कविता
काठमाडौँ ।
नेपाल प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसन, नेपालको संयुक्त आयोजनामा जेन दर्शन र नेपाली साहित्य विषयक एकदिवसीय विचार गोष्ठी सम्पन्न भएको छ । जरा फाउन्डेसन नेपालका अध्यक्ष कवि, कथाकार तथा निबन्धकार कृष्ण प्रसाईको अध्यक्षता तथा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा कक्षमा मंसिर ९ गते आयोजित उक्त गोष्ठीमा समालोचक महेश पौड्यालले ’जेन दर्शन र नेपाली कविताः आदिम सम्बन्ध र पुनर्जागरणको प्रश्न’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा उनले चीन, कोरिया तथा जापान हुँदै विश्वभर फैलिएको जेन, मूलतः नेपाली दर्शन भएको दावी गरे। उनले भने, जेन बुद्धकै दर्शनमा आधारित चिन्तन पद्धति भएको र बुद्ध आफैँमा नेपालको मौलिक चिन्तनबाटै प्रभावित भएको हुँदा जेन पूरापूर नेपाली दर्शन हो। उनले जेन प्रभावित साहित्यको दृष्टान्तमा कवि कृष्ण प्रसाईंका केही कविताको वाचन र चर्चा समेत गरे। कार्यपत्रमाथि टिप्पणी गर्दै समालोचक कुमारी लामाले जेन नेपाली दर्शन भएको कुरामा आफू पनि सहमत भएको बताइन्। यद्यपि उनले नेपालमा कविता मात्र होइन, अन्य विधामा पनि जेनको प्रभाव लामो समयदेखि परेको हुन सक्ने भन्दै अनुसन्धानलाई त्यसतर्फ पनि केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याइन् । अर्का टिप्पणीकार प्राध्यापक डाक्टर जीवलाल सापकोटाले थप दृष्टान्तहरूबाट जेनको सैद्धान्तिक पृष्ठभूमि, र साहित्यमा त्यसको प्रभावलाई अझ तर्कसङ्गत बनाउन सकिने जिकिर गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले जेनजस्ता मौलिक नेपाली दर्शनको अनुसन्धान र प्रवर्धनका लागि प्रतिष्ठान सदैव तत्पर रहेको बताए । लामो समयसम्म प्रतिष्ठानको प्राथमिकतामा नेपाली दर्शन नपर्नु विडम्बनाको कुरा हो भनेर पनि उनले आफ्नो मन्तव्य व्यक्त गरे। तर अब समय फेरिएको छ । हामी मौलिक दर्शनहरूको प्रवर्धनमा काम गर्ने छौँ। प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले पनि यस्ता मौलिक दर्शनमाथि गोष्ठी गर्न पाउँदा प्रतिष्ठान हर्षित भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष तथा जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईँले आफू कोरियामा रहँदा ताका को ऊनलगायत त्यहाँका प्रकाण्ड जेन मास्टरहरूको सङ्गतका कारण जेनतिर आकर्षित भएको बताए । उनले आफूलाई जेन उन्मुख बनाउन अुवादक तथा प्राध्यापक ब्रदर एन्थोनीले पनि प्रेरित गरेको बताए ।
कार्याक्रममा जरा फान्डेसनले वर्षेनी प्रदान गर्ने तीन वटा नयाँ पुरस्कारको पनि घोषणा गरियो । विशेष आवश्यकताको स्थितिमा रहेका नेपाली नागरिकका लाई रू ५० हजार राशिको ’जरा जीवन संधान सहयोग’ को घोषणा गरियो। यसरी नै कला, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुरÞ्याउने वा अदम्य साहसद्वारा मानवताका हितमा काम गर्ने व्यक्तित्वलाई रू १ लाख राशिको ’जरा विशिष्ट प्रतिभा अन्तर्राष्ट्रिय पुरस्कार’, तथा दीर्घकालसम्म कला, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुरÞ्याउने मुर्धन्य प्रतिभालाई १.५ लाख रूपैयाको ’जरा दीर्घ साधना अन्तर्राष्ट्रिय अलंकार’ प्रत्येक वर्ष मंसिरमा पर्ने जरा फाउन्डेसनको स्थापना दिवसको अवसर पारेर प्रदान गरिने घोषणा गरियो। स्मरण रहोस्, विगत वर्ष अर्घाखाँचीका ६३ वर्षीय ११ केजी तौल भएका कृष्णप्रसाद पौडेलज्यूलाई जरा फाउन्डेसनकै सक्रियतामा नेपाल सरकारसित समन्वय गरी रू दस लाख जीवन वृत्तिका लागि सहयोगस्वरूप प्रदान गरिएको थियो । आगामी माघ महिनामा काठमाडौँमा सम्पन्न गरिने निधो भएको जेन कविता प्रतियोगिताका लागि जेन कविहरूबाट कविता पनि आह्वान गरिएको छ ।
यस कार्यक्रमा कवि प्रज्ज्वल अधिकारीले जरा फाउन्डेसनको परिचय तथा कार्यविवरण प्रस्तुत गरेका थिए भने कवि असीम सागरले एउटा जेन कविता वाचन गरेका थिए। कार्यक्रमलाई कवि सिर्जना शर्माले सञ्चालन गरेकी थिइन् ।
