कविता
कवि, निबन्धकार तथा समसामयिक विषयका विश्लेषक बोधराज पौडेल आधुनिक नेपाली साहित्यमा सक्रिय र सिर्जनशील हस्तीका रूपमा परिचित हुनुहुन्छ । २०५३ सालदेखि निरन्तर लेखनयात्रामा संलग्न पौडेलका कृतिहरूले समाज, राजनीति, संस्कृति, ग्रामीण जीवन, प्रकृति, मानवीय संवेदना र समयका बिम्ब बोलेका छन् ।
साहित्यमा उहाँले मानवीय सम्वेदनशीलता र यथार्थवादको सन्तुलन कायम गर्दै ग्रामीण परिवेश, सामाजिक विसङ्गति तथा आत्म–अनुभूतिलाई कलात्मक शैलीमा प्रस्तुत पाइन्छ । उहाँका कृतिहरूमा- बगर र काँसहरू’ कविता सङ्ग्रह (२०७५) ‘सोकेसको ऐना’- निबन्ध सङ्ग्रह (२०७८) ‘धमिराको देवल’- निबन्ध सङ्ग्रह (२०८२) रहेका छन् । यी कृतिहरूले उहाँलाई आधुनिक नेपाली साहित्यमा नयाँ पुस्ताको प्रतिनिधिमुलक लेखकको रूपमा चिनाएका छन् । उहाँको लेखन- दृष्टि तथ्यपरक, समीक्षात्मक एवम् मानवीय संवेदनाले ओतप्रोत छ, जसले नेपाली साहित्यमा एक विशिष्ट पहिचान निर्माण गरेको छ । उहाँको साहित्ययात्रा र नयाँ निबन्धसंग्रहको सेरोफेरोमा रहेर रञ्जना निरौलाले गरेको स्रष्टा–संवाद यहाँ प्रस्तुत गरिएको छ ।
१ तपाईँ २०५३ सालदेखि निरन्तर लेखनमा सक्रिय हुनुहुन्छ । साहित्यमा प्रवेश गराउने प्रारम्भिक प्रेरणा र पारिवारिक/सामाजिक पृष्ठभूमिबारे बताइ दिनुुस् न ?
– हजुर । म साहित्यमा पारिवारिक प्रेरणाले नै लागेको हुँ । त्यो समय मलाई शब्दबारे ज्ञान थिएन जुन समय हजुरबुबाले वाचन गरेका देवी भागवत र रामायणकको स्वराङ्कन मिठो लाग्थ्यो । र, मलाई लाग्दथ्यो यो भाका म कहिले जान्न सकुँला । सादय मेरो साहित्य लेखनको प्रेरणा यही थियो । यतिबेला म भाका र लेखन गर्न सक्ने भएको छु तर दुर्भाग्य यो सबै सुन्नका लागि मेरोे हजुरबुबा हुनुहुन्न ।
२ लेखन यात्रा सुरु गर्दा तपाईँले आफूलाई कस्तो साहित्यकारको रूपमा कल्पना गर्नुभएको थियो-कवि, निबन्धकार कि समसामयिक विचारक ?
– अहो ! यी कुनै विषयको कल्पना थिएन । थियो के भने एउटा रचना कुनै पत्रिकामा फोटो सहित छापियोस् । जसलाई आमाले सानो बच्चालाई च्यापे जस्तै काखीमा च्यापेर हिँडिरहूँ र चाहेको बेलामा हेरेर आनन्द लिऊँ । यो भन्दा ठूलो चाहना थिएन । अहिले झण्डै पाँच हजार नाम र फोटो छापियो होला । तर, लेखन यात्रा उस्तै छ । फरक केही छ भने त्यो समय आफ्नै रहरले लेखिन्थ्यो, अहिले साथीभाइको मन राख्न र आफूलाई लेखिरहेको छु भन्नका लागि मात्र लेखिरहेको हुन्छु । तीन विषयमा छान्न गाह्रो छ तर सजिलो के छ भने कुन दृष्य कुन विषयमा लेख्दा बढी स्वादिलो हुन्छ, त्यो भने ख्याल गर्छु ।
३ समाज, राजनीति, संस्कृति, मानवीय संवेदना र ग्रामीण जीवन तपाईँको लेखनका मुख्य आधार बनेका छन् । यी विषयहरू तपाईँतर्फ किन विशेषरूपमा आकर्षित हुन्छन् ?
