• २०८१ श्रावाण ११ शुक्रबार

फेरिएको

विधान आचार्य

विधान आचार्य


पहिले दसैँमा
जस्तो थियो, त्यस्तैमा रमाउँथेँ
नपाइने नानाको कुरै गर्दैनथेँ
चिचीका सम्झनाले मन अमिलो पार्दैनथेँ
लट्टाइँमा जोडिएका मेरा
सपनाका चङ्गाहरू सपनामै रहन्थे ।


बरू
एक हूल केटाकेटीको कुरा गर्थेँ
बारीका डिलमा उभिएर
घामजस्तै उजेला कविता वाचन गर्नेहरू
अनि थिए
जूनजस्तै शीतल लय सुनाउने गन्धर्वहरू
एक माना चामल र एक पाथी धान
हाँसी हाँसी पोल्टामा हालिदिने आमाहरू ।


छन् सम्झनामा,
काँक्रा हैन, सुटुक्क मन चोरेर हिँडेका रातहरू
नकराओस् भनेर कुकुरलाई दिन
राखिएका गोजीका हाडहरू
आजभोलि हाड गाडी र सुविधा भएर
महलका कुकुरहरूको भागमा परेको छ
र त दसैँ भए पनि गाउँ रित्तै भएको छ ।


मलाई दसैँका आकाशमा देखिने
सेता भुवादारी बादलको मुहार हेर्न मन छ
मन फुरुङ्ग पार्दै उडिरहेको
रम्घातिरबाट झर्दै गरेको पहलमान दाइजस्तै
झम्के फुलीमा पिङ् खेलिरहेकी मैना दिदीजस्तै
एक अञ्जुलीमै शिरदेखि पाउसम्मको रिस मार्ने
उत्तरायणी र हर्रबटेको पानीजस्तै
कहाँ छ, यो पिच र ढलानमा मेरो दसैँ ?
जिङ्ग्रिङ्ग डन्डी निस्केर
धेरैलाई खोस्याएको घाउ मात्र छ ।


दसैँ आयो कि झझल्को छ,
थानी माईको कालरात्रि नाचको
त्यो हरे दाइको मुरलीको, टीके दाइको पिपिरीको
पिङ्को लिङ्गोले पिङ खेलेर
काँधका खाला गएका हरिकृष्ण र विनोदको
नाटकका पोस्टर टाँस्न, भातको हैन
खुसीको माड बोकेर हिँडेका दीपक दाइको
छमछम नाच्ने गौरी र विन्दुहरूको
डुल्छ हावा रेलिमाई बासनै बोकेर ..
कहाँ छ मेरो दसैँ ?


त्यो उन्मुक्त दसैँ
र यो तासमा कैद दसैँ
अलिकति सितनका टुकुरा
र केही प्यालाहरूमा कैद भएको दसैँ ।


भन्छौँ तिमी, दसैँ फेरिएछ,
फेरिएको त तिमी पो रहेछौ,
फेरिएको त म पो रहेँछु ।

(कविताका ग्रामीण प्रसङ्ग तनहुँ चुँदीरम्घाबेसीका हुन)


विधान आचार्य, सातदोबाटो, ललितपुर ।
[email protected]
९८५१०४६६९२