समाचार

बहुक्षेत्रमा लागिपरेका ध्रुवराज थापा ‘पुरुष’ ले ‘सपनाको पहाड’ लघुकथासङ्ग्रहको लोकार्पण गराएर आफ्नो जन्म उत्सव मनाएका छन् । सिर्जना अभियान समाज, भक्तपुरले ‘पुरुष’ को जन्म दिनको अवसरमा ‘पुरुष’ को ‘सपनाको पहाड’ लोकार्पण गरेको हो । भाषा आयोगका सदस्य लघुकथाको पहिलो विद्यावारिधि डा. पुष्करराज भट्टको प्रमुख आतिथ्य र समाजका अध्यक्ष ध्रुव मधिकर्मीको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि डा. पुष्करराज भट्ट, सभाध्यक्ष ध्रुव मधिकर्मी, ‘शब्दाङ्कुर’ मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठ, हाम्रो लघुकथा केन्द्रका संस्थापक लता केसी, लेखक पत्नी शशि गौतम थापा, पूर्वमन्त्री एवं आनन्द आश्रम फारथुमका त्रिलोचन ढकाल, लघुकथाविद् दिपक लोहनी र प्रकोपविद् डा. दिपकराज थापाले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा समालोचकद्वय धीरकुमार श्रेष्ठ र दिपक लोहनीले कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए । श्रेष्ठले ‘सपनाको पहाड’ मा लैंगिक, राजनैतिक, नैतिक, शासकीय जस्ता समाजका विविध क्षेत्रको विचलनविरूद्ध सुन्दर ढंगले लेखिएको लघुकथा समेटिएको बताए। उनले मानवेत्तर पात्र, सान्दर्भिक उखान र चखिलो भाषा शैलीले लघुकथा कृति ओजिलो भएको पनि बताए । समालोचक लोहनीले सिद्धान्त आउनुअघि लेखिएका भए पनि उनका लघुकथा उत्कृष्ट भएको बताए । उनले सर्जक पुरूषले ठेकेदार नभई इञ्जिनियरको रूपमा लघुकथामा आफ्नो भूमिका निर्वाह गरेको पनि बताए । ‘हाम्रो लघुकथा केन्द्र’ का संस्थापक अध्यक्ष लता केसी, साहित्यकार त्रिलोचन ढकाल र डा. दिपकविक्रम थापा क्षेत्री लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।
‘हाम्रो लघुकथा केन्द्र’ का संस्थापक अध्यक्ष लता केसीले कथाकार पुरूषले सराहनीय काम गरेको बताइन् । ‘ढिलोछिटो सबैले दुनियाँ छोड्नुपर्छ । जन्म दिनमा पुस्तक लोकार्पण गरेर कथाकार पुरूषले सराहनीय काम गर्नुभएको छ। लेखन भनेको मरेपछि पनि धेरैले सम्झिरहने बाटो हो । म उहाँको निरन्तर लेखनको कामना गर्दछु ।’ साहित्यकार त्रिलोचन ढकालले कृतिकार बुढ्यौलीमा लागे पनि सूचना र प्रविधिमा युवापुस्तालाईं चुनौती दिन सक्ने हैसियत भएको बताए । उनले लेखक निराशा, कुण्ठा र श्रद्धाहीन याचनाबाट निकै टाढा रहेको पनि बताए । कथाकार वन्दना घिमिरेले सञ्चालन गरेको कार्यक्रममा हाम्रो लघुकथा केन्द्र, वाग्मती प्रदेशका अध्यक्ष इन्दिरा चापागाईले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन् । उनले लघुकथाकार पुरूष बहुमुखी प्रतिभाका धनी भएको बताइन् ।
कार्यक्रममा लोकार्पित कृतिबाट प्रार्थना खनालले ‘रूप’, रमेश सुवेदीले ‘अचाक्ली’, मन्दिरा चापागाईंले ‘श्रद्धाञ्जली’, र शान्ता तिम्सिनाले ‘आदर्श’ शीर्षकका लघुकथा वाचन गरेका थिए । कार्यक्रममा कृतिकारले मायाको चिनो समेत प्रदान गरेका थिए । सिर्जना अभियान समाजले कथाकारलाइ बधाई पत्र प्रदान गरेको थियो । लघुकथा केन्द्रका तर्फबाट जन्मदिवसलाई अझ भव्य बनाइएको थियो । विसं २०३९ सालदेखि लेखन यात्रामा लागेका उनका ‘बिना मौसमको वर्षात’ (भाग-१, २०४७) र ‘बिना मौसमको वर्षात’ (भाग-२, २०४८) गीति एलबम रेकर्ड भएको छ । रंगमञ्च, भिडियो फिल्म र टेलिफिल्म अभिनय, टेलिभिजन पत्रकारिता जस्ता विभिन्न क्षेत्रका अनुभव लिएका उनी पेसाले सेवा निवृत्र् शिक्षक हुन् ।
कार्यक्रममा ‘शारदा’ मासिकका सम्पादक विमल भौकाजी, लघुकथा समाज नेपालका रामकुमार पण्डित, लघुकथा सौन्दर्यका संस्थापक श्रीराम राई, डा. विनोद मञ्जन, शेखर अर्याल, दिव्य गिरी, रत्न प्रजापति, अप्सरा पोखरेल, अन्जु शर्मा, एन्जल निलु, वर्षा थापा क्षेत्री, मदनकुमार पोखरेल, श्याम श्रेष्ठ, कुमुदप्रसाद प्याकुरेल, कात्यायन, विमल ताम्राकार, शेखर अर्याल जस्ता कथाकारहरूको सहभागिता रहको थियो ।