– हजुर । मैले लामो समय (२२ वर्ष) समाज सुधारको क्षेत्रमा काम गरे । जहाँ म दुखमा रोए, खुसीमा हाँसे । हरेक मानिसका मन मेरो मनसँग जोडिए । म उनीहरूबाट टाढा हुँदा म मात्र होइन मेरो मनपनि टाढा भयो । त्यो आत्मिय सद्भाव पनि उतै छोडियो । मेरो ग्रामिण जीवनको यो पाटो अमूल्य छ । अव समाजको केही कुरा गरौँ । यो समाज जसलाई हामी अशिक्षित भनेर हेयको दृष्टिले हेर्छौ । तर त्यहाँ विश्वविद्यालयका किताबमा नभएको ज्ञान छ । जहाँ मानवीय संवेदना मात्र होइन परोपकार र अपनत्व छ । अर्को तिर भन्ने हो भने प्राकृतिक सौन्दर्यको अथाहा ज्ञानले पाइलापाइलामा हामीलाई सिकाउछन् । हो, म यही कारण हो यो विषयमा लहसिएको ।
४ ग्रामीण परिवेश, मानवीय पीडा र सामाजिक रूपान्तरणका मुद्दाहरू प्रस्तुत गर्दा तपाईँले कुन प्रकारको दृष्टिकोण अपनाउनुहुन्छ-भावुक, तथ्यपरक कि आलोचनात्मक ?
– अहो ! तपाईंले भन्नु भएका यी तीनै विषयले त्यहाँ काम गर्दैन । त्यहाँ त समस्या के हो पहिला त्यो जान्न जरुरी हुन्छ । त्यसपछि समस्याको कारण । अनिमात्र तपाईंले भन्नु भएको विषयमा पुग्न सकिन्छ । यहाँ परिवेश अनुसार जितको सिद्धान्त अपनाउनु पर्छ । त्यसका लागि आफु सचेत भएर नजान्ने बन्नु पर्छ । उनीहरूका समस्या सुन्नु पर्छ र तपाईं कुन विन्दुमा यसको समाधान खोज्नु हुन्छ भनेर दुबै पक्षलाई रोजाउनु पर्छ । त्यहाँ हामी न्यायाधिशभन्दा बढी स्रोता भएर ताली पड्काउनु पर्छ । यसो गर्दा सामाजिक सद्भाव, आत्मीयता र मानवीय संवेदना तीनै कुरालाई बचाउन सकिन्छ । यहाँ बहकिएर भन्दा धर्यया कायम राख्नु बुद्धिमानी हुनेछ । र, अन्त्यमा तथ्यका आधारमा उनीहरूको कमजोरी देखाउनु पर्छ । जुन उनीहरूले पहिला नै स्वीकार गरेका हुन्छन् ।
५ आत्म–अनुभूति र सामाजिक यथार्थबीच सन्तुलन कसरी कायम गर्नुहुन्छ ?
– म शब्दभन्दा चित्रलाई देखाउँछु । जुन समुदायका सबैले सजिलै बुझ्छन् । (यो कहिलेकाहीँ दृष्टान्त पनि हुन सक्छ ।) म समुदायलाई नै बोल्न दिन्छु । र, नमिलेको विषयमा तपाईंले भन्नु भएको यो हो भनेर केही प्रश्न गर्छु । जसमा समुदायले हो वा होइनको जवाफ दिन्छन् । जव प्रश्न र उत्तरबारे सबै जानकारी हुन्छ तव सन्तुलन आफैं आएर निर्णायक बन्छ । यो अति रमाइलो हुन्छ ।
६ ‘बगर र काँसहरू’ (२०७५) कवितासङ्ग्रह, ‘सोकेसको ऐना’ (२०७८) निबन्धसङ्ग्रह र ‘धमिराको देवल’ (२०८२) निबन्धसङ्ग्रह- यी तीन कृतिहरूलाई हेर्दा तपाईँको निरन्तर प्रगतिशील लेखन–पथ देखिन्छ । यी कृतिहरूमध्ये कुन कृति तपाईँकोसबैभन्दा नजिक छ ?
– यो मेरा लागि गाह्रो प्रश्न हो । जुन औँलामा चोट लागेपनि दुख्ने उसैगरी हो । तपाईं कवितामा मलाई कठोर पाउन सक्नु हुन्छ, निबन्धमा दृष्टान्त । ‘सोकेसको ऐना’ले सामाजिक उत्तरदायित्व र हामीले निर्वाह गर्ने भूमिकाको बारेमा जानकारी दिन्छ । नैतिक दृष्टान्त, सुक्ति, प्रकृति, समस्यापूर्तिको खोज गर्ने हो भने ‘धमिराको देवल’ पढ्नु पर्छ । यो कृति पढ्ने धेरै समालोचक र समीक्षकले लेखकको तेस्रो आँखा खुलेको प्रमाण भन्नु भएको छ । यो उहाँहरूको दृष्टिविन्दु हो । मैले भन्दा यो मेरो अहिलेसम्मको अध्ययन र अनुभवको दस्तावेज मात्र हो ।
७ कविता, निबन्ध र समालोचनामा लेख्दा तपाईँलाई कस्तो फरक सिर्जनात्मक अनुभूति हुन्छ ?
