• २०८१ मंसिर २९ शनिवार

योगी र राष्ट्रप्रेम

युवराज नयाँघरे

युवराज नयाँघरे

देखिनु, भेटिनु र सुनिनु सबै अलग कुरा हुन् । कतिपय व्यक्तिका बारेमा अर्कै देखिन्छ– जसका बारेमा अलग्गै सुनिएको हुन्छ । ती भेटिनुभन्दा अझ फरक रूपमा सुनिइरहेका हुन्छन् ।
योगी मेरा लागि त्यस्तै भए ।
ज्ञान, चेतना, अध्ययन र निष्ठाले गर्दा योगी नरहरिनाथ नेपाली समाजका निम्ति एउटा अथाह प्राज्ञिक व्यक्तित्व हुन् । सधैँ खोज, मीमांसा र विवेचना गरी नेपाली समाजको गर्वलाई थप गौरवान्वित तुल्याउने योगीलाई हामीले समयमा चिनेनौँ । अथवा चिन्ने प्रयास गरेनौँ वा चिनिसक्दा ढिला भइसकेथ्यो ।
योगी नाम र कामले पूर्णतः भिन्न । उनको सोच र लगाव सधैँ अलग र फरक हुनगयो । तपस्याको छेउबाट जीवनको मार्ग डो¥याउने योगीले सधैँ राष्ट्रप्रेमलाई आफ्नो लक्ष्य र सपना बनाए ।
योगी नरहरिनाथ नेपालका थोरै सन्त पुरुषमा स्थापित छन् । उनले सधैँ देशलाई आफ्नो कर्म, व्यवहार र दृष्टिमा उभ्याए । आफ्ना काम र व्यवहारमा राष्ट्रप्रेमको गहकिलो कल्पनाले योगीको सिङ्गो जीवन यात्रारत भएको अनुभूत हुन्छ ।
योगीले सधैँ हिन्दु धर्म, हिमाली संस्कृति, प्राचीन खस सम्पदा, नेपाल जननीको आराधनामै जीवन खर्चेको ज्ञात हुन्छ । देश र देशीय चेतनाको गर्वमा उनको निष्ठाले सधैँ आरोहण गरिरह्यो । आफ्नो प्रज्ञावान कर्मसँग योगीले राष्ट्रसेवा पनि गरे– त्यो अथाह छ, अमूल्य छ र अगम छ ।
झापाको कन्काई तीरमा कोटिहोम लगाउने क्रममा योगीले जुन धाराप्रवाह पुराणवाचन र आफ्नो आध्यात्मिक चेतना प्रवाह गरे, म त्यसबाट प्रभावित भएको थिएँ । उनको हिमाली संस्कृति र सम्पदासँगै धर्मले समाजलाई डो¥याएको गहन पाटोमा सूक्ष्म अध्ययन थियो, विचरण थियो, हेराइ थियो ।
कन्काईमा उनले प्रारम्भ गरेको कोटिहोमले देशैभरि स्थापना पायो । उनले थालनी गरेको कामलाई पछि हिन्दु अनुयायीहरूले जगाउने, उत्प्रेरित गर्ने र व्यवस्थित गर्ने काममा तीव्रता ल्याए ।
योगीसँग मेरो सशरीर त्यहीँ भेट भएथ्यो ।
त्यसको केहीपछि काठमाडौँको सेरोफेरोमा उनीसँग भेटघाट हुने अवसर मिल्यो । यो मैले पाएको थप ज्ञान र अध्यात्मको सङ्गम थियो ।
पाशुपत क्षेत्रको वनकाली, मृगस्थली, गौरीघाट, गुह्येश्वरी, पिङ्गलास्थानतिर योगी प्रायः भेटिन्थे । अझ जयवागेश्वरी, मित्रपार्क, गौशालातिरका मन्दिरतिर उनका हातमा ठूला–मोटा पुस्तक र एउटा धोक्रे कपडाको झोलासँग उनी टुप्लुकिन्थे ।
म जयवागेश्वरी बस्ने हुनाले योगीलाई कतिचोटि मृगस्थलीतिर अध्ययन, चिन्तन गरिरहेको पनि देखेको थिएँ ।
‘मैले कन्काईमा हजुरलाई भेटेको थिएँ ।’
उनलाई पुरानो कुरो सम्झाएको थिएँ । उनले मुन्टो हल्लाएर सम्झे । उनको अनुहारको तेजस्विता मनसम्म पुगेको थियो । त्यही तेजिलो खुराकले नेपालको जातजातिबीचको गहिरो नाता, धर्मभित्रको उदारता, हिमालसँग गाँसिएको चहक र वनस्पतिको गुणकारितालाई चिन्न, बुझ्न र थाहा पाउन सक्षम भयो ।

