• २०८० मंसिर १३ बुधबार

नेपाली बालसाहित्यको अध्ययन परम्परा विषयक विचार गोष्ठी सम्पन्न

काठमाडौँ ।

नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा नेपाली बालसाहित्यको अध्ययन परम्पराु विषयक विचार गोष्ठी भएको थियो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ विमल निभाले सो कार्यक्रमको समूद्घाटन गर्नुभएको थियो । यस अवसरमा उपकुलपति श्रेष्ठले बालसाहित्य साहित्यको आधारस्तम्भ भएकाले सुव्यवस्थित ढङ्गले लेखन र पठनपाठन हुनुपर्नेमा जोड दिनुभएको थियो ।

यस कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले सीमित स्रोत र साधनबिच पनि विभिन्न संस्थासँग मिलेर प्रतिष्ठान रचनात्मक काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो । उक्त कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपालले सो विचारपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमा नेपाली बालसाहित्यको अध्ययन परम्पराअन्तर्गत अभिलेखिकरणको कार्य थालिएदेखि इतिहास र समालोचना लेखन, कलेज र विश्वविद्यालयमा अध्यापन र अनुसन्धान कार्य, बालसाहित्यमा विद्यावारिधिको थालनी लगायतका विषय समेटिएका थिए ।

डा. नेपालले बालसाहित्यको अध्ययन परम्परामाथि अझ गहनरूपमा काम गर्नुपर्ने आवश्यकता विचारपत्र लेखनका क्रममा आफूलाई लागेको बताउँदै त्यसका लागि सहकार्य गर्न सकिने धारणा राख्नुभएको थियोे । उक्त पत्रमाथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी र बालसाहित्यकार डा. छायादत्त न्यौपानेले टिप्पणी गर्नुभएको थियो । टिप्पणीकार द्वयले विचारपत्रमा कतिपय विषयक्षेत्र समेट्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।

यसैगरी सहभागीहरू मध्ये बालसाहित्यकार प्रा. डा. ध्रुवकुमार घिमिरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका महासचिव विमला ढुङ्गाना निरौला, साहित्यकारहरू केशरी अम्गाई र विश्व देवकोटा लगायतले जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रमका सभाध्यक्ष तथा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले बालसाहित्य अध्ययन अनुसन्धान गर्नलाई सामग्रीको उपलब्धता ठुलो समस्या भएको बताउँदै नेपाल प्रज्ञा-प्रतिष्ठानले पुस्तकालयमा छुट्टै व्यवस्थित बालसाहित्य पुस्तकालय स्थापना गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले आफ्नो पुस्तकालयमा रहेका करिब २ हजार बालपुस्तक सो पुस्तकालयलाई प्रदान गर्न तयार रहेको बताउनुभएको थियो ।

यस कार्यक्रमको सञ्चालन नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले गर्नुभएको थियो । सो कार्यक्रमको प्रारम्भमा २०८० कात्तिक १७ गते ,शुक्रवार जाजरकोट र रुकुममा गएको भूकम्पका कारण कीर्तिशेष भएकाहरूको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।