बिहानीमा हिमाल देखें तराई र पहाड देखें
दिल खोलेर मनै भरी मेरो देश नेपाल लेखे ।
धेरै भाषा संस्कृति छन अनेक रीतिरिवाज छन
बिबिधमा एकताको माला उनि बसेका छन ।
सखिया र कौडा नाचे साकेला र डेउडा नाचें
दिल खोलेर मनै भरी मेरो देश नेपाल लेखें ।
प्रकृतिको उपहार हो अनुपम भूमि मेरो
चौरी चर्ने बाघ डुल्ने अदभूत ठाउ मेरो ।
हात्ती देखे गैडा देखे डाफे, मुनाल, मैना देखें
दिल खोलेर मनै भरी मेरो देश नेपाल लेखें ।
देवभूमी पवित्र यो हजारौं छन तीर्थ यहाँ
ऋषि, देउता, यक्ष, किन्नर, क्रिडा गर्छन जहाँ ।
परशुराम,राम सम्झे, बुद्ध सिता जनक सम्झें
दिल खोलेर मनै भरी मेरो देश नेपाल लेखें ।
सगरमाथा शिरको ताज, प्रकृतिको धनी
मेचि काली जुटेका छन एकै मन बनी ।
गण्डकी र कोशी देखें कर्णाली र काली देखें
दिल खोलेर मनै भरी मेरो देश नेपाल लेखें ।
बिहानीमा हिमाल देखे तराई र पहाड देखें
दिल खोलेर मनै भरी मेरो देश नेपाल लेखें ।
कैलासकुमार पाण्डेय
परशुराम १२ उनरुवा, डडेल्धुरा