योगीका हस्ताक्षर ज्यादै राम्रा थिए । छापा जस्तै थिए– उनका हस्ताक्षर । मैले एकपटक मृगस्थलीबाट उनका हस्ताक्षरसहितको केही पाना ल्याएको थिएँ– फोटोकपी गरेर । ती केही पाना अद्यापि मेरा सङ्ग्रहमा रहेका छन् ।
नेपालीहरूसँग एउटै गुनासो सुनिन्थ्यो योगीको– सनातन परम्परा र संस्कृति छोडेर किन नरक जान लागेको ?
उनको यो प्रश्न मात्र थिएन । यो प्रश्नभित्र धेरै तथ्यको क्रमसङ्ख्या थियो । उनले यो जिज्ञासा मात्र राखेका थिएनन् । यो जिज्ञासाभित्र धेरै प्रामाणिकता र तथ्यको तह थियो ।
समाजमा योगीबारे कतिपय अनावश्यक भ्रमहरू छरिएको थियो ।
राजनैतिक वृत्तमा योगीलाई ‘आफ्नो धार छोडेको’ भन्ने गनगनले फँणा उचाली–उचाली ठुङ्न छोडेको थिएन । तर उनी धर्मले गर्ने कर्मभित्र राजनीति, सामाजिक, आर्थिक र सांस्कृतिक निफननाफन हुने कुरामा अडिग देखिन्थे ।
सायद यसकै प्रतिफल उनी २०१७ सालमा पनि जेल परे । निहुँ त राजनीति नै हो । तर उनको प्राज्ञिक चरित्रमा कमी कत्ति पनि भएको देखिएन ।
नेपाली समाजमा सामाजिक ज्ञानको ठेली सर्वत्र भेटिन्छ । त्यो कुराको चुरो योगीले नै पत्तो पाएथे । यसैले उनी धेरै थर, गोत्र, प्रवरको चिन्तनका लागि सधैँ अपहत्ते गर्थे । थुप्रै जातजातिका वंशावली सङ्कलन गर्दै तीभित्र अन्तर्निहित सबै पक्षको गहन अध्ययनमा उनले रुचि देखाएको तथ्य छ ।
योगीसँग धेरै जातजातिको वंशावली लेखन सामग्री र चिनाटिपनसम्म रहेको जनश्रुति रहेको छ । उनका आश्रमतिर भोजपत्र, ताडपत्र, शिलालेख, ताम्रपत्र र पुराना नेपाली कागजमा लेखिएका वंशावलीको डङ्गुर रहेको तथ्य धेरैले देखेको अद्यापि सुनिन्छ ।
२०४२ को आसपासतिर म पाशुपत क्षेत्रको विद्यार्थी भएँ । देहपत्तनमा मेरा धेरै चिनारु, आफन्त र स्वजनहरू बस्थे । तिनसँगको भेट वा वार्तालापसँगै अध्यात्मयुक्त साङ्गीतिक हृदयस्पर्शी धुनले एउटा बेग्लै आनन्द र हर्ष उमाथ्र्यो । अझ पशुपति वरपर डाक्टर स्वामी प्रपन्नाचार्य, खेमराज केशवशरण, योगी नरहरिनाथ, डाक्टर गोविन्द टण्डन जस्ता विद्वतजन्हरूसँग भेटिने, देखिने र तिनका कुरा सुन्न पाइने एउटा छुट्टै अवसरले म पुलकित भइरहन्थेँ ।
योगीले हिमाली, पहाडी र तराईका सबै पीठ, मठ, आश्रम, धर्मशाला, गुठी, देवालय, मन्दिर, गौशालाहरूको अध्ययन गरेथे । ती घुमाइ र पुगाइमा उनले व्यक्तिको अभिरुचिलाई प्राथमिकता दिए । राज्य वा संस्थाको स्रोत र साधन प्रयोग गरेको पाइएन ।
मैले जुम्ला, सुर्खेत, दोलखा, धनकुटा, बर्दिया वा ललितपुरका कतिपय दुर्गम भू–भाग घुम्दा धेरै वृद्धवृद्धाले आफ्नो घरमा आएर धेरै खोजीनीति गरेको जोगीको इतिहास सुनाएका छन् । उनीहरूको एउटै जसो मत छ– ‘जोगीले समाजको उज्यालो केले छोपिएको रहेछ भनेर चहकिलो पार्न खोजे हाम्रा घरमा पसी ।’