– कवितामा बिम्बको खेल हुन्छ । हरेक कवितालाई घुमाउरो तरिकाले प्रस्तुत गर्न सकिन्छ । निबन्धमा दर्शन र वर्णनको चमत्कार चाहिन्छ । यहाँ सुक्तिको प्रयोग भएन भने त्यो अलिनो तरकारी बन्न पुग्छ । समालोचनामा थोरै कुरामा धेरै खोट देखाउन सकिन्छ । त्यो होचो देखाउनका लागि नभइ मार्गदर्शनका लागि हुनुपर्छ । यी सबै लेख्नका लागि शक्ति चाहिन्छ । त्यो शक्ति भनेको अन्तरज्ञान र विषयको गहिरो अध्ययन हो । विषय र प्रस्तुतिका हिसाबले केही विधागत भिन्नता त हुन्छ नै । तर, म के लेखिरहेको छु भन्ने स्पष्ट भएमा सबैमा बराबर शक्ति र सामथ्र्य हुन्छ ।
८ धमिराको देवल शीर्षक आफैँमा गहिरो रूपक छ । यो शीर्षक जन्मिनुको वास्तविक पृष्ठभूमिबारे बताउन सक्नुहुन्छ ?
– यो शीर्षकले हाम्रो जीवन चित्र बोल्छ । हाम्रो अहंकार बोल्छ । अझ भन्ने हो भने देशको अहिलेको अवस्था बोल्छ । हामी धमिरा जत्तिको ज्ञान भएका छैनौँ । यसको पछाडिको कारण के हो भनेर खोजी गर्नका लागि हामीलाई बाध्य बनाउँछ । आखिर धमिराहरू त विद्यालय जादैनन् । तर, उनीहरूको त्यो प्रचुर ज्ञान कहाँबाट आयो भनेर खोजी गर्न र जान्नका लागि यसले सहयोग गर्छ । अर्को कुरा भनेको धमिराको जीवन चक्र र मानवीय जीवन चक्रको तुलना गर्न यो निबन्धले सहयोग गर्छ ?
९ यस निबन्धसङ्ग्रहमा समेटिएका प्रमुख सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक प्रश्नहरू के–के हुन् ?
– तपाईंले भनेको सबै कुराको उत्तर यो अन्तर्वार्तामा अटाउन गाह्रो छ । यसमा मानवीय प्रवृति र प्रकृतिक दोहन मुख्य विषय छन् । ती कतै दर्शन, कतै वर्णन र कतै पात्र बनेर उधृत भएका छन् । यो सबै जान्नका लागि किताब नै एक पटक पढ्नु पर्छ । भाषागत रूपमा अलि जटिल भएका कारण दोहोर्याएर पढ्नु पर्छ । यो किताब साच्चै बौद्धिकता बृद्धिका लागि एउटा राम्रो खुराक हो । जहाँ तपाईंले देखेका तर अंगिकार नगरिएका विषयलाई मिहिन तरिकाले केलाउने प्रयत्न गरिएको छ । यहाँ मनोवैज्ञानिक चेत र अस्तित्वको लडाइँ पनि महत्वपूर्ण विषय बनेर आएका छन् ।
१० पुस्तक लेख्दै जाँदा सबैभन्दा चुनौतीपूर्ण अध्याय वा मनलाई छोएको घटना कुन थियो ?
– यो विषय अनुसार फरक हुन्छ । सोकेसको ऐनाको माइलाबा पात्रले अहिले १५ वर्षपछि भेट्दा पनि पुरानो विषयको स्मारण गराइरहनु हुन्छ । एउटा लेखकका लागि यो खुसीको विषय हो । यो निबन्ध धेरै भाषामा उल्था पनि भएको छ । धेरै हुन्छन् तर सबैलाई न्याय गर्न सकिन्न । लेखकको काम सकेसम्म सकारात्मक सन्देश प्रवाह गर्ने भएको हुनाले नराम्रा पात्रलाई म घुमाउरो तरिकाले उनीहरूको चाहना प्रस्तुत गर्छु तर पूर्ण सहमति जनाएर अगाडि देखाउन सक्दिन । धमिराको देवलमा धानु, हाकिम, चालक जस्ता धेरै घटना छन् ।
११ “धमिराको देवल” ले आजका पाठकमाझ कस्तो झट्का, चेतना वा आत्मपरीक्षण ल्याओस् भन्ने तपाईँको चाहना के हो ?
