पीडासँगै मनको सङ्घार टेक्छु सिर्जनामा
जीवन जिउने अर्को आधार देख्छु सिर्जनामा ।
कहिले दुख्छ जिन्दगानी कहिले दुख्छ देश
मन दुखेको देश दुखेको लेख्छु सिर्जनामा ।।
हिमाल छ, पहाड छ अनि मधेस छ
उपत्यका लेक-बेँसीको देश छ ।
मेरो देश त एउटा सुन्दर फूलबारी हो
सबै जात, धर्म, संस्कृति समावेशी छ ।।
सहर बाँकी छ साथै गाम बाँकी छ
पूरा गर्नुपर्ने यहाँ धेरै काम बाँकी छ ।
अधुरो सपना छोडेर गयो बैमानीले
अब मसँग चिठ्ठी र खाम बाँकी छ ।।
अरूको मन दुखाउनेको भलो हुँदैन
सबैको मन नौनीजस्तो कमलो हुँदैन ।
तिमी आफैँले घमन्ड गर्नुको के अर्थ
मेरो भावना तिम्रो जस्तो फितलो हुँदैन ।।
म तिम्रै नयनमा छु जतन गरेर राख
दुखेको वदनमा छु जतन गरेर राख ।
नखोज्नू यताउता कतै नखोज्नू मलाई
म छु तिम्रै मनमा छु जतन गरेर राख ।।
म देश बनाउँछु भनेर गयो फर्केर आएन
सरकार मेरो छोरा सहिद भयो फर्केर आएन ।
न लास आए न सास आए कुरेर बसेकी छु
उसको याद मात्रै बाँकी रह्यो फर्केर आएन ।।
(देवकोटा चर्चित साहित्यकार हुन् ।)
[email protected]