योगीसँग एकखालको विद्रोह चेत पनि थियो । उनले सधैँ समाजमा रहेको रुढिग्रस्त सोच र भावनाको शल्यक्रिया गर्न खोजेका थिए । धर्मसँग मेल नखाने व्यवहार र चरित्रलाई उनले उछितो काढेको देखिन्छ ।
मृगस्थलीमा योगीको आश्रम थियो । किराँतेश्वरतिर बरालिन जाँदा मैले योगीको कुटी देखेँ । उनी ठूला–ठूला कुण्डलमा बडो सुशोभित देखिन्थे ।
एउटा कालो फ्रेमको ऐना हेर्दै उनले शिरको फेटा मिलाउँदै केही भट्याइरहेको मैले सुनेँ । तिनीसामु अघिल्लो हप्ता वनकालीको कवि गोष्ठीमा भेटेको कुरा सुनाएँ । उनलाई राम्रै ख्याल रहेछ । उनी स्मृतिमा साह्रै खग्गु थिए ।
‘बाटो बिराउँदैछन् ।’
उनले नयाँ पुस्ताका हात–हातमा बाइबल देखेर उनी विस्मयी र दुःखी भएका लाग्थे ।
खास गरी २०४६ सालपछि उनी अझै त्रूmद्ध र आलोचक हुनपुगे । उनले कठोर शैलीमा राजनीति र देशको शासनसत्ताको कटाक्ष गरिरहे । उनी यस लायक थिए पनि । योगीको प्राज्ञिक अध्ययन बराबर त्यो वेला अरू पुड्का, निर्बल र अल्पज्ञ लाग्थे । उनीसँग पूर्वीय सभ्यताको विशद् ज्ञान रहेको अनुभव जोसुकैले गर्ने गथ्र्यो ।
मानिसहरू भन्थे कोटिहोम र लक्ष्यहोम गरेर योगीले समाजको अन्तर्वस्तु छाम्ने चेष्टा गरेका छन् ।
एक टक विमर्श साप्ताहिकमा उनले दिएको अन्तर्वार्ता ज्यादै विवादास्पद भयो । उनी कडा, प्रखर तीव्र चेतनाका भावधारामा विचारहरू राख्थे । त्यै भएर पनि उनका दृष्टिले समयमा तरङ्ग ल्याउँथ्यो ।
उनले धर्म, संस्कृति औषधी, हिन्दू दर्शन र हरेक सभ्यताबारे निरन्तर कलम चलाए । यी सबैभित्र नेपाल, नेपाली र नेपालीपनको आत्मा सलबलाएको पाइन्छ । उनले सधैँ नै नेपाललाई अन्तर्मनमा राखेर आफ्नो योगी जीवनको समाधिमा उभ्याए आपूmलाई समेत ।
उनी नझुक्ने तर जित्ने, जित्ने तर नहट्ने प्राज्ञिक चेतनाले आलोकित थिए ।
देशलाई केन्द्रमा राखेर उनले लेखे, बोले र सोचे । देश नै उनको सोच, सिर्जना र सङ्गठन बन्नपुग्यो । करिब छ सय किताबले नेपालको महिमा, नेपालीको गौरव र नेपालीपनको ऊर्जाको वृत्तान्त कहेका छन् ।
आपूm ‘देशको एउटा सिपाही हूँ’ भन्ने गहिरो राष्ट्रप्रेमको भावनामा डुबुल्की मारेका योगीले कालिकोटको लालुगाउँमा आँखा खोले पनि मृगस्थलीमा उनले शरीर बिसाए ।
८२ वर्षको जीवनयात्रामा आँखा, कान, बोली र हृदयको कम्पनमा नेपालको पक्षमा मनन गर्न उनी थाकेनन् । जोसुकैलाई भेट्दा पनि पुराण, वेद, गीता र महाभारत भनेका नेपाली समाजका लोकप्रचलन, गीत, बालुन, देउडा र झाम्रेभित्र भेटिन्छ । तिनलाई जगेर्ना गरौँ । अनि मात्र पुज्न पाइन्छ भन्ने राष्ट्रिय चेतना भेटिन्थ्यो उनमा ।
योगीसँग एउटा आधुनिक तर सुखद ज्ञान मनग्य थियो । त्यो ज्ञानमाथि धेरै नेपाली कुदेनन् । जतिले कुदे तिनले बिछट्टै आनन्द र हर्ष प्राप्त गरेँ ।