ग्वंगः सिरपाः सम्मान २०८० बाट नेपाली साहित्यका वरिष्ठ निबन्धकारहरू प्रा. डा. अभि सुवेदी तथा प्रा. डा. गोविन्दराज भट्टराई सम्मानित भएका छन् ।
साहित्यिक सम्मान सङ्गमको आयोजनामा ग्वंगस्सिरपास्सम्मान २०८० का संयोजक श्रीओम श्रेष्ठुरोदनुको सभापतित्व तथा सङ्गमका संरक्षक वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगस्को प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा प्रा. डा. अभि सुवेदी तथा प्रा. डा गोविन्दराज भट्टराईलाई संरक्षक ग्वंगस्ले भादगाउँले टोपी तथा सयपत्री फूलको माला लगाएर सम्मानपत्र सहित रू ५०, ००५ को नगद थैली समेत प्रदान गरेका थिए ।
भक्तपुरको सूर्यविनायक मार्गस्थित थापा पार्टि प्यालेसमा भएको सो समारोहमा संरक्षक तेजेश्वरबाबु ग्वंगस्ले दुई जना वरिष्ठ निबन्धकारहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । आफू महाकवि लक्ष्मी प्रसाद देवकोटाको चेलो भएको र महाकविसँग ट्युसन पढ्न जाने गरेको कुरा स्मरण गर्दै उदार हृदय भएका देवकोटाको व्यक्तित्व तथा व्यवहारबाट प्रभावित भई आफूले पनि निबन्ध लेख्न थालेको प्रसङ्ग उल्लेख गरेका थिए ।
सम्मानित व्यक्तित्वहरू अभि सुवेदी तथा गोविन्दराज भट्टराईले आफ्नो लेखनी यात्राको चर्चा गर्दै आफूहरू कार्यरत त्रिभुवन विश्वविद्यालयको पुराना प्रसङ्गहरूको संस्मरण गरेका थिए भने सोही प्रसङ्गमाथि लेखिएको निबन्धबारे प्रकाश पारेका थिए । सम्मानित व्यक्तित्वहरूको लेखनीका विविध पाटोमध्ये निबन्धकै बारेमा बढी चर्चा गर्दै वरिष्ठ समालोचक प्रा।डा लक्ष्मणप्रसाद गौतमले दुबै स्रष्टाका निबन्धहरूका बारेमा समीक्षात्मक टिप्पणी गरेका थिए ।
साहित्यिक सम्मान सङ्गमका सदस्य वरिष्ठ कथाकार ध्रुव मधिकर्मीले आफ्नो स्वागत मन्तव्यमा सङ्गमको स्थापनाकालदेखि हालसम्मको कृयाकलापका बारेमा प्रकाश पारेका थिए भने सभापतिको आसनबाट वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठुरोदनुले कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको सम्मानबाट साहित्यिक सम्मान सङ्गम स्वयम् सम्मानित भएको बताए ।
समारोहमा वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन मतिना त्वाना वासुले गरेकी थिइन् ।