गजल
काठमाडौं
नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा नागार्जुन वाङ्मय प्रतिष्ठान, काठमाडौँका संस्थापक सदस्य स्व. यादव थपलियाको ४७ औँ जन्म जयन्तिका अवसरमा काठमाडौँमा आयोजित सुप्रभात काव्यगोष्ठी, स्मृति सभा तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा प्रतिष्ठानको उपाध्यक्ष समेत रहिसक्नुभएका साहित्यकार एवं पत्रकार स्व. थपलियाका कृतिहरुका बारेमा चर्चा गरिएको थियो। डा. राम प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता र नागार्जुनका अध्यक्ष दिल पौडेल सभाध्यक्ष रहनु भएको उक्त कार्यक्रम यशोदा अधिकारीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा नागार्जुन प्रतिष्ठानका कोषाध्यक्ष शिवहरी पाण्डेले स्वागत मन्तव्य दिनुभएको थियो ।
साहित्यकार तथा सन्चारकर्मी प्रकाश सिलवालले थपलियाको ‘हाँडीगाउँले जात्रा’ कृतिमाथि संक्षिप्त विवेचना गर्नुभएको थियो । त्यस्तै थपलियाको अर्को कृति ‘मृत्युचुम्बन’ को छोटो समालोचना समारोहका सभापति ज्ञवालीले नै गर्नुभएको थियो भने अर्का अतिथि दिनदयाल रेग्मीले थपलियाको अर्को कृति ‘सम्मतिका छालभित्र’ बारेमा चर्चा गर्नुभएको थियो । त्यसैगरी अतिथि रामदेव पाण्डेले थपलियाको अर्को कृति बालकथासङ्ग्रह ‘फर्सीबाको न्याय’ का सम्बन्धमा चर्चा गर्नुभएको थियो। कार्यक्रममा स्व. थपलियाले छोटो समयमा तमाम विषयका अतिरिक्त पर्यावरण संरक्षण लगायतका सन्देशमूलक लेख–रचनाहरु र कृतिहरु छोडेर संसारबाट बिदा हुनुभएको कुरा पनि बताइएको थियो ।
स्रष्टा विशेषमा कवयित्री गंगा खतिवडा (थपलिया) ले ४ वटा कविताहरु वाचन गर्नुभएको थियो । कार्यक्रममा यादव थपलियाको कवितासङ्ग्रहबाट केही थान कविता वाचन गरिएको थियो । कार्यक्रममा साहित्यकारहरु माधव घिमिरे ‘अटल’, ‘नविन पल्लव’, अमर अधिकारी, शशीश्री आचार्य, देवी पराजुली, प्रतिष्ठानका संस्थापक अध्यक्ष वैरागी जेठा, संस्थापक सदस्य चेतनाथ धमला, कृष्णहरि भट्ट लगायतले कविता वाचन गरेका थिए । त्यसैगरी कवि पुर्ण विरामको दुई थान कविता वाचनमा कवि फाक्लुक्पाले उत्कृष्ट कविता वाचन गरे वापत नगद पुरस्कार प्राप्त गरेका थिए ।