– मैले आफूले भोगेका कुरालाई काब्यिक र कलात्मक तरिकाले प्रस्तुत गरेको छु । त्यो विषय पाठकको आफ्नो जीवनमा भोगेको भए असर गर्छ । छैनभने त्यो उसका लागि फगत् विषय मात्र हो । यसो हुनाले पाठकीय चेतको बारेमा हामी लेखकले मुल्याङ्क गर्न सकिन्न । कसैलाई हामीले उठान गरेको विषय मन पर्छ कसैलाई दिग्दारी लाग्छ । यो पाठकको स्वभाव अनुसार फरक पर्छ । फेरि कथा भए पो प्रेमले भरिदिनु, निबन्धमा त आदर्श जीवनको परिकल्पना गरिएको हुन्छ । त्यो धेरैलाई बेकार लाग्छ । तर, यो किताब पढ्ने व्यक्तिले समय खेर फाले भनेर पछुताउनु भने पर्दैन ।
१२ तपाईँको लेखन संवेदनशील तर तथ्यपरक मानिन्छ । यस सन्तुलनलाई कसरी बचाइरहनुहुन्छ ?
– हजुर । तथ्यमा अडिनका लागि अध्ययन गर्नुपर्छ । कुनै विषय लेख्नुपूर्व त्यसको जडसम्म पुगियो भने पछि पश्चाताप गर्नुपर्दैन । म यो विषयमा सधैँ सचेत हुन्छु । अर्को कुरा म एउटै शीर्षकमा दुई फरक विषयको तुलना गर्छु । जसले पाठकलाई कुन राम्रो र कुन कमसल भनेर छुट्याउन सहयोग गर्छ । यो मेरो लेखकीय विशेषता पनि हो । जव यी विषयलाई केलाएर सफा पारिन्छ कनिका, फोहोर, कसिङ्ग त आफैँं बाहिर जान्छन् र रहन्छ त केवल राम्रा र सग्ला चामल मात्र ।
१३ नयाँ पुस्ताका पाठकलाई आकर्षित गर्ने भाषिक शैली वा कथ्यसूत्रमा तपाईँका के–कस्ता खोज–परिकल्पना छन् ?
– म हरेक ज्ञानलाई उसैगरी प्रयोग गर्छु । जसरी गुँड बनाउनका लागि चराले झिक्राको छनोट गर्छन् । मिलाएका झिक्राले सुन्दरतामा मात्र बढाउँदैन, गुणस्तरसमेत कायम गर्न सहयोग गर्छन् ।
१४ समकालीन नेपाली साहित्यमा आफ्नो पुस्ताले ल्याइरहेको नयाँ आवाज वा दृष्टिलाई तपाईँले कसरी परिभाषित गर्नुहुन्छ ?
– ७० को दशकपछि नेपाली साहित्य झाँगिदै गएको छ । यो फैलिएको मात्र होइन गुणस्तर पनि राम्रो हुँदै गएको छ । यसले नेपाली पाठकलाई कृति छान्ने मात्र नभइ लेखकलाई स्थापित गर्ने क्षमतासमेत बढ्दै गएको पाउछु । अर्थोपार्जनका लागि विदेशियका नेपाली पनि यहाँ आएर किताब प्रकाशन गरिरहेका छन् । यसको अर्थ आशा गर्ने धेरै ठाउँ छ ।
१५ सामाजिक विसङ्गति, rural crisis, सांस्कृतिक अवमूल्यनजस्ता विषयहरू तपाईँका लेखनमा बारम्बार आउँछन् । यी विषयहरूलाई कलामा रूपान्तरण गर्ने तपाईँको विधि कस्तो छ ?
– म लेख्दा त्यो विषयले समाज रूपान्तरणमा के योगदान गर्छ भनेर हेर्छु । तर तपाईंले भनेजस्तो सबैपक्षलाई लेख्न सकिन्न । एउटा चराले पुरा समुन्द्र पिउन नसके जस्तै एउटा लेखकले सबै विषयलाई लेख्न सक्दैन । मात्र प्रयास गर्ने हो । त्यो विषय पाठकले आफुलाई आवश्यकताको आधारमा ग्रहण गर्छन् । सबैलाई मनपर्ने विषय लेख्ने भन्दैमा सामाजिक स्थितिको उलङ्घन गर्न सकिन्न । किनभने त्यो हाम्रो प्राण हो ।
१६ आजको नेपाली राजनीति र सामाजिक संरचनामा देखिने परिवर्तनहरूले तपाईँको लेखनलाई कतिको प्रभावित गर्छन् ?
