• २०८३ जेष्ठ १२, मंगलवार

‘सप्रने काव्य–उत्सव’ सम्पन्न, विभिन्न पुस्ताका २२ कवि एउटै मञ्चमा

काठमाडौंँ ।

स्रष्टा प्रतिष्ठान नेपालले आफ्नो तेह्रौँ वार्षिकोत्सवको अवसरमा ‘सप्रने काव्य–उत्सव’ सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न पुस्ताका २२ जना कविहरू एउटै मञ्चमा प्रस्तुत हुँदै कविता वाचन गर्नुभएको थियो । काव्य–उत्सवमा उषा शेरचन, दिनेश अधिकारी, विश्वविमोहन श्रेष्ठ, विप्लव ढकाल, पूर्णविराम (वाचन परिवर्तन देवकोटा), प्रभा भट्टराई, मानसाग्नी, हरिहर तिमल्सिना, गीता कार्की, विमला तुम्खेवा, प्रोलास सिन्धुलीय, मणी लोहनी, मोहराज शर्मा, रञ्जना निरौला, विश्व सिग्देल, प्रज्वल अधिकारी, सुनिता खनाल, रसिकराज, बिसु केसी, विक्रम पवन परियार, अंशु खनाल र एलिसा ढुङ्गानाले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो ।

वि.सं. २०७० वैशाख २६ गते स्थापना भएको स्रष्टा प्रतिष्ठान नेपालले नयाँ तथा स्थापित स्रष्टाहरूलाई एउटै मञ्चमा उभ्याउने परम्परा निरन्तरता दिँदै आएको छ । संस्थाले साहित्यिक गोष्ठी, कविता वाचन, सम्मान कार्यक्रम, पुस्तक विमोचन तथा युवा प्रतिभा प्रोत्साहनजस्ता कार्यक्रममार्फत एक दशकभन्दा बढी समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । कार्यक्रममा कवि मानसाग्नीले ‘सप्रने’ निरन्तर सप्रिरहोस् भन्ने काव्यिक शुभकामना व्यक्त गर्नुभयो भने उषा शेरचनले साहित्यलाई समाजको संवेदनशील ऐना भन्दै यस्ता कार्यक्रमबाट प्राप्त आत्मसन्तुष्टि शब्दमा व्यक्त गर्न कठिन हुने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि अग्रज कवि तुलसी दिवसले कविता आफ्नै मौलिकतासहित प्रस्तुत हुनुपर्नेमा जोड दिँदै स्रष्टाको सम्मान अपरिहार्य भएको धारणा राख्नुभयो । प्रतिष्ठानकी अध्यक्ष स्मृतिले विभिन्न पुस्ताका सिर्जनालाई एउटै मञ्चमा प्रस्तुत गर्नु संस्थाको प्रमुख विशेषता रहेको बताउँदै अग्रजदेखि अनुजसम्मको साथ र प्रेरणाले संस्थालाई अझ सशक्त बनाएको उल्लेख गर्नुभयो । कार्यक्रमको सञ्चालन गणेश भट्टले गर्नुभएको थियो ।