अनि हर्के ब्युँझियो - Aksharang
  • २०७९ श्रावाण २९ आइतबार

अनि हर्के ब्युँझियो

संसार नेपाली

संसार नेपाली

“हर्के ! .. ए हर्के ! ..उठ् !
मस्त सपना देखिरहेको हर्केलाई एकाबिहानै उसकी आमाले ब्युँझाइ दिइन् ।

मुख बिगार्दै हर्के ओछ्यानबाट उठ्यो । उठ्नासाथ जिउ तन्काउँदै लामो हाई गर्यो र बाहिर बार्दलीमा गयो । बिहानी घाम डाँडामाथि उदाइसकेको थियो । घामका पारिला किरणहरू घरको आँगन अघिसम्मै पोखिएका थिए । हर्के एकछिन बार्दलीमै उभिएर आँगन तिर नियाल्न थाल्यो । आँगनको तुलसीको मठ अगाडि उसका हजुरबा आफ्नो नियमित पुजाआजा गरिरहेका थिए । हजुरआमा पिँढीमा बसेर बत्ती कातिरहेकी थिइन् । अलिपर गोठमा उसका बा गाई दुहुँदै थिए ।

“टिन टिन.. टिन !“ हजुरबाले प्रार्थनाको घन्टी बजाए सङ्गै एक हुल भँगेराहरू भुरूर्र उडे र नजिकैको बेलौतीको रूखको हाँगामा गएर बसे । हर्के रमाइलो मान्दै ती भँगेराहरूलाई हेरिरह्यो । हाँगा माथि भँगेराहरू उफ्रिँदै गर्दा घामका किरणहरू पनि पातहरूमा हल्लिइरहेका देखिन्थे । मानौँ, भँगेराहरू कुनै गीत गाइरहेका र घामका किरणहरू तिनैका तालमा नाचिरहेका थिए । सो दृश्य देखेर हर्के खुब रोमान्चित बन्यो । उसले बार्दलीबाट सम्पूर्ण गाउँ नियाल्यो । आँखा अघिका सुन्दर, हरिया बालाहरू नअघाउन्जेल हेरिरह्यो । अनि दङ्ग पर्यो । आज धेरैपछि उसलाई यस्तो आनन्दको महसुस भइरहेको थियो ।

“ओइ हर्के !“ तलबाट आवाज आयो । हर्केले हेर्यो, उसका साथीहरू बल बोकी खेल्न जाँदै रहेछ्न् । उ बुर्लुक्क उफ्रिँदै काठको भर्याङ नाघेर तुरून्तै आँगनमा झर्यो अनि फटाफट आफ्ना सङ्गीहरूसित बाटो लाग्यो ।

साथीभाइ ख्याल ठट्टा गर्दै अघि बढिरहेका थिए । अचानक पछाडिबाट कसैले हर्केलाई ढाडमा हिर्कायो । उसले फर्किएर हेर्यो, तर कोही देखेन । फेरि कसैले हिर्कायो, ऊ पुनः फर्कियो । कान्छी रहिछ । उसकी प्राणप्यारी प्रेमिका, उसकी कान्छी, उतिरै हेर्दै हाँसिरहेकी थिई । हर्केलाई लाज लागेर आयो । तैपनि कान्छीका अघि निडरता देखाउन उसलाई खाउँलाझैँ गरी घुर्यो । कान्छीले धेरैबेर आँखा जुधाउन सकिन, उसले लजाउँदै आफ्ना नयनहरू झुकाई । हर्के पछाडि के फर्केको थियो, कान्छीले फेरि माटाको टुक्राले उसलाई हिर्काई । हर्के बम्कियो र कान्छीलाई लखेट्न थाल्यो । अघिअघि कान्छी खित्का छाडी हाँस्दै खोल्सातिर दौडिई । पछिपछि हर्के मुसुमुसु हाँस्दै उसलाई पछ्यायो ।

खोल्सा पुग्दासम्म हर्के थाकिसकेको थियो । ऊ एउटा ढुङ्गामा थचक्क बस्यो । भन्ज्याङको चिसो सिरेटो आई उसको शरीर स्पर्श गर्यो । हर्केले उद्देलित हुँदै आँखा चिम्लियो र आनन्दको लामो स्वास फेर्यो । लगत्तै उसका अनुहारमा पानीका चिसा छिटा परे । हर्के जुर्मुरिँदै उभियो र वरिपरि हेर्यो । तर उसले कान्छीलाई कतै देखेन । एकैछिनमा फेरि निधारमा पानीका छिटा परे । यसपटक भने हर्के ब्युँझियो । ऊ वास्तवमै ब्युँझियो ।

आँखा बिस्तारै उघार्दै गर्दा हर्केले देख्यो, उसका साथीहरू बडो चिन्तित भावमा उसैलाई हेरिरहेका थिए । कोही उसलाई समाती झक्झकाउँदै थिए त कोही उतिर पानी छम्किरहेका थिए । वरिपरिको तातो हावा आएर आफूलाई स्पर्श गरेपछि बल्ल हर्केले मेसो पायो, ऊ आफू काम गर्ने कम्पनीको कारखानामा लडिरहेको थियो । छिनभरमै एम्बुलेन्सको चर्को साइरेन सुनियो । हर्केले बल्लतल्ल आफ्ना ओठ खोल्यो तर एम्बुलेन्सको आवाजको अघि उसको स्वर सुनिएन । हर्केका साथीहरूले उसलाई बोकी एम्बुलेन्स भित्र हुले । एम्बुलेन्सको ढोका बन्द हुनासाथ हर्केले पनि आफ्ना आँखा चिम्लियो । साथीहरू बडो विक्षीप्त भइ रून, कराउन थाले । तर यता हर्केको मुहारमा भने बाक्लो मुस्कान छाएको थियो । अन्ततः ऊ आफ्नो गाउँ फर्कँदै जो थियो ।


संसार नेपाली
[email protected]