेपछि
मनको अग्निकुण्डमा मेरो प्रेमले हामफालेको छ ।
गलकोट, बागलुङ
[email protected]