• २०८२ माघ ११, आईतवार

डा. नरिराम लुहार ‘विनोद’ नेपाल लेखक पुरस्कार २०२५ बाट सम्मानित

काठमाडौँ ।

नेपाली साहित्य र आध्यात्मिक चिन्तनको क्षेत्रमा सक्रिय डा. नरिराम लुहार ‘विनोद’ प्रतिष्ठित नेपाल लेखक पुरस्कार २०२५ बाट सम्मानित हुनुभएको छ । शनिबार काठमाडौंमा इन्फिनिटी सर्भिसेज प्रालि द्वारा भव्य रूपमा आयोजित कार्यक्रममा नेपाल र भारतका ४० जना उत्कृष्ट लेखकहरूलाई २० भन्दा बढी विधामा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि श्री ब्रह्मानन्द र प्रा. जितेन्द्र धोज खाँड रहनुभएको थियो भने, विशेष अतिथिहरूमा मदन कृष्ण श्रेष्ठ, प्रकाश सायमी, चन्द्रनी जोशी, कर्ण शाक्य, जर्नेल गौरव शम्शेर जे.बी. राणा, डा. प्रकाश रेग्मी लगायतका प्रतिष्ठित राजनीतिक, साहित्यिक तथा सांस्कृतिक व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई गौरवमय बनाएको थियो । सांस्कृतिक आकर्षणका रूपमा विभिन्न नृत्य तथा कलात्मक प्रस्तुति समेत गरिएको थियो ।

डा. लुहारको कृति ‘नेपालका प्रमुख १० धर्महरूको संक्षिप्त परिचय’ धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सशक्त सन्देश बोकेको उत्कृष्ट ग्रन्थ मानिन्छ। उनका लेखनहरूले नेपाली समाजमा सकारात्मक सोच, आध्यात्मिक चेतना र नैतिक मूल्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएका छन्।

साहित्यिक यात्रामा डा. लुहारले हालसम्म २७ वटा पुस्तकहरू प्रकाशन गर्नुभएको छ, जसले नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि प्रशंसा प्राप्त गरेको छ । सम्मान प्राप्त गरेपछि उहाँले भन्नुभयो- “यो पुरस्कारले मलाई अझ सशक्त रूपमा साहित्य, आध्यात्मिकता र समाज सेवामा समर्पित रहन नयाँ प्रेरणा दिएको छ।”