• २०८१ श्रावाण ११ शुक्रबार

परदेशीका पाँच मुक्तकहरू

पुर्ण थापा (काजी)

पुर्ण थापा (काजी)

आमालाई

घरको चुहिने छानो टिनले पक्कै छाउछु नि आमा ।
तिम्रा हातको दशैँको टीका पक्कै लाउछु नि आमा
मेरो पनि त मन ढुङ्गाको होइन, कैयन रहर छन २
कहरमा बाँचे अर्को दशैँमा पक्कै आउछु नि आमा ।।

बुबालाई

भत्केको भित्तो मान्द्रोले बेर्नोस है बुबा ।
छानो फेर्छु, खेत निखन्छु हेर्नोस है बुबा
बाह्र बर्षमा त खोला नि फर्कन्छ भन्छन २
यो दशैँमा एकजोर लुगा त फेर्नोस है बुबा ।।

जीवन सङगिनीलाई

अर्को साल आउँला प्यारी त्यतिन्जेल केही कमाउँला
हामी पनि बजार घुम्दै,अरू जस्तै हातमा हात समाउँला
तिमी चालीस काटेर के भो, म त सधै भर्खरकी देख्छु २
रित्तिन्न माया भन्छन, बचे खुचेको जवानीमा रमाउँला ।।

छोराछोरीलाई

तिमी बच्चै छौ, बुद्धि कच्चै छ, असल ज्ञान भर्नु ।
पढि गुनी चेतनाको दियो कुना काप्चामा छर्नु
(गौतम बुद्ध जस्तै ज्ञानी बन्नैपर्छ त भन्दिन म ) २
मेरो कसम देशलाई गद्दारी चाँही कदापि नगर्नु  ।।

साथीहरूलाई

बारीमा तोरी र सयपत्री पहेँलै फुले होलान हजुर
खेतमा लह लहाउदो धान पहेँलै झुले होलान हजुर
साथीभाइ अनि गाउँको पिङ, झलझल्ती सम्झेको छु २
यो परदेशीलाई पो भुसुक्कै भुले होलान हजुर ।।


पुर्ण थापा (काजी), भानु न.पा.–४ तनहुँ ।
[email protected]