• २०८३ मंसिर १०, बुधबार

टोकियोमा अनेसास जापानको ८५औँ साहित्यिक शृङ्खला तथा साधारण सभा सम्पन्न

टोकियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती विशेष कार्यक्रम, ८५औँ साहित्यिक शृङ्खला तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । टोकियोको शिबुयास्थित चुबाकी गार्डेन हलमा आयोजित कार्यक्रममा साहित्यिक रचना वाचन, संस्थागत समीक्षा तथा सांगीतिक प्रस्तुति गरिएको थियो । अनेसास जापानका अध्यक्ष आनन्द अधिकारीको सभापतित्व र संस्थापक अध्यक्ष डा. कुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा संस्थाले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरिएको थियो ।

प्रमुख अतिथि डा. बस्नेतले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा अनेसास जापानले पु¥याएको योगदानको प्रशंसा गर्दै संस्थाको एकता, निरन्तरता र साहित्यिक अभियानलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । उपाध्यक्ष शरद पोख्रेलले महाकवि देवकोटाको व्यक्तित्व, सिर्जनात्मक क्षमता र नेपाली साहित्यमा पु¥याएको योगदानबारे चर्चा गरे । वार्षिक साधारण सभामा महासचिव मनोज मौसम केसीले संस्थाले गत एक वर्षमा सञ्चालन गरेका साहित्यिक, सांस्कृतिक तथा संस्थागत गतिविधि समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि विमल श्रेष्ठ, टोपबहादुर घर्तीमगर, बाबुराम भण्डारी, राजनबाबु सुवेदी र रविन्द्र श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका पूर्वअध्यक्ष तथा संरक्षकहरू रबिन शर्मा, गिरिजा गैह्रे, दीप पाठक, दिनेशराज ज्ञवाली, प्रकाश पौडेल ‘माइला’ र विष्णुप्रसाद घिमिरेले संस्थाको प्रगति, साहित्यिक गतिविधिको विस्तार र आपसी सहकार्यका विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा गृष्मा पौड्याल, निरज पाण्डे, लक्ष्मी राई, सुजन बैरागी, विनोद आचार्य, राजन घले, सरोज घिमिरे, विश्वबन्धु भण्डारी, यमलाल कँडेल, नारायण पोख्रेल र दीपा घिमिरेले कविता, मुक्तक तथा अन्य सिर्जना वाचन गरेका थिए । गायक युवराज आचार्यले गीत प्रस्तुत गरेका थिए । यसै अवसरमा जापान भ्रमणमा रहेका कवि तथा संस्थाका उपाध्यक्ष शरद पोख्रेलका ससुराबुवा केशवप्रसाद घिमिरे र सासूआमा शान्ता घिमिरेलाई खादा ओढाएर स्वागत तथा सम्मान गरिएको थियो । अमेरिकाबाट जापान भ्रमणमा आएका साहित्यकार तथा अनेसासका आजीवन सदस्यहरू निरा शर्मा, शर्वेश पण्डित, शकुन्तला पहारी र हेमराज पहारीलाई पनि सम्मान गरिएको थियो ।

संस्थाकी उपाध्यक्ष दीपा घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव मनोज मौसम केसीले गरेका थिए । साहित्यिक सिर्जना, संस्थागत समीक्षा र सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रमले जापानमा नेपाली भाषा तथा साहित्यको प्रवद्र्धन र साहित्यिक एकतालाई थप बल पु¥याएको आयोजकले जनाएको छ ।