मधेश प्रदेश अन्तर्गत स्थापित “लालबन्दी नगर वाङ्मय परिषद, लालबन्दी सर्लाही” ले रु ५० हजार राशीको “लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार–२०८०” “बा आमा” कृतिका लागि रामलाल जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ । परिषदका अध्यक्ष अच्युत अधिकारी हस्ताक्षरित विज्ञप्ति अनुसार “स्वतन्त्र विज्ञहरुसहितको पुरस्कार तथा सम्मान छनोट सिफारिस समितिले सिफारिस गरे बमोजिम” यो निर्णय भएको हो । तर छनोट समितिमा कोको थिए सो भने खुलाइएको छैन ।
यस अघि सो पुरस्कारका लागि प्राप्त १४५ कृतिहरुमध्ये १० कृतिहरु रञ्जना निरौलाको “अनुभूतिको अवतरण”, सिम्रन क्षेत्रीको “झुमर”, डा. दामोदर पुडासैनी किशोरको “डोल्पो ओ डोल्पो, रमेश क्षितिजको “पर्वतपर्वतमा बटुवा घाम”, सन्तोष श्रेष्ठको “फरैना”, रामलाल जोशीको “बा आमा”, प्रोल्लास सिन्धुलियको “भग्न भैरव”, युवराज नयाँ घरेको “याकजी”, डा. विदुर चालिसेको “लघुकथालय” तथा अशोक थापाको “सन्तापको धून” छनौटमा परेका थिए ।
स्मरणीय छ रामलाल जोशीले नेपालको नोवेल पुरस्कार मानिने “मदन पुरस्कार” विसं २०७२ मा “ऐना” कथा सङ्ग्रहका लागि पाएका थिए । छनोटमा परेका १० कृतिकारमा अर्का मदन पुरस्कार विजेता युवराज नयाँघरे समेत प्रतिस्पर्धी थिए । उनले विसं २०६५ सालमा “एक हातको ताली” का लागि मदन पुरस्कार पाएका थिए । परिषदको बिज्ञप्ति अनुसार रु १० हजार राशीको “लालबन्दी नगर वाङ्गमय परिषद स्थानीय प्रतिभा पुरस्कार २०८०” लालबन्दी सर्लाहीकै देवराज पौडेललाई प्रदान गरिने जनाइएको छ ।