• २०८१ भाद्र २५ मङ्गलबार

कवितासङ्ग्रह ‘नदी र मुस्कान’ माथि परिचर्चा

कविद्वय सरिता थापा र सुस्मिता नेपालको कवितासङ्ग्रह “नदी र मुस्कान “को काठमाडौँमा परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि तुलसी दिवसले “कवितामा निजत्व हुनुपर्छ, कविता यसो लेख र उसो लेख भन्न जरुरी छैन । यी दुई दिदीबहिनीको लुगा एक भए पनि निजात्मक अनुभूति फरक शैलीले आएका छन् । यो नै कविको परिचय हो भन्ने वक्तव्य प्रस्तुत गर्नुभयो ।

कवि विधान आचार्यले नदी र मुस्कान टिप्पणी गर्दै भने– “यो एक संयुक्त सङ्ग्रह नभई दुई अलग पुस्तक एक साथ आएको हो । सरिताले नर्वेको चिसोलाई कविताको माध्यम बनाएकी छिन् भने सुस्मिताले यहीँको परिवेश, परिवार, समाजलाई कविताको माध्यमबाट भावना सार्वजनिक गरेकी छिन् । दुवैका कवितामा भाव गाम्भीर्य प्रचुर मात्रामा आएका छन् ।”

कवि समालोचक कुमारी लामाले कविताको एकएक केस्रा छोडाएर प्रस्तुत गरेपछि अर्का कवि भीष्म उप्रेतीले शुभकामना दिएका थिए । नेपाली काव्य क्षेत्रका विशिष्ट कवि तथा कृतिका परिवारभित्रका कवि मञ्जुलले दुवै कविताहरू राम्रा छन् अझ गम्भीर भएर लेख्न भन्दै अभिभावक भएर उपस्थित सबै अतिथिलाई सुस्मिता र सरिताको तर्फबाट धन्यवाद दिए ।

सङ्ग्रहबाट कवि रजनी ढकालले आफूलाई मनपरेका कविताहरू सुनाएकी थिइन् । सभापतिको आसनबाट साहित्यकार भागीरथी श्रेष्ठले भनिन्- “दुवैमा प्रतिभा प्रचुर मात्रामा छ । सानैमा सङ्घर्षरत हुँदादेखि म दुबैलाई चिन्दछु ।”