– पक्कै पार्छन् । म पनि यही समाजको एउटा अंश हुँ । तर, सधैं विधि स्थापनाका लागि बल गर्ने हो । कुरिति र अवैध नियतको संयमित बिरोध त जहाँ पनि हुन्छ नै ।
१७ साहित्यिक कार्यक्रम, कविता–वाचन, रेडियो र डिजिटल माध्यममा तपाईँले निरन्तर सामग्री उत्पादन गरिरहनुभएको छ । आधुनिक साहित्यमा यी माध्यमहरूको भूमिका कति महत्वपूर्ण छ भन्ने तपाईँको दृष्टि के हो ?
– मैले केही परिवर्तनका लागि र केही रमाइलोका लागि लेख्ने हो । यसले जे जसरी प्रभाव पारेपनि हुन्छ । बस, नकारात्मक प्रभावबाट भने सधैँ अछुतो हुनुपर्छ । म यो विषयमा सचेत छु ।
१८ साहित्यलाई सामाजिक चेतनामूलक माध्यमका रूपमा प्रयोग गर्ने तपाईँको अनुभव र उपलब्धिहरू कस्ता छन् ?
– हामीले जीवनमा भोगेका र भोलि आइपर्न सक्ने विषयले मलाई तान्छ । यही कारण हुन सक्छ मेरा रचनाले पाठकलाई आनन्दित पारेको पनि । अरुको अन्तज्ञानलाई कम आँकलन गर्नुभन्दा पहिले आफ्नो लेखमा कुनै कमजोरी छ कि भनेर खोज्ने मेरो बानी छ । यसले गर्दा मलाई के प्राप्ती भयो वा के हानी भनेर समीक्षा गर्नुपर्दैन । किनभने जव कुनै कुरा पाउने आशा नराखी काम गरिन्छ भने गुमाउने चिन्ता किन गर्नु ।
१९ आगामी दिनहरूमा तपाईँले कविता, निबन्ध वा समालोचनाका कुन क्षेत्रमा बढी तल्लीन भएर काम गर्न चाहनुहुन्छ ?
– अव म कविताको बाक्लो तुवाँलोबाट निबन्धको गहिरो खोँचमा फसिसकेको छु । सायद अवको लेखनमा निबन्धले नै आफ्नो अधिपत्य जमाउन सक्छ ।
२० नयाँ पुस्ताका सिर्जनाकर्मीहरूलाई तपाईँले दिन चाहने मुख्य सन्देश के हो ?
– जे लेख्नु हुन्छ, रमाएर लेख्नुहोस् । तपाईं रमाउनु भयो भने बुझ्नुहोस् कि पाठक आफैँ रमाउनु हुनेछ । तपाईं बल गरेर लेख्नु हुन्छ भने तपाईंको रचना पढ्न पाठकले पनि बल लगाउनु पर्ने छ ।
२१ तपाईँका दृष्टिमा साहित्यले समाजलाई वास्तवमै बदल्न सक्छ ? कि कम्तीमा प्रश्न सोध्न सक्ने साहस दिलाउन सक्छ ?
– यो एउटा बाटो हो । तर, तपाईंले सचेतनापूर्वक हिँड्न जरुरी छ । सडकमा दिएको पहेँलो धर्को भन्दा बाहिर गाडी गुडाउनु भयो भने अवस्य तपाईं दुर्घटनामा पर्ने निश्चित छ । यसो हुनाले यो सचेतनाको विषय हो । कसरी उपयोग गर्नु हुन्छ । तपाईंमा भर पर्छ । प्रश्न त जसले पनि गर्छ । मुख्य कुरा के हो भने तपाईंको प्रश्नलाई ध्यानपूर्वक सुनिदिने व्यक्ति कति थिए ? अलिकति इतिहासलाई हेर्नु भयो भने साहित्यले धेरै ठुला परिवर्तनमा योगदान दिएको विषयलाई नर्कान सकिन्न । तपाईंले प्रश्न सोधेर मेरा विचार प्रस्तुत हुने मौका प्रदान गर्नुभयो । त्यसका लागि ह्दयत नमन ।