• २०८२ मंसिर ५, शुक्रबार

भूपिनको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ सार्वजनिक

चितवन ।

प्रसिद्ध कवि, उपन्यासकार एवं निबन्धकार भूपिनको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ सार्वजनिक भएको छ । अक्षर समूह चितवनले शनिबार गैँडाकोटमा आयोजना गरेको कृति लोकार्पण उत्सव कार्यक्रममा कृति सार्वजनिक गरिएको हो । गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, समालोचक डाक्टर एकनारायण पौड्याल, रोशन शेरचन, निमेष निखिल र सामना पहाडले संयुक्त रूपमा कृति विमोचन गरेका हुन् । सङ्ग्रहमा चिन्तन, सम्झना र पर्यावरण÷यात्रा गरी तीन खण्डमा २० निबन्धहरू समेटिएका छन् ।

लेखनशैली र विचारमा भूपिन अघिल्लो पुस्तकमा भन्दा बलियो बन्दै गएको पुस्तक पढ्दा पुष्टि हुने समीक्षक डाक्टर एकनारायण पौड्यालले बताए । उनले निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ सचेतरुपमा लेखिएको बताउँदै भने, ‘भूपिन जे काम गर्नुहुन्छ । अरुभन्दा फरक ढंगले गर्नुहुन्छ । उहाँले यस कृतिमा विषयमा विविधता दिनुभएको छ । विवरणात्मक, आख्यात्मक, सम्बोधन, तार्किक र वैचारिक शैली निबन्धहरूमा प्रयोग गर्नुभएको छ ।’ अहिले सूचना प्रविधि र सामाजिक सञ्जालको युग नभएको भए भूपिनका यी खाले निबन्ध पाठकका माझमा नआउने पनि पौड्यालले बताए ।

भूपिनका निबन्धमा पाठकले आफ्नै अनुभूति महसुस गर्ने अर्की समीक्षक सामना पहाडले बताइन् । नारी अस्मिता र आमालाई निबन्धमा सम्मान गरिएको उनले बताइन् । लैङ्गिक र समावेशीताको कोणबाट यो सङ्ग्रह उत्कृष्ट रहेको सामनाले सुनाइन् । प्राध्यापक निमेष निखिलले निबन्ध सङ्ग्रहलाई ‘दार्शनिक परिपक्कताको दस्तावेज हो’ भन्दै जीवन, चेतना र ज्ञानको उज्यालो लेखकले खोजेको बताए । समालोचक निखिलले पुस्तकमा बौद्धिक चेतनाको सम्पूर्ण नक्सा देखिएको विचार राखे । कृति ‘मध्यको उज्यालो’ले आधुनिक नेपाली निबन्धलाई नयाँ उज्यालो दिएको उनले दाबी गरे । उनले भने, ‘निबन्धमा झिनामसिना कुराबाट जीवनका सत्यहरू जोड्ने काम भूपिनले गरेका छन् । प्रकृति, यात्रा र मानव अस्तित्वको चित्रण निबन्धहरूमा पाइन्छ ।’

अर्का वक्ता रोशन शेरचनले भूपिनको निबन्ध सङ्ग्रहमा पर्यावरणप्रतिको प्रेम रहेको बताउँदै उनी दर्शन र बौद्धिकतामा बहस निम्त्याउन सक्ने लेखक भएको बताए । उनले भने, ‘पुस्तकमा आत्मपरक निबन्धको बेजोड प्रस्तुति रहेको छ । उनी पुरातन र अतिवादी सोचको विपक्षमा छन् । उनका पर्यावरणसम्बन्धी निबन्धमा भय र उत्सुकताको मिश्रण पाइन्छ ।’ उनले भूपिनले निबन्धमा एआईको जोखिमबारे सचेत रहनुपर्छ भन्ने सन्देश दिन खोजेको विचार राखे । उनले भने, ‘भूपिन कला, संगीत र सिनेमालाई बुझ्न चाहने लेखक हुन् । कलातिर उनको झुकाव देखिन्छ । उनी करुण, प्रेम र अहिंसाको हिमायती छन् ।’

निबन्धकार भूपिनले आफूले यो कृति पूर्णतया इमान्दार भएर लेखेको बताए । ‘यो मेरो वैचारिक प्रस्ताव हो । सबै पाठक मेरो विचारसँग सहमत हुनुपर्छ भन्ने छैन’, उनले भने । कार्यक्रममा समालोचकले उठाएका विषयको सम्बोधन गर्दै उनले आफूले निबन्धमा वैचारिक विविधता दिने प्रयास गरेको बताए । ‘पुस्तकमा म भावुक देखिए पनि जीवनप्रति भने अत्यन्तै आशावादी छु’, भूपिनले भने । कार्यक्रममा उदय अधिकारीले स्वागत मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा भूपिन वैचारिकरूपले साहित्यलाई बहसमा ल्याउने व्यक्ति भएको अधिकारीले बताए ।

बुकहिलबाट ‘डिलक्स संस्करण’मा प्रकाशित ‘मध्यको उज्यालो’ भूपिनको सातौँ किताब हो । प्रकाशक बुकहिलका प्रमुख भुपेन्द्र खड्काले निबन्धका थिमअनुसार पुस्तकको लेआउट/डिजाइन, चित्र र मुद्रणसज्जा गरी डिलक्स संस्करणको रूपमा यो कृतिको लोकार्पण देशको मध्य भागमा आएर गरिएको बताए । कार्यक्रमको समापनपछि पाठकहरूले आफूले संकलन गरेको किताबमा लेखकको हस्ताक्षर लिँदै अन्तक्र्रिया गरेका थिए ।